निमुसंगम घर्ती, घोराही,
५-साउन / चलचित्रको विकास हुदै जाने क्रममा दाङका युवाहरुले पनि यस क्षेत्रबाट चलचित्र नगरीको उत्थान र विकासलाई रुचिको बिषयमा राखेका छन् । फरक फरकधारमा प्रतिस्पर्धात्मकरुपले निर्माण हुदै आएका चलचित्रहरुमा दाङका युवाहरुले पनि जल्दोबल्दो विषय बस्तुमा केन्द्रित रहेर फिल्म बनाउन थालेका छन् ।

Ambikeshwori Auto Mart

यसैक्रममा दाङ घोराही भरतपुर निबासी थम्मन भण्डारी (राज)ले निर्माण गरेको चलचित्र पण्डित बाजेको लौरी नामक चलचित्र देशैभर एकै साथ प्रर्दशनमा आएको छ । दाङका दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा सानो गाउँ भित्र पण्डित्याइको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथालाई उठान गरेको छ । बादी जातीको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्देशक ओलीले बताए ।

चलचित्रमा बिजय बराल र सन्ध्या केसी ‘बादी र बदिनी’को भूमिकामा देखिएका छन् । बादीले जिवनयापन गर्नका लागि मादल बनाउँछन् भने बदिनीले आफ्नो शरीर बेच्ने गरेका छन् । तल्लो जान भनेर समाजले हेप्ने गरेकी बदिनी र समाजको ठूलो जात पण्डितबिचको सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको निर्देशकको भनाई छ । अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ । दाङको निमा चलचित्र मन्दिरमा फिल्म साउन ४ गते देखी प्रर्दशनमा आएको छ ।

के छ चलचित्रमा ?

यो फिल्ममा एउटा गजब अन्र्तसंघर्ष निर्माण गरिएको छ, बादी समुदाय र पण्डितबीच । फिल्मको परिकल्पना जसरी गरिएको छ, त्यो निकै घतलाग्दो छ । वादी समुदाय, जो १४ औ शताब्दीतिर भारतबाट नेपाल भित्रिएका थिए । ठूलाबढाका खातिर नाचगान गरेर, आफ्नो तन सुम्पिएर मनोरञ्जन दिलाउने परम्पराबाट गुज्रिदै आएका तिनै बादी समुदायको मर्मबाट फिल्मको तानाबाना बुनिएको छ ।

फिल्मको कथा पण्डित ग्याङको आपसी द्वेष, दम्भबाट सुरु हुन्छ । पण्डित बाजे (प्रविण खतिवडा) द्वैध चरित्रका छन् । आवरणमा उनी गाउँकै प्रतिष्ठित पण्डित, भित्री रुपमा भने बादी मञ्जरी (सन्ध्या केसी)का नियमित ग्राहक । पण्डित घाम अस्ताउनु अघिसम्म पण्डित्याईं गर्छन, घाम डुबेपछि मञ्जरीको ओछ्यानमा घुस्रिन पुग्छन् । उनको रात्री चरित्र समाजलाई थाहा छैन । बादी मञ्जरी आफ्नै पतिको सामुन्ने पण्डितलाई शरीर सुम्पन्छन्, पैसाका लागि । मञ्जरीका पति बादी कान्छा (विजय बराल) मादल बनाउने, माछा मार्ने काम गर्छन् । अर्थात उसलाई जसरी हुन्छ पैसा कमाउनु छ ।

त्यही पैसाको चक्करमा उनले पत्नीको सौदावाजी गर्छन् । उनी चाहन्छन्, पत्नी सधै जवान रहोस् र परपुरुषसँग ओछ्यान साझेदार गरेर पैसा आर्जन गरिरहोस् । बादी मञ्जरी चाहन्छिन, देहलाई पैसा छाप्ने मेशिन बनाइरहने होइन । बरु त्यसलाई मानविय मूल्य र मान्यता अनुरुप भोग गर्न गर्न पायोस् । एकातिर पति र पत्नीबीच यहि अन्र्तद्वन्द्व छ । अर्कोतिर पण्डित ग्याङ उनै मञ्जरीलाई भजाएर आफुभन्दा नामी पण्डितलाई फसाउने दाउपेचमा छन् ।


उता प्रवासबाट आएका एक झिल्के तन्नेरी (प्रमोद अग्रहरी) बादी उन्मुलनको नारा दिदै मञ्जरीलाई फसाउँने कृत्यमा लागेका छन् । यसरी सुरु हुने त्रिकोणात्मक द्वन्द्वसँगै फिल्म उत्कर्षमा पुग्छ । फिल्मले उठान गरेको विषय घतलाग्दो एवं सुरुचीपूर्ण छ । अधिकांश कलाकर्मी माझिएका छन, अभिनयमा प्रश्न गर्ने ठाउँ छैन । अन्य फिल्ममा देखिने एउटा कमजोरी यसमा छैन, गीत । फिल्ममा जम्माजम्मी दुई गीत छ, जसले कथालाई वेगवान बनाउन सहयोग गरेको छ । उपयुक्त सन्दर्भ जोडेर गीत पेश गरिएको छ । पाश्र्व ध्वनी र सिनेम्याटोग्राफीमा दोष दिने ठाउँ छैन । पण्डित बाजेको लौरी भनेर ‘लौरी’, ‘होम’ आदिलाई द्विअर्थी भाषामा प्रयोग गरी जसरी हँसाउने चेष्टा गरिएको छ, परिस्थिती भने सोही अनुरुप बुनिएको छैन ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

 

प्रतिकृया

प्रतिकृया