थोरै जागर चलाउने हो भने र राज्यले पनि सहयोग गर्ने हो भने कुनै पनि युवा विदेशीनु पर्दैन् 

प्रियास्मृति ढकाल, बांके / सरकारी जागिर छाडेर किन गोठालो बनेका होलान् । कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले सुरुसुरुमा यसैगरी लख काट्थे ।

८ वर्ष अघि यसैगरी लख काट्नेहरु हिँजोआज भने हामीलाई पनि यस्तै व्यवसायमा संलग्न हुने तवरतरिका सिकाउनुस् न भनेर आउँदा बिष्णु मुसुक्क हास्छन् र सम्भावनाका आयाम देखाउँछन् ।

समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दम्पतीले आठ वर्षदेखि कोहलपुरमा गाईपालन थालेका छन् । यती पढेलेखेको मान्छे किन सरकारी जागिर नखाएको ? विष्णुले भने पहिले भुमि अधिकार मञ्चमा ८ वर्षसम्म जागिर खाए तर सन्तुष्ट हुन सकिन् बरु आफै केही व्यवसाय गरौं भनेर गाईपालनतर्फ लागे ।

Bishnu-Pokhrel

पोख्रेल दम्पतिमात्र हैन अहिले जिल्लामा पढेलेखका थुप्रै तन्नेरीहरु कृषि व्यवसायमा आवद्ध भएका छन् । र उनीहरु सफलमात्र भएका छैनन् अरुलाई पनि यही पेशामा लाग्न सुझाव दिन्छन् । गाईपालनमा राम्रो सम्भावना देखेरै यो पेसा रोजेकी हुँ स्नातक तह प्रथम श्रेणीमा उर्तीण व्यवसायीक गाईपालक किसान शारदा शर्माले भनिन् ।

कोहलपुर नगरपालिका १२ चप्परगौडीकी ३० वर्षीया शर्मा जिल्लाकै उत्कृष्ट किसानमा दर्ज छिन् । सरकारी जागिरको मलाई मोह नै भएन उनले भनिन्–‘वुवाआमाले भारत बस्दा गाईपालन गर्नुभएको थियो त्यसैबाट प्रभावित भए ।’ भारतबाट बसाईसराई गरि आएको शर्माको परिवारले विगत १५ वर्षदेखि चप्परगौडीमा व्यवसायीक गाईपालन गर्दै आएको छ ।

Sharada-sharma-2

मानविय संकाय अन्तगत स्नातक तह प्रथम श्रेणी उर्तिण शारदाले २०५८ सालमा १५ हजारको लगानीबाट गाईपाल्न थालेकी हुन् । अहिले उनको गोठमा उन्नत जातका हलस्टेन र जर्सी प्रजातिका १३ वटा गाई छन् । चार विगाह १२ कठ्ठा जति अरुकै जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती गरे कोहलपुर नगरपालिका वडा नम्बर ४ चप्परगौडीका सुनिल कुमार ढकाल ।

२०७१ साल मङ्सिर पहिलो हप्ता बाट व्यवसायिक तरकारी खेती सुरु गरेका ढकाल शिक्षित युवा हुन् । अङ्ग्रेजी विषयमा स्नाकोत्तर ढकाल पढेलेखेका पनि यो पेशा अंगाल्नु पर्छ भन्ने गतिलो उदाहरण दिएका छन् । उनकी श्रीमतिले पनि स्नाकोत्तर गरेकी छन् । उनले व्यवसायिक रुपमा खेती किसानी शुरु नगर्दा सम्म ४ वर्ष क्याम्पसमा पनि पढाए ।

एनजिओमा काम गरेको अनुभब पनि उनले बटुले । पढाएर र एनजिओमा काम गरेर सन्तुष्टि प्राप्त नभएपछि उनी कृषितर्फ लागे । तरकारीको विरुवालाई माया ग¥यो भने जागिरे फिक्का लाग्दो रहेछ व्यवसायीक किसानमा आफुलाई स्थापित गरिसकेका ढकाल भन्छन्–‘थोरै जागर चलाउन सकियो भने आत्मनिर्भरताका लागि विदेश जान पर्दैन् ।’

ढकालको भनाइमा पोख्रेल पनि सहमत छन् । उनी भन्छन्–‘आँट, साहस र मेहनत गर्ने हो भने रोजगारीका लागि विदेशीनु पर्दैन् ।’ पोख्रेलले २०६८ सालमा बर्दियाको पशुपति नगरबाट एउटा जर्सि गाई २२ हजारमा खरिद गरेर घरमा ल्याउदा शुरुमा गाई राख्ने गोठ नै थिएन अहिले गाईको संख्या ३५ पुगेको छ । बाच्छाबाच्छी गरेर ४० ।

माउ गाई ३० वटा, ५ वटा कोरली, ३ बाच्छी र २ बाच्छा रहेका छन । ४० वटा गाईको स्याहार गर्नक लागि एकजना सहयोगीबाहेक उनीहरु आफै खटेका हुन्छन् । आम्दानीको ५० प्रतिशत खर्च हुने भए पनि ५० प्रतिशत बचत हुने गरेको उनको भनाइ छ ।

उनले व्यवसायिक गाई पालन गरेको आम्दानीले गाई थप गर्ने, छोराछोरीलाई काठमाडौमा पढाउने, गोठ सुधार गर्ने भएका ऋण तिर्ने गर्ने गरेका छन । १ सयवटा गाई पाल्ने लक्ष्य अनुरुप व्यवसायलाई अगाडि बढाउँदै लगेको कृषक पोख्रेलले वताए । शिक्षित युवाको पहिलो प्राथमिकता सरकारी वा कुनै निजी प्रतिष्ठान वा अन्य निकायमा नोकरी गर्ने हुन्छ ।

नोकरी नभए व्यापार/व्यवसाय गर्ने र उपाय नलागे विदेशतिर हान्निने युवाको सङ्ख्या धेरै छ । शिक्षित युवाले पशुपालन र कृषि क्षेत्रलाई त्यती रुचाएको पाईदैन् । तर बाँकेमा भने पढेलेखेका थुप्रै युवाहरु कृषि क्षेत्रमा होम्मिएका छन् । विदेश जाने युवालाई तपाई के भन्नुहुन्छ ?

शर्माले सुझाव दिदै भनिन्–‘स्वदेशमै यति ठूलो सम्भावना हुँदाहुँदै किन विदेश जाने ?’ उनले मासिक २० देखि ३० हजारसम्म बचत गर्न सफल भएकी छन् । ‘तरकारी खेतीबाटै ढकालले आठ कठ्ठा जग्गा किने । सिजनमा दैनिक पाँचदेखि आँठ हजारसम्म कमाई हुन्छ’ ढकालले भने । चारजनालाई रोजगारी दिन सफल भएका उनी भन्छन्–‘जागिर भनेको गुजारा गर्ने मेसो हो ।

अवका युवालाई न्यून लगानीमा कृषिमा प्रगति गर्न सकिने भएकाले यसतर्फ राज्यले पनि बिशेष ध्यान दिन जरुरी छ ।’ जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले पनि युवाहरुलाई कृषिमा विभिन्न खाले सहयोग गर्दै आएको छ । कृषि कार्यालयले आर्थिक वर्ष ७२/७३ मा ६० जना युवा व्यवसायीक अनुदान अन्तरगत ६० हजार रुपैयाँ सहयोग गरेको छ ।

कार्यालय प्रमुख कृष्णबहादुर बस्नेत पछिल्लो समय पढेलेखेका युवाहरु कृषि व्यवसायमा सफल बन्दै गएको वताउछन । ‘युवा लक्षित कार्यक्रम अन्तरगत धेरै युवाहरु सफल व्यवसायी बन्दै गएका छन् ।’ कार्यालयले व्यवसायीक किसानहरुका लागि विउविजन, प्राविधिक सहयोग पु-याउदै आएको वतायो । पशु सेवा कार्यालयले पनि व्यवसायीक पशुपालनका लागि गोठ निर्माणदेखि घाँस तथा अन्य प्राविधिक सहयोग गर्ने गरेको छ ।

कार्यालय प्रमुख वेदबहादुर केसीले पछिल्लो सयम पढेलेखेका युवाहरु पशुपालनतर्फ उन्मुख हुनु सकारात्मक भएको वताए । ‘थोरै जागर चलाउने हो भने र राज्यले पनि सहयोग गर्ने हो भने कुनै पनि युवा विदेशीनु पर्दैन् ।’ कृषिमा होम्मिएका सफल व्यवसायीहरुको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया