घोराही,
२९-असार / घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा भौतीक तर्फ ९८ दशमलब ५ र वित्तिय तर्फ ८९ दशमलब १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

 

आज आफ्नै कार्यकक्षमा सार्वजनिक सुनुवाईको कार्यक्रम गरि उपमहानगरले चालु आर्थिक बर्षको कुल आम्दान १ अर्व ३८ करोड ६१ लाख ६४ हजार रुपैयाँ रहेकोमा खर्च भने १ अर्ब २३ करोड ५९ लाख १६ हजार रुपैयाँ भएको जानकारी दिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सुचना तथा तथ्यांक अधिकृत भिमबहादुर चौधरीले चालु आर्थिक बर्षमा नगर क्षेत्रको १८ किलो मिटर सडकमा कालोपत्रे गरेको, ९२ किलोमिटर सडक ग्राभेल गरेको, ३३ किलो मिटर सडक नयाँ बनेको, ११ किलो मिटर सडक मर्मत गरेको जानकारी दिए ।


त्यसै गरी, ९६ वटा खानेपानीको योजना सञ्चालन गरको, १ सय १७ वटा इनार खनेको, १ सय ३ हेक्टर क्षेत्रफलमा सिचाई सुबिधा पुर्याएको, ६ वटा कृतिम जलाशय निर्माण गरेको समेत जानकारी दिए ।

साथै ५ हजार ४ सय ७८ जनालाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरेको, वडा नम्बर १६ लाई खरको छानो मुक्त गरि टीन लगाइदिएको, विभिन्न १ सय २१ वटा सिप मूलक तालिमहरु सञ्चालन गरेको, ७ सय ७४ वटा ह्युम पाईप बितरण गरेको र ३८ वटा कल्भर्ट निर्माण गरेको पनि सूचना अधिकृत चौधरीले जानकारी दिए ।

उहाँले नगर र वडा स्तरीय योजनाहरुको प्रगतिका बारेमा जानकारी दिएका थिए । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक सुनुवाईका लागि ग्रामिण महिला उत्थान केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिकृया

प्रतिकृया