सल्यान,
४ – जेठ / सल्यानमा निर्माणकै क्रममा पक्की पुल भत्किएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ४ स्थीत भाँडेखोलामा निर्माण सम्पन्न नहुँदै आरसीसी पुल भत्किएको हो ।

रातामाटा–भाँडेखोला आरसिसि पुल निर्माण समितिले पुल निर्माण सामाग्रीहरु कमसल प्रयोग गरेको र समितिको लापरबाहिका कारण पुल भत्किएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी (अरुण) ले जानकारी दिएका छन् ।

गाउँपालिकाले लागत अनुमान रु ३ लाख गरेको उक्त पुल निर्माणको काम सम्पन्न गर्नको लागि गाउँपालिकाले तिलक बहादुर चन्दको अध्यक्षतामा गठित निर्माण समितिलाई निर्माणको सम्पुर्ण जिम्मा दिएको थियो । सोही अनुसार चैतको पहिलो साताबाट सुरु भएको उक्त पुल निर्माण सम्पन्न नहुँदै केहि दिन पहिले ढलेको स्थानीय हेमन्त चन्दले जानकारी दिए ।

निर्माण समितिका अध्यक्ष तिलक बहादुर चन्दले भने राम्रै सामान प्रयोग गरेर पुल निर्माण गरिएको बताएका छन् । ‘तर प्राविधिकहरुले कमसल सामाग्री प्रयोग गरेकाले पुल भत्केको भनेका छन्,’ उनले भने ।

गाउँ कार्यपालिकाको बैठकले उक्त समितिलाई २ बर्षका लागि कालो सूचिमा राख्दै पुल निर्माणमा लागेको सम्पूर्ण खर्च सोही समितिले बेहोर्ने र पुल निर्माणका लागि अर्को नयाँ समितिले सम्झौता गरी प्राविधिक लागत अनुमान बमोजिम काम गराउने निर्णय गरेको छ ।

 

प्रतिकृया

प्रतिकृया