दाङ तुलसीपुर निवासी रुपबहादुर खत्री तुलसीपुरकै सहयोगी बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार हुन् । लामो समय देखि सहकारी अभियानमा सक्रिय रहेका खत्री तुलसीपुर उद्योग बाणिज्य संघको महासचिब हुन्, भने तुलसीपुरमै न्यू गौरव हार्डवयेर पसल सञ्चालनमा ल्याएका छन् ।

यस अघि दाङ जिल्ला बचत तथा ऋण सहकारी संघको सचिब भएर काम गरेका खत्री संघको भर्खरै सम्पन्न अधिबेशनबाट अध्यक्षमा चयन भएका छन् । उनी खत्रीसंग समग्र सहकारीका बिषयमा गरिएको कुराकानीको सारसंक्षेप । – सम्पादक


ADVERTISEMENT


भर्खरै दाङ जिल्ला बचत तथा ऋण सहकारी संंघको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ, संस्थालाई थप शसक्त बनाउने योजना के के छन् ?

संघको १२ औं साधारणसभा तथा अधिबेशनबाट मलाई सर्वसम्मत अध्यक्ष बनाउनुभएको छ । मलाई प्रदान गरेको यो जिम्मेवारीलाई ईमान्दारीपूर्ब, कर्तब्यनिष्ठ भएर निर्वाह गर्नेछु । सहकारी अभियानलाई अघि बढाउने छु । दाङमा एकसय ९७ बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । तर संघमा ८५ वटा मात्रै आबद्ध छन् । उनीहरु सबैलाई संघमा आबद्ध बनाउने, सहकारीकर्मीको क्षमता बृद्धि गर्ने, सहकारीलाई सुसासन, चुस्त, दुरुस्त, राख्ने मेरो मूख्य जिम्मेवारी हुनेछ । अहिले धेरै सहकारीसंस्थाहरु बन्द हुने अबस्थामा छन् । ति सहकारीलाई माथि उकास्ने मेरो कर्तब्य हुनेछ ।

अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिरहदा आउने चुनौतीलाई कसरी पार गर्ने योजना बनाउनु भएको छ ?

जसरी क्षमताको कदर गरेर मलाई अध्यक्षको जिम्मेवारी सुम्पिनु भएको छ । मेरा सामु त्यतिकै चुनौतीहरु पनि छन् । त्यस्ता चुनौतीहरुलाई पार गर्न सबै सहकारी सस्था, सहकारीकर्मीलगायतको साथ आबश्यक छ । सबैको साथ पाएभने चुनौतीलाई सहजै पार गर्न सक्छु भन्ने बिश्वास छ ।

अहिले सहकारीसंस्थाहरु आफ्नो उद्देश्य भन्दा पनि बाहिर गएर सञ्चालन गरिरहेको भन्ने गुनासो छ नी ?

कृषि सहकारीमा दर्ता भएकाले बचत तथा ऋणका रुपमा चलाउने,जस्ता कार्य भईरहेका छन् । यो गर्नु बिल्कुल गलत हो । सहकारी उद्देश्य अनुरुप चल्नु पर्छ । ऐन,नियम, बिनियमका आधारमा चल्नु पर्छ । हामी कानुन अनुसार चल्नु पर्छ । कानुनमा केही तलमाथि भए संसोधनका लागि पहल गरौला तर हामीले कानुनलाई पालना गरेरै मात्रै सहकारी चलाउनु पर्छ । म पनि सहकारी संस्थाहरुलाई त्यही अनुराध गर्छु । हामीले सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउने सोँचअनुसार अघि बढ्नु पर्छ । सहकारीलाई सक्षम बनाउने तिर बढि ध्यान दिनुपर्छ ।

बचत तथा अण सहकारी संस्थाको काम गर्ने क्षेत्र के हो ?

बचत गर्ने र ऋण प्रदान गर्ने मूख्य काम हो । त्यस भित्रका सदस्यले कुनै ब्यसाय गर्न चाहेमा लगानी गर्ने काम पनि गर्छ । सहकारी भित्रका सदस्यहरुमा पेट्रोल पम्प खोल्न चहानु भयो भने, यातायातलगायत अन्य ब्यबसाय गर्न चाहेमा सहकारीले लगानी गर्छ ।

दाङमा बचत तथा ऋण सहकारी संस्थाको अबस्था के छ ?

हामीले बचत तथा ऋणको अबस्थालाई तीन किसिमले विष्लेश्न गरेका छौं । केही सहकारीहरु सहकारीको नीति, सिद्धान्त, आचरण, सहकारीको मर्म अनुसार ब्यबस्थित तरिकाले चरिरहेका छन् । त्यस्ता सहकारीले राम्रो आम्दानी गर्नुका साथै सदस्यहरुलाई समृद्ध पनि बनाएका छन् ।

केही सहकारीहरु ब्यबस्थापनमा पछि हडेका छन् । केही सहकारीमा नाताबाद, क्षेत्रीयताबाद जस्तो देखिने गरेको छ । सहकारीको मुल्य, मान्यता, भावना बिपरित सञ्चालन भईरहेका छन् । अस्वस्थ प्रतिष्पर्धा गर्ने होडमा त्यस्ता सहकारीहरु देखिन्छन् ।

बचत ऋण सहकारी संघको अबस्था के छ ?

म यस अघिको कार्यकालमा सचिब भएर काम गरेको थिए । त्यस बखत हामीले ४ प्रतिसत ब्याज दिने निर्णय गरेका छौं । अहिले संघ केही घाटामा छन्, त्यो घाटालाई पूर्ति गर्ने योजना बनाएका छौं । त्यसका लागि स्थानीय सरकारसंग छलफल तथा सहकार्य गरेर अघि बढ्ने योजना छ ।

बचत तथा ऋण सहकारी संस्थालाई सरकारले अनुदान दिन्छ की नाई ?

सहकारीले ब्यबसाय गर्न चाह्यो भने, सहकारीका सदस्यले कुनै ब्यबसाय गर्न चहानुभयो भने अनुदान उपलब्ध गराउछ ।

अनुदानमा बिभेद गर्ने चलन छ भन्ने गुनासो छ नी ?

पछिल्लो समय त्यस्ता केही समस्याहरु देखिएका छन् । तर त्यसो हुनुहुदैन् । ब्यबसाय गर्ने, क्रियाशिल ब्यक्तिलाई मात्रै अनुदान उपलब्ध गराउनु पर्छ । नातावाद, कृपावाद, आसेपासेलाई मात्रै अनुदान दिने प्रचलनलाई अन्त्य नगर्दा सम्म हामीले मुलुकलाई समृद्ध बनाउन सक्दैनौं । सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ यो अभियानमा पनि यसले प्रभाब पार्छ ।

अहिले आबश्यकता भन्दा बढि सहकारी भएकाले दर्ता गर्न बन्द गरेको छ, यसलाई तपाईको संघले कुन रुपमा हेरेको छ ?

कुनै समय घरघरमा सहकारी खोलिए । सहकारी खोल्न पनि सहज थियो । तर घरघरमा खोलिएका सहकारीको उद्देश्य के हो, काम, कर्तब्य के हो केही टुंगो लागेन्, जसले गर्दा अहिले धेरै सहकारीहरु निष्कृय छन् । त्यसैले अहिले जति दर्ता भएका छन्, ति सहकारीलाई ब्यबस्थित बनाउन आबश्यक छ ।

नयाँ सहकारी दर्ता गर्नु आबश्यक देखिदैन् । सहकारीकर्मीको क्षमता बिस्तार गरौं, निष्कृय रहेका सहकारीई सक्रिय बनाऔं, प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेका सहकारीलाई मर्ज गर्ने नीति अबलम्बन गरौं, यसो भएमा मात्रै सहकारी अभियान अगाडि बढ्न सक्छ । सानो सहकारीको अध्यक्ष हुनु भन्दा ठूलो सहकारीको सदस्य हुनुमा गर्ब गर्ने वातावरण शिर्जन गर्नुपर्छ ।

पहिले पदको लोभमा, कसैको ईष्र्याले सहकारी खोलियो , तर त्यस्ता सहकारीहरु अहिले निष्कृय अबस्थामा छन् । सहकारी बुझेर मात्रै सहकारीसंस्था सञ्चालन गर्नुपर्छ । नत्र भने सहकारीको मर्म अनुसार काम गर्न सकिएन भने सहकारीस संस्थाहरु घाटामा जाने अबस्था आउँछ । सहकारी ऐन २०७४ अनुसार अब एउटा वडामा मात्रै कार्यक्षेत्र बनाएर दर्ता गर्न पाउने र फरक घरधुरीका एकसय जना सदस्य भएमा सहकारी खोल्न सकिन्छ । तर अहिले एउटै ब्यक्ति धेरै सहकारीमा पनि आबद्ध हुनुहुन्छ । यसले पनि सहकारीलाई फाईदा गर्दैन्, त्यसैले एउटा सहकारीमा मात्रै आबद्ध होऔं ।

सहकारीको कामकाजलाई प्रबिधिमैत्री बनाईदैछ ?

सहकारीका चार खाता हुन्छन् । ति खाताहरुलाई ब्यबस्थित, पारदर्शी, जवाफदेही बनाउन सहकारीको कामकाजलाई प्रबिधिमैत्री बनाउन थालिएको छ । त्यस्तै हाम्रो हरेक हिसाबकिताब चुष्त, दुरुस्त, छिटो, छरितो पनि हुन्छ । सदस्यहरुलाई पनि हरेक सूचना समयमै प्रदान गर्न सकिन्छ ।

संघको अघिल्लो कार्यकालको सचिब हुनुहुन्छ , अघिल्लो कार्यकालमा कस्ता उपलब्धीहरु भए ?

हामीले तीन बर्ष पहिले बनाएका योजनाहरु पूर्ण रुपमा सम्पन्न गर्न नसकेपछि आंशिक रुपमा पुरा भएका छन् । संघ पहिले घाटामा थियो, त्यो घाटालाई घटाउन सफल भएका छौं । असन्तुलन थियो, अहिले सन्तुलनमा ल्याएका छौं । एउटा ट्रयाक्मा ल्याउन सफल भएका छौं ।

अन्तमा

अन्तमा मलाई अमूल्य मत दिएर अध्यक्ष बनाउनु भयो, सबैमा हार्दिक धन्यवाद । मैले हजुरहरुको मन जित्ने गरि काम गर्ने छु । सहकारी संघलाई अब्बल बनाउने छु, भने बचत तथा ऋण सहकारीलाई सबल बनाउन पहल थाल्ने छु । सहकारी संस्थाहरुलाई पनि मलाई त्यही अनुसार सपोर्ट गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।

र सहकारी अभियानलाइ अगाडि बढाउन सहकारी सस्थाहरु सक्षम हुनुपर्छ । जिल्ला बचत तथा ऋण सहकारीहरुको लागि संघ अभिभावक हो । अभिभावकले जहिले पनि सदस्यहरुलाई सबल भएको देख्न चहान्छ । त्यही अनुसार अगाडि बढाउने छु ।

प्रतिकृया

प्रतिकृया