महेश बस्नेत,घोराही
२३ असोज/ घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले क्रियाकलापमा आधारित शिक्षण सिकाईबारे सोमबार र मंगलबार अभिभावकहरुलाई प्रशिक्षण दिएको छ । घोकेरभन्दा व्यवहारिक अभ्यास गरेर सिकाई प्रभावकारी हुन्छ भन्ने मान्यताका साथ ज्ञानमालाले यसै बर्षदेखि क्रियाकलापमा आधारित पाठ्यक्रम लागू गरेको छ ।

विद्यार्थीहरुको शारिरीक, मानसिक, सामाजिक, संवेगात्मक तथा शैक्षिक विकासका लागि बिभिन्न क्रियाकलाप गराएर व्यवहारिक शिक्षण सिकाइ गराउँदै आएको बिद्यालयका प्रिन्सिपल केशवराज गिरीले बताएका छन । विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालय र शिक्षक:शिक्षिकाहरुको मात्र नभई अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने हुँदा अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुप्रति जिम्मेवारीबोध र सचेत गराउन प्रशिक्षण दिइएको उनले जानकारी दिएका छन ।

पूर्वप्राथमिक तहदेखि माध्यामिक तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाई क्रियाकलापकै माध्यमबाट विद्यालयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी अभिभावकहरुले क्रियाकलापमा आधारित सिकाई प्रभावकारी भएको बताए ।

व्यवहारिक ज्ञान हाँशिल गर्न क्रियाकलाप केन्द्रीत शिक्षण जरुरी रहेको उनीहरुको प्रतिक्रिया थियो । कार्यक्रममा क्रियाकलापमा आधारित शिक्षण सिकाईका विज्ञ ढुण्डीराज गिरीले प्रशिक्षण दिएका थिए। हालसम्म पूर्व प्राथमिक तहमा मात्रै शुरु भएको क्रियाकलापमा आधारित शिक्षण अब मावि तहसम्मै सञ्चालन गरिने उनले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया