शंकर केसी, सल्यान,
२९- फागुन / जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभाव समाधानका लागि छलफल सुरु भएको छ । त्यसका लागि गाउँपालिकाले छलफल थालेको छ ।

बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधान गर्न योजनाको डिटेल सर्भे भइसकेको छ । सोही सवालमा गाउँपालिकाले मंगलबार छलफल गरेको छ ।कपुरकोट बजारमा कसरी खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ ? र योजना कसरी अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासी तथा सरोकारवालाहरुसंग छलफल गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताए ।

छलफलमा निजी धारा घरमा ल्याएका घरधनीहरुसंग चैत १ गते फेरि अन्तरक्रिया गरेर अगाडि बढ्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले बताए । गाउँपालिकाले कपुरकोट क्षेत्रका ३ स्थानमा रहेका मुहानबाट पानी संकलन गरेर प्रत्येक बजार क्षेत्रका घरमा धारा पुर्याउने लक्ष्य राखेको छ । गाउँपालिकाका ईन्जिनियरहरुले गरेको सर्भे अनुसार ३ वटा मुहानबाट ८० हजार लिटर पानी संकलन गर्न सकिने उल्लेख छ ।

जसमा ६० हजार लिटर क्षमताको एउटा र २० हजार लिटर क्षमताको अर्काे रिजर्भ ट्याङ्की निर्माण गरिने सव इन्जिनियर प्रेम विकले बताए । कपुरकोट खानेपानी योजनाका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कपुरकोट क्षेत्रमा १ सय १९ वटा धारा जडान गर्ने लक्ष्य रहेको जानकारी दिएको छ ।

वर्षाैँदेखि कपुरकोटमा गर्मियाम सुरु हुने वित्तिकै खानेपानीको चरम अभाव हुने गरेको छ ।

 

 

प्रतिकृया

प्रतिकृया