घोराही
२७ असोज/ दाङमा उत्पादित सामाग्रीहरु बिक्रि तथा प्रर्बद्धनका लागि दाङ कोशेली घर स्थापना गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा उत्पादन भएका सामाग्रीलाई प्रचार–प्रसार गर्न तथा बिक्रिका लागि कोशेली घर स्थापना गरेको हो ।

करिब ८ लाखको लगानीका संचालनमा आएको दाङ कोशेली घरले स्थानिय स्तरमा उत्पादन भएका सामाग्रीको पहिचान र लघुउद्यमीको प्रवद्र्धनमा सहयोग पुग्ने संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । स्थानिय स्तरमा अल्लोबाट उत्पादन भएका सामाग्री, काठबाट बनेका आर्कषक डिजाईनका संस्कृति झल्काउने सामाग्रीका साथै जिल्लाको कृषि उत्पादन सामाग्री कोशेली घरमा रहने अध्यक्ष भुसालले बताए ।

कोशेली घरमा अहिले स्थानिय स्तरमा उत्पादन हुने करिब १ सय १० प्रकारका सामानहरु बिक्रिका लागि राखिएको छ । कोशली घरले घरेलु तथा लघु उद्यमीलाई व्यवसायमा सहजता ल्याउने भन्दै उहाँले कोशली घरमा अल्लोका सामाग्री, सिन्की, च्याउको सुकटी, लोप हुन लागेको तिल्की चामल, जिल्लामा उत्पादित साबुन लगायतका सामाग्री राखिएको बताए ।

यसैबिच कोशेली घरको शनिबार उद्घाटन गरिएको छ । संघका अध्यक्ष भुसालको अध्यक्षता एवं प्रतिनिधीसभा सदस्य रेखा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कोशेली घरको उद्घाटन गर्दै प्रमुख अथिति शर्माले जिल्लामा उत्पादित वस्तुहरुको प्रर्वद्धन हुन सकेमात्रै दाङको समृद्धि हुने बताईन ।

प्रतिकृया

प्रतिकृया