घोराही
२० कार्तिक/ घोराही उपमहानगरपालिका वडा नम्बर १७ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । चौघेरा स्थित मन्दिर गेट अगाडी हरिद्धारमा निर्माण गरिएको करिब ५३ लाख रुपैयाँको भवनको नगर प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन । वडा अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको बिशिष्ट आतिथ्यतामा नयाँ भवनको उद्घाटन गरिएको हो ।

३ वटा शौचालय र ५ कोठा रहेको भवनबाटै सेवा पनि आरम्भ गरिएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले सेवा प्रबाह गर्ने कार्यालय स्रोत साधन सम्पन्न भए मात्रै सेवामा प्रभाबकारीता ल्याउन सकिने बताएका छन । नागरिकहरुलाई अधिकतम सेवा सुबिधा दिने योजनामा उपमहानगर रहेको भन्दै उनले सेवालाई छिटो छरितो र गुनासो रहित बनाउन निर्देशन समेत दिएका छन ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उमानन्द खनाल र नेपाली कांग्रेसका बुझौना चौधरीले आ आफ्नो भनाई राख्दै स्थानिय सरकारले जनताको मनछुने र न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन । वडा सदस्य तुलप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सचिब इश्वरी प्रसाद पाण्डेले गरेका थिए ।

यसैविच वडा नम्बर १७ को कार्यालयले वडाबाटै सम्पत्ती र मालपोतको कर संकलन थालेको छ । भवन उदघाटन कै अबसरमा नगर प्रमुख नरुलाल चौधरीले सेमलाल मल्ललाई कर तिरेको रसिद हस्तान्तरण गरि वडा कार्यालयबाटै कर बुझ्ने कार्यको थालनी गरेका हुन ।

प्रतिकृया

प्रतिकृया