वसन्त विवश आचार्य
कथाको अन्तिम ड्राफ्ट तयार पार्दै थिए । सुनसान र अध्याँरो विहानीमा कथा लेख्न मलाई औधि मनपर्छ । कथा लेख्नु भन्दा पनि अझ त्यसलाई अन्तिम आकार दिन निकै कठिन लाग्छ मलाई । मोवाइल भाइव्रेट भइरहेको थियो तर पनि मैले त्यता तिर खासै चासो दिएको थिएन । कथाका लागि निर्माण भएको प्लट भत्कने ठूलो डर थियो । तर भाइव्रेटको गति सास जस्तै नरोकिएपछि कति वेवास्था गर्नु । मित्र सुरेन्द्र जिसीको फोन रहेछ ।

भक्कानिएको आवाजमा वोले “ जीवराज रहेनन् यो संसारमा ” । फोन आफै कट्यो या मैले काँटे थाहै भएन । कथाको प्लटमा डुविरहेको वेला अचानक आएको खवरले मथिंगलमा जोडले झड्का हान्यो । स्रोत पुरै विश्वसनिय भएपनि अझै पुष्टिका लागि फेसवुक खोले । श्रद्धान्जलीका शब्दहरुले फेसवुक पुरै रङ्गिएको थियो । आजभोलि कुनै पनि दुखद खवर थाहा पाउने वित्तिकै आँसु भन्दा पनि पहिला फेसवुकमा स्टाटस झरिसकेको हुन्छ । डिजीटल जमाना न रह्यो । पिडा पनि डिजिटल, आँसु पनि डिजिटल ।

संसारमा कतिपय शाश्वत कुराहरु पनि मान्छेलाई स्विकार्न निकै गाह्रो पर्दछ । मान्छे हरदम लालसामा बाँचेको हुन्छ । सवैभन्दा सुन्दर लालसा भन्नु नै जीवन हो । जीवनका लागि मान्छे सवथोक त्याग्न तयार हुन्छ । जस्तो सुकै दुःख कष्ट पनि भोग्न राजी हुन्छ । तर अख्तियारले छुन नसक्ने भएर पनि यो मृत्युले कहिल्यै घुस खादैन लेखनाथ पौड्यालले भनेजस्तै “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ” । मृत्युको रहस्यका वारेमा ईश्वरले केही पनि भनेन अनि विज्ञानले कहिल्यै पत्ता लगाउन सकेन । विख्यात आख्यानकार लियो टल्सटायले भनेजस्तै मृत्यु जहिल्यै रहस्यमय वनिरह्यो ।

यही रहस्यमय मृत्यु कहाँ कतिवेला टुप्लुक्क आइपुग्छ भन्नै सकिदैन । मृत्युको पूर्व सूचना हुँदो हो त किन मान्छेले भोलिका लागि साँचेर आजको सुन्दरता महसुस गर्न कन्जुस मान्थ्यो होला । हरेक मान्छेको जीवनको टुङ्गो छ तर उसलाई आफ्नै जीवनको टुङ्गोको रहस्यबाट विमुख पारिएको छ । जिवराज खरेल मसंग साइनो मार्फत जोडिएका हुन् । नाताका हिसाबले उनी मेरा मामा हुन् ।

तथापि उनी असख्य मान्छेहरु जस्तै मेरा लागि पनि कुशल “अभिभावक” र “पथप्रदर्शक” दुवै थिए । जीवनका अत्यन्त अत्यासलाग्दा पलहरु उनका प्रेरक शब्दले एकाएक उत्साह र खुसीमा वदलिन्थे । जीवनको अन्तिम गहिराइमा पुगेर आएका जस्ता हुन्थे उनका कुरा, विचार र भावनाहरु । कसरी वदलिए भोगाइहरु ? आदर्शहरु ? किन रोजे आफै मृत्यु ? भिमकाय प्रश्नहरु मनको अन्तरकुन्तरमा अनुत्तरित वनेर सधै वसिरहने भए ।

रातदिन कडा दुख गरेर आँगो जोर्न पुग्ने परिवारमा जन्मिएका खरेलले निकै ठुलो संघर्ष, त्याग र तपस्याले जीवनको गोरेटो पहिल्याएका थिए । सामान्य सरकारी विद्यालयमा अध्ययन गरेका खरेललाई अँग्रेजी विषयको मोहले भारत सम्म पुर्यायो । भारतमा रहेर अँग्रेजी भाषाको गहिरो अध्ययन गरेर उनले जीवन गुडाउने साधनका रुपमा त्यसैलाई लिए ।

घोराही महेन्द्र वहुमुखि क्याम्पसमा अध्ययन गर्दा उनी तुलसीपुरको निजी विद्यालयमा अध्यापन गराउथे । दुखजिलो गरेर पढाइको प्यास मेटेका खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागबाट मास्टर्सको अध्ययन पुरा भएसँगै तुलसीपुरलाई गन्तव्य वनाउन आइपुगेका थिए । सरल, शान्त र अन्तर्मुखि स्वभावका खरेल कहिल्यै पनि कसैका आँखामा विझाएनन् ।

तुलसीपुर क्षेत्र भरिकै अब्बल अँग्रेजी शिक्षकका रुपमा उनले पहिचानको दायरा वलियो वनाएका थिए । एक समय थियो जतिवेला उनीसँग अँग्रेजी विषयको ट्युसन पढ्ने विद्यार्थीको ठुलो चाहना हुन्थ्यो । सवैसँग मिल्न सक्ने मिलनसार स्वभावका खरेलले तुलसीपुर आगमनको छोटो समयमै आर्थिक र सामाजिक रुपमा पनि आफुलाई अब्बल सावित गरेका थिए । सामाजिक कार्यका लागि उनले आफ्नो “व्यवसायिक समय” लाई समेत त्याग गरेका थिए । तुलसीपुरका नाम चलेका विभिन्न शिक्षण संस्थाहरु उनीसँग सहकार्य गर्न लालायित हुन्थे ।

समयको गतिभन्दा फरक तवरले अगाडि वढ्नुपर्छ भन्ने मान्यता राख्ने उनले वढि महत्वाकांक्षा राखेर शिक्षण संस्था पनि सञ्चालन गरे सर सामुहिक कामको गतिलो अभ्यास हुन नसक्दा उनले सोचे अनुरुप खासै नमुना काम पनि गर्न सकेनन् । तथापि अरुले कोरेको बाटोमा हिड्नु भन्दा आफै बाटो कोरेर हिड्नु पर्छ भन्ने मान्यताबाट भने उनी कहिल्यै पछाडि हटेनन् ।

शिक्षण संस्थासँगै सहकारी, जेसिज,राजनीति लगायतका फरक फरक पाटाहरु उनीसँग उत्तिकै वलियो तवरले जोडिएका थिए । आर्थिक मुनाफा भन्दा पनि समाजमा पहिचान वन्ने खालका काममा उनी पछिल्लो समय वढि सक्रिय वनेका थिए । बौद्धिक छवि वनाएका उनलाई हरेक क्षेत्रमा आम मानिसहरु संलग्न गराउन लालयित थिए । जुन क्षेत्रमा रहेपनि मन, वचन र कर्मले काम गर्ने उनको पहिचान वनेको थियो । समयलाई काममा रुपान्तरण गर्न सकियो भने मात्रै जीवनले सही गति लिन सक्छ भन्ने मान्यता राख्ने खरेलले जहिल्यै समयको रफ्तारमा आफुलाई दौडाउने प्रयास गरे ।

जसले उनलाई छोटो समयमै ठुलो उपलब्धि हासिल गराउन निकै ठुलो मद्दत पुग्यो । उनी र मैले अध्यापन गर्ने कलेज एउटै भएकाले पनि हामी हरेक दिन जसो सम्पर्कमा हुन्थ्यौ । उनीसँग केही सुधार्नुपर्ने कुरा पनि थिए तथापि आफ्ना राम्रा र प्रेरक गुणहरुका कारण उनले त्यसलाई ढाकेका थिए । विद्यार्थीका माझमा सधै लोकप्रिय रहे उनी । राम्रा विद्यार्थीहरु सधै उनलाई रोजिरहन्थे । संघ सस्थालाई कसरी नेतृत्व गर्ने ? उनमा अद्भुत क्षमता थियो ।

उनी जुन ठाउँमा पनि प्रवेश गर्ने वित्तिकै त्यसको नेतृत्व तहमा पुग्न सक्थे । नेतृत्व तहमा पुग्ने वित्तिकै संस्थाको गरिमा एकाएक उँचो वनाउथे । तुलसीपुर नगर जेसिजमा पनि प्रवेशको छोटो समयमै अध्यक्ष वन्नुका साथै केन्द्रीय उपाध्यक्षको उम्मेदवार हुन पनि सफल भएका थिए । निर्वाचनमा पराजय भएपनि उनको वौद्धिकताका सम्मान गरेर उनलाई राष्ट्रिय तालिम प्रशिक्षकका रुपमा जिम्मेवारी दिइएको थियो ।

सपना र कर्ममा जीवन भेट्ने उनीसँग केही सपना वाँकी नै थिए । भेटघाटका अन्तिम दिनहरुमा भन्थे “ भान्जा अव एउटा राम्रो इन्ष्टिच्युट खोल्ने हो, त्यसपछि आफ्नै काम गर्ने हो । अनि वल्ल भने जसरी समाजलाई समय दिन सकिन्छ ” उनको वोलि मात्रै रह्यो , सपना मात्रै रह्यो उनी रहेनन् । मान्छेलाई सपनाले वाँच्ने आँट र साहस दिन्छ भन्छन् उनलाई त सपनाले पनि छल्यो, आफ्नो सोचेर मनमा वसालेकाले पनि छले , जसलाई विश्वासको अन्तिम गहिरामा पुगेर विश्वास गरे । जीवनको अत्यासलाग्दा पलहरुमा उनी एक्लो भए, यही एक्लोपनले उनका सपनाहरु मार्दै लग्यो , उनलाई पनि लग्यो ।

सेसिल रोड्सले भनेका छन् कय ष्तितभि मयलभ, कय mगअज तय मय ( यति मात्रै गरियो, कत्रो धेरै बाँकी रह्यो) मान्छेले जीवनमा जतिसुकै उन्नत काम गरेपनि उसलाई संसार छाड्नेवेला सधै पछुतो हुन्छ कि उसले जीवनमा गर्नुपर्ने कुराहरु धेरै बाँकी रहेछन् । जीवराज शर्मासँग पनि समाजका लागि गर्नुपर्ने कुराहरु धेरै थिए । सामाजिक व्यक्तित्वका रुपमा वाँच्ने उनको जीवनको महत्वपुर्ण लालसा थियो । उनले छोटो समयमै धेरै कामहरु गरे । तर पनि गर्न धेरै बाँकी थियो । काम मात्रै बाँकी रह्यो उनी रहेनन् ।

सम्झनाका पत्रपत्रमा वाँचेका छन् उनी । यो संसारको रङ्मन्चमा छोटो भुमिका पाएका खरेलले कर्म, शिल्प, ज्ञान र लगनशिलताले त्यही छोटो भुमिका पनि अविश्मरणीय वनाएका छन् । हरेकको मन मनमा उनीप्रतिको श्रद्धा र प्रेम जागृत गर्न सक्षम भएका छन् । सधै जीवनको वकालत गर्ने जीवराजले किन मृत्युलाई साथ दिए ? उनको मन छाम्ने ठुलो लालसा छ ।

“भान्जा अब तपाइले मेरो वारेमा पनि यस्तै केही लेख्नुपर्छ है , केही काम गरे भने ” डाक्टर किशोर खत्रीका वारेमा मैले लेखेको लिंक म्यासेन्जरमा राख्दै उनले आग्रह गरेका थिए । “ मामा माफ गर्नुहोला तपाइ संसारमा हुँदा सम्म समाजलाई तपाईका वारेमा केही भन्न सकिन तपाइ संसारबाट टाढा रहेपछि मात्रै तपाईका वारेमा लेख्न खोजे ” मलाई थाहा छ यो जवाफ उनीसम्म पुग्दैन तर पनि यति नभनेर मनले कहाँ मान्छ र ? अव सवै कुरा इतिहास र सम्झनामा मात्रै बाँकी छन् ।

मान्छेले जति तेरो मेरो गरेपनि आखिरमा यो देह पनि नअटाएर खरानी वनाएर उडाउनु पर्छ । आफ्नो भन्नु त वाँच्दा सम्म मात्रै त हो । मृत्यु शैयामा छट्पटिएका वेलामा कवि शिरोमणी लेखनाथ पौड्यालले लेखेका थिए
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।

प्रतिकृया

प्रतिकृया