सन्तोषकुमार गुप्ता, भालुवाङ
२५ – साउन / राप्ती गाउँपालिका वडा नम्बर १ को शुक्रबार भएको बार्षिक समिक्षा कार्यक्रममा वडाबासीहरुले व्यापक जन गुनासो गरेका छन् । भौतिक विकास निर्माण देखि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सरसफाई, बाटोघाटो र सञ्चार क्षेत्रमा खासै विकास नगरेको भन्दै व्यापक गुनासो गरेका हुन् ।

आर्थिक बर्ष २०७४÷०७५ मा भएका भौतिक विकास निर्माण तथा अन्य कृयाकलापका बिषयमा जानकारी गराउन तथा सुझाब संकलन गर्ने उद्देश्यले आयोजित बार्षिक समिक्षा कार्यक्रममा उपस्थीति वडाबासीले बजेट आवश्यक ठाउँ भन्दा अन्यत्र बढी खर्च गरिएको र खासै सुधारका काम नगरिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्यापक गुनासो गरेका थिए ।

वडा सदस्य पूर्णजंङ्ग रेश्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले भालुवाङ पुल्चोक बजारको सरसफाई, ठेला व्यवस्थापन र निर्माणधिन बसपार्क सञ्चालन प्रमुख समस्याका रुपमा बताए ।

दिर्घकालिन रुपमा सरसफाई व्यवस्थापन गर्न नसक्दा बजार दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ, यस बिषयमा वडा कार्यालय र गाउँपालिकाको ध्यान जानुपर्यो पोख्रेलले भने ।

त्यस्तै बजार क्षेत्रको ठेला व्यवस्थापन गर्न नसक्दा र निर्माणधिन बसपार्क पनि सञ्चालनमा ल्याउन नसक्दा बजार दिनप्रदिन कुरुप बन्दै गएको छ, यसको लागि पनि स्थानीय सरकारले भूमिका खेल्नु पर्यो अध्यक्ष पोख्रेलले भने ।

भालुवाङ व्यापारिक ट्रान्जित प्वाइन्ट समेत भएकोले यस ठाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न सक्ने हो भने थुरैले रोजगार पाउने सम्भावना छ, तर यस तर्फ स्थानीय सरकारको ध्यान गएको छैन उनले गुनासो पोखे ।

त्यस्तै स्थानीय समाजसेवी होमप्रसाद शर्माले बजार क्षेत्रमा सडक हालत बेहाल छ, यसको निर्माण तथा मर्मत गर्ने दायित्व कसको हो ? यो सडक मर्मतका लागि के हामी सडक नै जाम गर्नु पर्ने हो की ? दुईचार जना मान्छे नै मनुपर्ने हो ? आक्रोश व्यक्त गरे । जननिर्वाचित जनप्रतिनिधिहरु खासै काम गरेको देखिएन यस्तो तरिकाले कसरी हुन्छ त शर्माले भने । वडाको पाँच प्रतिशत विकासका काम पनि राम्रो संग भएको छैन उनले भने ।

त्यस्तै स्थानीय संचारकर्मी समेत रहेका वडाबासी बिदुर एमसीले पनि धर्मनिरपेक्ष राष्ट्रमा कुनै एक बिशेष धर्मलाई मात्र बजेट छुट्याउनु लोकतन्त्र माथिको बेमाइनी भएको बताए । देश बहुल जाति, भाषा, धर्म को हो, तर यहाँ कुनै एक धर्म बिशेषको लागि बजेट छुट्याएर अन्य धर्महरुलाई बाइपास गर्ने काम भएको छ, यसमा मेरो कडा आपत्ति छ एमसीले भने ।

कार्यक्रममा उपस्थित खुमलाल पोख्रेल, टंकप्रसाद शर्मा, यमदग्नी शर्मा, मानबहादुर कुमाल, लेखनाथ भुसाल, भुमि गुरुङ्ग, डिलबहादुर कुमाल, गेमबहादुर खड्का, कमल केसी, पार्वती सुवेदी, गोमाया केसी, निर्मला रोका, ढुण्डीराज खनाल, चन्द्रप्रकाश आचार्य र रुद्रबहादुर झाँक्री लगायतका वडाबासीले गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा आर्थिक बर्ष २०७४÷०७५ मा राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयमा कुल एक करोड ६५ लाख ९१ हजार आठ सय बजेट बिनियोजित भएको थियो । जस अन्र्तगत कृषि तर्फ १० लाख, पर्यटन, उद्योग तथा वाणिज्यतर्फ १० लाख, शिक्षातर्फ २३ लाख ६ सय, खानेपानी तथा सरसफाईतर्फ १४ लाख, संस्कृति पद्धर्धन तर्फ ८ लाख ८५ हजार र लैगिंक तथा समाबेसीकरण तर्फ १ लाख २२ हजार ४ सय बजेट विनियोजन गरेको थियो ।

त्यसैगरि सडक तथा पुल निर्माणतर्फ ५४ लाख ३२ हजार, सिचाई तर्फ ८६ हजार, जलाधार संरक्षण तर्फ २ लाख र थप विकास निर्माण तर्फ ३४ लाख ९५ हजार बजेट विनियोजन गरिएको थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७५/०७६ का लागि राप्ती गाउँपालिका वडा नम्बर १ मा ८५ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ । जस अन्र्तरगत सामाजिक विकास तर्फ ९ लाख, पूर्वाआधार विकास तर्फ ७० लाख ६३ हजार, त्यसैगरि राप्ती गाउँपालिकाबाट वडा नम्वर १ लाई विभिन्न शिर्षकमा २७ लाख ६५ हजार बजेट विनियोजन गरिएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।

त्यसैगरि १ नम्बर वडा कार्यालय भालुवाङले आर्थिक वर्ष २०७४/०७५ मा ९ लाख बढी राजश्व असुली गरेको छ । २०७४ भादै देखि २०७५ असार मसान्तसम्म ११ महिनाको अवधीमा ९ लाख १९ हजार २४ रुपैयाँ राजश्व असुली गरेको वडा सचिव प्रेमकुमार चौधरीले जानकारी दिए । त्यस्तै एक वर्षको अवधिमा २ सय ६० जना नेपाली नागरिकता प्राप्त गरेको ९ वटा मुद्रा न्यायिक समितिबाट मेलमिलाप गरिएको र १२ वटा टोलविकास संस्था गठन गरिएको वडा सचिव चौधरीले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य श्यामलाल पोख्रेलले आर्थिक वर्ष २०७४/०७५ मा राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालय भालुवाङबाट सञ्चालित कार्यक्रमको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित वजेट सहितको प्रतिवेदन प्रस्तुत गरेको थिए ।

त्यस्तै वडा सचिव प्रमेकुमार चौधरीले पंजीकरण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रेस संयोजक तिर्थराज ज्ञवालीले गरेका थिए ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया