केशर रोका,हंसपुर (अर्घाखाँची)
२० मंसिर / साविकको अर्घाखाँची हंसपुरबासीलाई कुनैवेला सवैभन्दा दुर्गमका नागरीक भनेर चिन्ने गर्दथे । सदरमुकाम सन्धिखर्कदेखि टाढा पर्ने उक्त ठाउँमा गाडीमै घण्टौँ यात्रापछि सरकारी कामकाजका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । सडकको सहज सुविधा थिएन् । विहानै सन्धिखर्क गएपछि एकैदिनमा काम सकाएर घर फर्किन मुश्किल हुने गर्दथ्यो । तर, हिजोआज यस क्षेत्रका सर्वसाधरणको दैनिकी फेरिएको छ । उनीहरु बढीमा पौने एक घण्टाको यात्रापछि सदरमुकाम पुग्छन् । आधा दिनमै काम सकेर घर फर्कन्छन् ।

सालझण्डी–ढोरपाटन सडकले हंसपुरका धेरैजसो गाउँ वस्तीलाई छोएको छ । घर अगाडीबाटै फराकिलो बाटो विस्तार भएपछि स्थानीय दंग छन् । ग्रावेल गरिएको यस सडक कालोपत्रेको तयारीमा छ । ‘गाउँमै विकास भएको देख्दा धेरै आन्नद लाग्छ’,मालारानी गाउँपालिका वडा नम्वर ६ हंसपुर मेहलपानीका स्थानीय नम बहादुर घर्तिमगरले भने,‘६÷७ वर्षमै यति धेरै विकास भएको देख्न पाइयो ।’

गाउँमै सवै विकास भएपछि शहरतिर जानुपर्ने बाध्यता नहुने उनको बुझाई छ । सडकसँगै गाउँमा सहज यातायात, संचार, विद्युत्त, खानेपानीको समेत विकास भएको छ । गाउँघरमै स्थानीय सरकारमा जनप्रतिनिधी चुनिएपछि स्थानीयलाई विकासले थप फड्को मार्ने विश्वास छ । ‘शहरिया जीवनभन्दा कैयाँै वर्ष धेरै गाउँमै बाँच्न सकिन्छ’,घर्तिमगरले भने,‘हावापानीले नै धेरै आयू बढाउछ जस्तो लाग्छ ।’

अर्घाखाँचीसँगै प्यूठानको सौतामारे र गुल्मीको पुर्कोटदह समेत जोडिएका छन् । तीनवटै जिल्लाको संगमस्थल भएकाले सामूहिक प्रयासमा यस क्षेत्रको विकास अझ फराकिलो रुपमा अघि बढ्ने स्थानीयको आशा छ । गाउँकै लोरीलेक यस क्षेत्रकै आकर्षक पर्यटकीय क्षेत्र हो । विगत केहीवर्षदेखि लोरीको डाँडामा तीन जिल्लाबाटै आन्तरिक पर्यटकहरु आनन्द लिन पुग्ने गर्छन् । सडकको सहज सुविधापछि घुम्न आउनेहरुको संख्या समेत बढ्दै गएको वडा अध्यक्ष नारायण प्रसाद अर्यालले बताएका छन् ।


                                                         ADVERTISEMENT
 


आन्तरिक पर्यटकहरु आउने क्रम बढ्दै छ’,उनले भने,‘गाउँपालिकाट यसलाई व्यवस्थित बनाउने सोँचमा छौँ । लोरीलेक जिल्लाको लागि महत्वपूर्ण क्षेत्र हो ।’ यहाँबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगाएत हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । प्राकृतिक दुवोको चौर, डाँडामा मिलेर बसेका धुपीका सल्ला र बीचको ढोरपाटन सडकले लोरीको सौन्दर्यता अझै बढाएको छ । वडा कार्यालयले यहाँ आउने पर्यटकलाई नजिकै रहेको शिवालय मन्दिरसम्म पुग्नका लागि सडक निर्माण गर्दैछ ।

यसैवर्ष सडक निर्माणका लागि चारलाख रुपैँया बजेट विनियोजन गरिएको अर्यालले बताए । सडककै सुविधाले यस क्षेत्रमा व्यापार, व्यवसाय गर्नेहरु बढ्दै छन् । विरामीहरुले समयमै उपचार पाउन सकेका छन् ।मालारानी गाउँपालिकाले यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना बनाएको छ । पिकनिक स्थल, भ्यू टावर निर्माण गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताएका छन् । ‘विस्तृत गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने सोँचमा छौँ ।’, उनले भने । यहाँबाट रतनमारेहुँदै २४ किलोमिटर दुरीमा सन्धिखर्क पुग्न सकिन्छ ।

प्यूठानको स्वर्गद्धारी, गुल्मीको क्वांकेदेउरालीहुँदै रेसुंगा र अर्घाखाँचीको सुपादेउरालीलाई लक्षित गरेर पर्यटकीय मार्गको रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने संभावना छ । सिमानामा पर्ने भएकाले नेकपाका नेता गोकर्ण विष्ट, टोप बहादुर रायमाझी, सूर्य थापा पनि यसै क्षेत्रका हुन् । केन्द्रिय राजनीतिमा प्रभाव पार्नसक्ने नेताहरुको नजिकको सामिप्यता भएकाले पनि यहाँका नागरीकहरुले गाउँको विकास निर्माणमा फड्को मार्न धेरै समय पर्खिन नपर्ने आशा राखेका छन् । सौतामारे, पुर्कोटदह र हंसपुर तीन वटै जिल्ला सदरमुकामबाट धेरै दुर्गमका वस्ती हुन् । विकास निर्माणले गति लिन थालेपछि यिनै गाउँको मुहार हिजोआज बदलिएको छ । सडक कालोपत्रेपछि जीवनशैलीमा अझ परिवर्तन हुने आशा सर्वसाधरणको छ ।

लोरीलेक नजिकैको सौतामारे छेडामा मदाने गाउँपालिका गुल्मीले शहिदपार्क निर्माणको प्रक्रिया अघि बढाएको छ । गतवर्ष तीनलाख र यसवर्ष पनि तीनलाख रुपैयाँ बजेट विनियोजन गरेर काम भइरहेको प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले बताए । ‘दुइवर्षभित्र पार्क बनाइसक्ने योजना छ’,भण्डारीले भने,‘विस्तृत परियोजना प्रतिवेदन बन्दै छ ।’ भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सचेतनाको कार्यक्रमलाई समेत प्रभावकारी रुपमा संचालन गर्ने योजनामा रहेको उनले सुनाए । अपराधिक कृयाकलाप बढ्दै गएकाले सिमानामा रहेका तीनवटै जिल्लाका नागरीकहरुले सौतामारे छेडामा ‘प्रहरी बिट’ स्थापना गर्नसमेत माग गरेका छन् ।

‘दुर्गम गाउँ सधैँ दुर्गम हुँदैनन्’,झिमरुक गाउँपालिका १ का वडा अध्यक्ष धुर्वराज खनालले भने,‘तिनवटै जिल्लाको प्रयासले गर्दा यहाँको विकासले धेरै गति लिइसक्यो ।’ स्थानीयको आय आर्जनमा समेत विकास निर्माणले फड्को मारेको उनले सुनाए । स्थानीय उत्पादनमा जोड दिएर नागरीकको जीवनशैलीमा परिवर्तन ल्याउन जनप्रतिनिधीले पहल थाल्ने उनले विश्वास दिलाए । सहज सडकसँगै प्यूठानको बांगेमरोठ सौतामारे, अर्घाखाँचीको हंसपुर, गुल्मीको पुर्कोटदह, बाझकटेरी, सिर्सेनी लगाएत गाउँ सुगम बन्न थालेका छन् । यी गाउँलाई मदन भण्डारी लोकमार्गले समेत जोड्दै छ ।

प्रतिकृया

प्रतिकृया