कोमल वली
२७ वैशाख/  आज विहान ब्यूँझने वित्तिकै मैले मोबाइलमा ट्विटर र फेसबुक चलाएँ । सामाजिक सन्जालका अधिकांश कमेन्टहरुमा मेरो ध्यान पुग्यो । अहिले सबैभन्दा बढी उठाइएको विषय रहेछ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ।

र, मोदीको आसन्न नेपाल भ्रमणबारे अधिकांशले विरोध गरेका छन् । अधिकांशले भनेका छन्– हिजो नाकाबन्दी गरेर हामीलाई दुःख दिएका मोदीलाई स्वागत गर्नु हुँदैन । केही बौद्धिक व्यक्तिहरुले पनि त्यति बेलाको आक्रोश र रिस अहिले पोखिरहनु भएको छ ।

यस्तै स्टाटस र कमेन्ट देखेपछि मेरो मनमा प्रश्न उठ्यो– के साँच्चिकै मोदी भ्रमणको विरोध गर्नु पर्छ ?
पछिल्ला दिन विश्व राजनीतिका केही घटनाक्रमलाई मैले सुक्ष्मरुपमा फलो गरिरहेकी छु । उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १९५० को दशकपछि भएको सम्बन्धको यु टर्न, अमेरिका–उत्तर कोरियाबीच फेरिएको सम्बन्ध, उत्तर कोरियाली नेता किम जङ–उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुई पटकसम्म भएका भेटघाट, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी संसद्मा गरेको सम्बोधन, जर्मन चान्सलर एन्जेला मर्केलले युरोपेली मुलुकहरुका राष्ट्रप्रमुखसँग गरेका कुराकानी, रुस र ईरान अनि सिरियाका सन्दर्भबारे अन्तर्राष्ट्रिय तथा नेपाली मिडियामा आएका समाचारहरु पढिरहेकी छु ।

यसले मलाई अन्तर्राष्ट्रिय राजनीति कता गइरहेको छ र हामी के गरिरहेका छौँ भन्ने विषयमा सानातिना निष्कर्ष निकाल्न सहयोग गरिरहेको छ । हो, म राजनीतिशास्त्रको विद्यार्थी होइन । कतिपय यस्ता सन्दर्भहरुको विषयमा मलाई अन्य बुद्धिजिवी तथा राजनीतिक विश्लेषकहरुको जति ज्ञान नहुन सक्छ । तर, के बिर्सन हुँदैन भने नेपालमा पनि राजनीतिक तहलाई र अहिलेसम्मको राजनीतिक बुझाईलाई बदल्नुपर्छ भन्ने लागेर नै मैले लामो समय गरिरहेको पत्रकारितालाई विश्राम दिएर मैले राजनीतिक ‘एरिना’मा जम्प मारेकी हुँ ।

योबीचमा मैले हाम्रो समाजलाई राम्रोसँग पढ्न खोजिरहेकी छु, हामी विकासको कुन चरणमा छौँ भन्ने अध्ययन गरिरहेकी छु । र, हामी सामाजिक सन्जालमा के र कस्ता कुरामा बढी इन्गेज भइरहेका छौँ भन्ने पनि ख्याल गरिरहेकी छु ।

र, अहिलेसम्मको मेरो निष्कर्ष हो– हामी अझै पुग्नु पर्ने चरणमा पुगेका छैनौँ, जो सहरमा नै बस्छौँ पनि । समाजको डाइमेन्सका सन्दर्भमा होस् या सामाजिक सन्जालको प्रयोगको विषयमा किन नहोस्, हामीले पाउनु पर्ने सफलता पाएका छैनौँ, हामी हुनु पर्ने ठाउँमा अहिले पनि पुगेका छैनौँ ।

मोदीको छिमेक नीति र आसन्न नेपाल भ्रमण स् रूपक सापकोटाको विचार
अब लागौँ, मोदीको भ्रमणको विषयमा । अहिले मोदीको भ्रमणलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

तर, के बिर्सनु हुँदैन भने उनी हाम्रा छिमेकी राष्ट्रका राष्ट्रप्रमुख हुन् । एउटा सच्चा नेपाली भएर सोच्नु पर्ने हुन्छ– हामीले चाहेर पनि छिमेकी बदल्न सक्दैनौँ । तर, रणनीतिक हिसाबमा कदम चाल्ने हो भने छिमेकीलाई आफू अनुकुल बनाउन चाहिँ सकिन्छ ।

के हुनसक्छ त त्यो रणनीतिक हिसाब रु अहिले यक्ष प्रश्न यही हो । हामीले सोच्नु पर्ने विषय पनि यही हो । हिजो भारतले लगाएको नाकाबन्दीको पीडा अहिले पनि हाम्रो मनमा त्यसरी नै रहेको छ ।

त्यति बेला नेपाली दाजुभाइ, दिदीबहिनीले दिनहुँ जीवनमा पनि निकै ठूला समस्याको साक्षात्कार गर्नु पर्यो । तर, त्यो पीडा सम्झिएर अहिले मोदीको विरोध गर्नुमा कुनै अर्थ छैन ।

किनकि अहिलेको विरोधले त्यतिबेलाको घाउमा कुनै अर्थ राख्दैन । त्यसले हामीलाई न पीडा भुल्न सहयोग गर्छ, न गहिरो गरि बसेको त्यो घाउलाई सन्चो पार्छ ।

हामीले त अहिले मोदीसँग हिजोका सम्झौताहरुबारे कुरा गर्न सक्नुपर्छ । त्यसमा चाहिने रिभिजनहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो भने हाम्रो जीत निश्चित छ । खासमा म चाहन्छु, हामीले प्रत्येक अवसरलाई आफ्नो जीतमा बदल्न सक्नु पर्छ । हिजो एकअर्काका ठूला दुश्मन भनेर चिनिएका उत्तर कोरिया र दक्षिण कोरियाले पनि अहिले बुझिसकेका छन्, शत्रुताले विकास गर्न सक्दैन । विकासका लागि एकआपसी सहयोग चाहिन्छ, एकअर्कालाई सहयोग गर्नु पर्ने हुन्छ । त्यसैले, उत्तर कोरिया र दक्षिण कोरिया अब एकअर्काको भूमीमा पाइला राख्दै छन्, नयाँ परिवेशमा आफूहरुलाई अगाडि बदल्दै छन् । तर, हामी के फेरि पछाडि फर्किन खोज्दै छौँ रु

अहिले जसरी देशभक्तको कुरा डिफाइन गरिएको छ, त्यो गलत छ । देशभक्ती भनेको वा राष्ट्रवाद भनेको अरुको विरोध होइन । विरोध गर्दैमा हामीले आफूलाई राष्ट्रवादी प्रमाणित गर्न पनि सक्दैनौँ । राष्ट्रवाद वा देशभक्तको वकालत गर्नका लागि हामीले देशमा भएका उद्योग, कलकारखाना तथा हाम्रा उत्पादनको सहयोग गर्नु पर्ने हुन्छ ।

हाम्रो उत्पादन के हुन्छ, के हामीले उत्पादन गरिरहेका छौँ, हाम्रोमा कति कलकारखाना छन्, हामी औद्योगिक मोडल कस्तो छ, वैदेशिक सहयोगलाई हामीले कस्ता उत्पादनशील कुरामा लगानी गरिरहेका छौँ रु यस्ता प्रश्नमा हामीले जहिलेदेखि सोच्न थाल्छौँ, तबमात्र हामीले राष्ट्रवाद वा देशभक्तको विषयमा चर्चा गर्न सक्छौँ । आफ्नो सामान केही नहुने तर भारत वा अर्को छिमेकीलाई गाली गर्नु भनेको राष्ट्रवाद होइन ।

अर्को तिर अहिलेको मोदी भ्रमणलाई हामीले हाम्रो फाइदामा परिणत गर्न सक्नुपर्छ । यसमा कसैको द्विविधा छैन, भारत विश्वको उदाउँदो अर्थतन्त्र हो । हाम्रो नजिकैको छिमेकी त्यसरी फड्को मार्दै छ भने हामीले त्यसलाई किन क्यास नगर्ने, त्यसलाई हाम्रो फाइदाका लागि किन प्रयोग नगर्ने रु

हाम्रो फाइदामा प्रयोग गर्न सक्यौँ भने मात्र मोदीको यो भ्रमण अर्थपूर्ण हुनेछ । अन्यथा विरोधका स्वर चर्को बनाएर कुनै फाइदा हुँदैन, कुनै सफलता प्राप्त हुँदैन, कुनै अर्थ हुँदैन । हो, तत्कालका लागि हामीले ‘पपुल्यारिटी’ गेन गरौँला, स्टाटसमा धेरै लाइक आउला र ट्विटहरु धेरै रिट्विट होला । तर, त्यो कुनै समाधान होइन, एउटा देशको विकास लागि ।

त्यसैले अहिले मोदी भ्रमणको विरोध गर्नुको अर्थ छैन । हो, हाम्रा योजना के छन्, मोदी भ्रमणलाई कसरी हामी अनुकुल प्रयोग गर्ने भन्नेमा चाहिँ हामीले सरकारलाई सचेत चाहिँ गराउन सक्छौँ, त्यसका लागि हामीले आवाज चर्काउन सक्छौँ ।

तर, मोदी भ्रमणकै विरोध गर्नुमा कुनै अर्थ छैन ।फेरि पनि हामीले वर्षौदेखि भन्दै आएकै छौँ– बैगुनीलाई गुनले जवाफ दिने हो ।

(राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको ब्लग  फरकधार बाट साभार )

प्रतिकृया

प्रतिकृया