काठमाडौं
३ कात्तिक/ भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब साढे ६ बजेको उक्त घटनामा १४२ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो। लिक छेउमै पुत्ला जलाउँदै गरेका स्थानीयको भीडले रेल आइरहेको नदेखेको बताइएको छ।

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्।अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए। हावडा छुटेको रेलको रफ्तार ८५–९० किलोमिटर प्रतिघन्टा थियो। यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ।

मानिसहरू भीड भएको ठाउँ पार गर्न यो रेललाई पाँच सेकेन्ड पनि लागेको थिएन। अर्को रेलको रफ्तार ६०–६५ किलोमिटर प्रतिघन्टा थियो।अमृतसर सरहमा रावणको पुत्ला दहनका क्रममा पटाकाहरू पड्काइएको थियो। त्यसको आवाजका कारण मानिसहरूले रेल आफूतिर आइरहेको पत्तै पाएनन्।

मृतकहरूमा बुढाबुढी, महिला तथा बालबालिका बढी छन्। उनीहरू उत्तरप्रदेश–बिहारमा बस्नेहरू थिए। अमृतसार प्रहरीका आयुक्त एसएस श्रीवास्तवका अनुसार जहाँ रावणको पुत्ला जलाइएको थियो, त्यस ठाउँ सानो भएका कारण धेरै मानिसहरूलाई बस्ने व्यवस्था थिएन। कोही लिक छेउछाउ थिए, कोही लिकमै थिए। रेलको ठक्करबाट लाशहरू सयदेखि डेढ सय मिटरसम्म उछिट्टिएका थिए।

दशहराको बाँण महिला पार्षद विजय मदानका छोरा सौरब मदानले प्रहार गरेका थिए। सो कार्यक्रममा प्रशासनले सुरक्षाको भरपर्दो व्यवस्था नमिलाउँदा भयानक घटना घटेको स्थानीयले बताएका छन्।रेल छुटेको समयबारे स्थानीय अनभिज्ञ थिए। कार्यक्रमका लागि स्थानीय प्रशासनको अनुमति पनि थिएन।

कार्यक्रम आयोजक कांग्रेस पार्षद विजय मदानका छोरा सौरभले अनुमतिमै कार्यक्रम गरेको दाबी गरेका छन्। प्रहरीका अनुसार दशहराको कार्यक्रममा चार हजारभन्दा ज्यादा मानिस थिए। प्रहरीको सुरक्षा व्यवस्था नै थिएन।

कार्यक्रममा पञ्जाब सरकारका मन्त्री नवजोत सिंह सिद्धुकी पत्नी नवजोत कौर प्रमुख अतिथि थिइन्। शुक्रबार रावणको पुत्ला जलाउने कार्यक्रमको समय ५ः५५ तोकिएको थियो। हरेक वर्ष यही समयमा कार्यक्रम सुरू गरिन्थ्यो। तर, प्रमुख अतिथि ढिलो पुगेकी थिइन्।

रेलवे प्रशासनलाई रेल छुट्ने समयबारे पूरा जानकारी थियो। हरेक वर्ष यही ठाउँमा कार्यक्रम आयोजना हुने गरेको छ। तर, पनि रेलवे प्रशासनले त्यहाँ कार्यक्रम नगर्न चेतावनी दिएको थिएन।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलमा तुरुन्तै उद्धार र सहयोग गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले घटनाप्रति दुःख व्यक्त गरेका छन्। (एजेन्सीहरूको सहयोगमा)

प्रतिकृया

प्रतिकृया