शिबराज पन्थी,गढवा
१८ मंसीर/
मंगलबार बिहानको ११.२५ बजेको थियो । गढवा–७ स्थित ज्ञानज्योती प्रावी मानपुरको कक्षा ५ मा प्रधानाध्यापक रामबहादुर यादवले ४ जना विद्यार्थीहरुलाई पढाई रहेका थिए । जाडोको मौसम भएकोले धेरैजसो कक्षाका बिद्यार्थीहरु कक्षाकोठा बहिर रहेको विद्यालयको चौरमा बसेर पढिरहेको देखिन्थ्यो । शिक्षक शिक्षीकाहरु ४–५ जनामात्र बिद्यार्थीलाई लिएर विचमा बसेर पढाई रहेका थिए ।

त्यस विद्यालयको कक्षा ५ मा ११ जना विद्यार्थीले नाम लेखाए पनि अधिकांश विद्यार्थीहरु पढ्न नआउने गरेको प्रधानाध्यापक यादवले बताएका छन । पढ्न नआउनुको कारण अधिकांश विद्यार्थीहरुका अभिभावकहरु ईटा भट्टीमा काम गर्न जाने गरेकाले संगै लगेर जाने गरेको शिक्षकहरुको भनाई रहेको छ । बर्षमा एक पटक माघीमा आउँछन् अनि परिक्षा दिन आउँछन्, बाकी समय सबै विद्यार्थीहरु स्कूलमा पढ्न नै आउँदैनन् स्थानीय अभिभावकहरुले बताए ।

यसरी गढवाको ज्ञानज्योति प्राथमिक विद्यालयमा मंगलबार कक्षा १ मा ११ जना मध्ये ३ जना, कक्षा २ मा ८ जना मध्ये ४ जना, कक्षा ३ मा ११ मध्ये ६ जना, कक्षा ४ मा ११ मध्ये १० जना र कक्षा ५ मा ११ जना मध्ये ४ जना गरी बिद्यालयमा ५२ जना बिद्यार्थीहरु भर्ना भएकोमा २७ जनामात्र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । गढवा गाउँपालिकाले मंगलबारदेखि पालीका स्तरमा रहेका सरकारी विद्यालयहरुमा पठन पाठनको गुणस्तर बृद्धि गर्न विद्यालय, विद्यार्थी र शिक्षकहरुको समेत निगरानी गर्न थालेको छ ।


ADVERTISEMENT
 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको अगुवाईमा सम्बन्धित वडाका वडा अध्यक्ष, गाउँपालिकाका शिक्षा शाखा संयोजक र पत्रकार समेतको रोहवरमा मंगलबार वडानं. ७ का विद्यालयहरुको अनुगमन गरिएको हो । गाउँपालिकाबाट गएको अनुगमन टोलीले गढवा–७ चन्दनपुर स्थित सरस्वती आधारभूत विद्यालयमा अनुगाम गर्दा कम्पाउण्ड वालभित्र रहेको विद्यालयका सबै कक्षा कोठाहरुमा नियमित पठनपाठन भएको र एकजना विद्यार्थी पनि कक्षा बाहिर नरहेको पाइएको बताएको छ । यसैगरी गढवा स्थित जनता माध्यमिक विद्यालयको पनि टोलीले मंगलबार अनुगामन निरीक्षण गरेको छ ।

कक्षा १२ सम्म संचालित सो विद्यालयमा १ हजार ६ सय पाँच जना बिद्यार्थीहरु रहेकोले विद्यार्थीको चाँप बमोजिम शिक्षक दरबन्दीको कमी भएको बिद्यालयका प्रधानाध्यापक रामसुरत यादवले गुनासो गर्नुभयो । गढवा गाउँपालिकाका अधिकांश विद्यालयहरुमा विद्युतिय हाजिरीको ब्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । विद्युतिय हाजिरीले शिक्षकहरुलाई समयको पालनामा अनुशासीत मर्यादित बनाउन सफल भएको प्रअ यादवले बताएका छन ।

अनुगमनको क्रममा विद्यालय प्राङ्गणमा छरिएर रहेका केहि विद्यार्थीहरु पाईए पनि घण्टी लाग्दासाथ सबै विद्यार्थीहरु कक्षा कोठामा पुगेको पाइएको छ । अनुगमन टोलीले बिद्युतिय हाजिरीलाई नियमित अपडेट गर्न र बिद्यालयको पठन पाठनको गुणस्तरमा सुधार गर्न बिद्यालयहरुलाई सुझाव दिएको थियो । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शिक्षा शाखाका संयोजक श्याम बिश्वकर्मा, सम्बन्धित वडाका वडा अध्यक्ष राहुलदेव चौधरी र पत्रकार समेतको उपस्थिती रहेको थियो ।

प्रतिकृया

प्रतिकृया