बिष्णु चौधरी 

हो म पिडामा छु । समय आफ्नो लाग्दैन । अवस्था गम्भीर लाग्छ । परिस्थिती असमान्य छ । अनि हरएक निमेष मलाइ असहज लाग्छ । डुबेर निसास्सिएको सास जस्तो,छटपटीले शरिरमा डेरा जमाएको छ । दिमागमा हिटर बल्छ, मनमा पानी उम्लिन्छ अनि कतिबेला उम्लिएको पानी आँखाबाट खस्छ,कुनै हेक्का हुदैन । आँखा स्थिर छ,झिम्कन बिर्सिएको छ ।

सायद यसैलाइ टोलाउनु भनिन्छ….. । छेउका कोही आफन्तले घच्घचाउन थालेका छन् । लाग्छ अंगहरूले स्थान परिवर्तन गरेका छन् । मन मुखमा र मुख मनमा सरेको छ । म भित्र भित्रै बोल्छु तर आवाज सुनिदैन । गाह्रो….साह्रै गाह्रो छ । हो म पिडामा छुँ । त्यसैले मन साह्रो छ ।

एकान्त प्यारो लाग्छ । सोँचमा डुब्दाडुब्दै सोँचमै हराइन्छ अनि दिमाग निष्कर्ष बिना रित्तो हात फर्कन्छ । टाउको शून्य बनाउन खोज्छुँ तर सुन्निएर बेलुन बन्छ । फुट्ला जस्तो हुन्छ तर फुट्दैन । दुख्छ…बेस्कन दुख्छ । दुखाइ शरिरमा सल्किन्छ । जल्छ तर खरानी बन्दैन । त्यसैले आँत सुक्छ,पानी बढी पिइन्छ । प्लास्टिकका बोतलले दमकलको काम गर्दैछन् । कोठा अनि बाथरूममा थुनिएर, भक्कानिन मन लाग्छ ।

ब्ल्याङकेटले मुख छोपेर पिल्पिलान मन लाग्छ । सम्झनालाइ सम्झि सम्झि डाको छोड्न मन लाग्छ । आजकाल अधिकांश रातहरू गाला सिञ्चित गरेर बित्छन् । कुनै पनि कुराले मेरो मौनता बिथोल्दैन । कुनै बस्तुले मलाइ भुलाउन सक्दैन । म आफैंमा भुलिएको छुँ । मुछिएको छुँ । गजगज पिठो मुछिए सरी । बेदनाले मलाइ रोटी बनाइ ताप्केमा सेक्दैछ । शरिर भरी डोबै डोब छन् । नदेखिने डोब । जहाँ छोयो त्यही दुख्छ,जहाँ हे¥यो त्यही दुख्छ । गाह्रो…साह्रै गाह्रो छ । हो म पिडामा छुँ त्यसैले मन साह्रो छ ।

कसैको हसाइँ,कसैको रूवाई , मलाइ सेतो लाग्छ । भरीभराउ घर मलाइ खाली लाग्छ । खाली खाली मनमा दुखको भिड छ । त्यही भिडमा म निकासलाइ खोज्छुँ तर दिमागले निकास हराएको प्रेस बिज्ञप्ती निकाल्छ । म टोलाएको देखेर दुनियाँ हाँस्छ । त्यो दुनियाँलाइ के थाहा,पिडाले ऐनेस्थेसियाको काम गरेपछि आँखा बेहोस हुन्छ भनेर । म एक्लै बोलेको देखेर समाज कानेखुसी गर्छ ।

त्यो समाजलाइ के थाहा,दुखले मनमा डिजेलको काम गरे पछि ओठ स्वचालित यन्त्र बन्छ भनेर । मेरो सुन्निएको आँखा देखेर आफन्तहरू ब्रेकिङ न्युज बनाउछन् । ती आफन्तलाइ के थाहा,आँसु आँखाको कुन कुन कुनाबाट रसाउछ भनेर । कसैको बोलीको म माथि असर छैन । कसैको हरकतलाइ म बाल मतलब दिन्न । साथीसंगीलाइ मेरो व्यवहार मन पर्दैन । त्यसैले दुरी बढाउने कोसिस जारी छ । मलाइ असमान्य देख्दै एउटाले भन्छ ।

शनिबार यति ड्रग हाउसमा मानसिक डाक्टर आउछ, गएर जचाँ । बिचरालाइ के थाहा, मनको उपचार मानसिक डाक्टरले गर्न सक्दैन भनेर । उस्को कुरा जोक्स जस्तै लाग्यो । तर हाँस्न सकिन । ओठले हासो हराएको थुप्रै दिन बिति सक्यो । यस्तो बिचराहरूले मलाइ झन् बिचरा बनाउछन् । घटाउनुको साटो थपेर जान्छन् । म खाँदिएको छुँ । डाल्डा घ्यूको डब्बामा अमिलो गुन्द्रुक खादिए जसरी । दुखाइले सेक्छ मलाइ । छोप्छ मलाइ । गाह्रो….साह्रै गाह्रो छ । हो म पिडामा छँु । त्यसैले मन साह्रो छ ।

सही काम पनि गलत बन्छ कहिले काँही । तर सहि गर्नेलाइ गलत कैले हुदैन । पाएको पिडाहरू शक्ति बन्नेछन् । यहीँ शक्ति मलाइ अघि बडाउने इन्धन बन्नेछ । उ आउछेँ । जित आउनेछ । दिन आउनेछ…अवश्य आउनेछ । जीवित छ आश मारेको छैन । हो म पिडामा छुँ तर हारेको छैन ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया