धुर्बराज न्यौपाने (डि.आर.एन),तुलसीपुर
 १९-जेठ / शरद अर्थात ६ वटा ऋतुहरुमध्येको चौथो ऋतु । तर उनको जीवन केलाउँदा लाग्छ यो नाम ठीक १ सय असी डिग्री फन्किएको छ । नाममा के छ र ? शरदले वाँचेको वसन्त जीवन साँच्चीकै रोमान्टिक उपन्यास जस्तो छ । वियोगान्त नाटक जस्तो छ । प्रेमले भरिएको सिनेमा जस्तो छ । 

Ambikeshwori Auto Mart

१७ औ शताब्दीको आसपासमा दार्शनिक एरिस्टोटलले भने ‘आलोचनाबाट वच्ने उपाय हो, केही नगर्नु, केही नभन्नु र केही नबन्नु ’ गौतम थरका शरदले भने जीवनमा केही गरे, केही भने र केही वने । साँझले वास माग्दै आइपुगेको समय तुलसीपुरको खासै नचल्ने एक क्याफेमा कफि निल्दै उनले कुराकानीको मेलो खोले ‘मान्छेले पढ्ने पर्ने केही पनि भोगेको छैन मैले ’ लेखकका हिसाबले मैले जवाफ नफर्काउदा पनि हुने , म सुन्न मात्र गएको थिए ।

मन मानेन बोलिहाले ‘ पढ्नै नपर्ने गरी केही नभोग्नु भएको पनि होइन होला नि ’ शब्दको भण्डार वोकेर वाँचेका, शब्दै खेलाएर र वोलेर जीवन गुडाएका उनी शब्द विहिन भए । मान्छे पैसा नहुँदा पो ऋण काढ्न सक्छ । शब्द नहुँदा के पो गर्न सक्छ र ? जहाँ अभाव त्यहाँ समस्या, जहाँ समस्या त्यहाँ परिश्रम अनि जहाँ परिश्रम त्यहाँ सफलता । यो विज्ञानको नियम जस्तै हो ।

यस्तै अभावै अभाव विच हुर्किएर जीवनको हरेक क्षणमा आफ्नो अमूल्य पसिना बगाई अत्यन्तै मिहेनत गरी सफलता चुमेका व्यक्ति हुन् शरद गौतम । वि.सं २०४० सालमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ रझेनाबाट उनले आकाश चियाएका थिए । बुवा वासुदेव गौतम र आमा दामा गौतमको कोखबाट जन्मिएका उनी घरको जेठो हुन् । सामान्य घरपरिवारमा घरको जेठो छोरोको रुपमा जन्मिएका उनले आफ्नो जीवनका हरेक मोडमा औधी दुःख गरे ।

‘दुख नगरौ भन्दा पनि नमिल्ने रहेछ ’ उनले भने । ‘नचाहदा नचाहदै पनि जीवनमा सफलता चुम्नका लागि दुखलाई साथसाथै लिएर अगाडि बढ्नुपर्ने रहेछ’ उनले सुनाए । सधैभरी हाफ पाईन्ट र च्यातिएको सर्ट लगाएर हिड्ने गरेको स्मरण गर्दै उनले अत्यन्तै भावुक भएर अभाव र गरिवीका कारण दुख नै कुनैवेला आफ्नो प्रिय साथी भएको वताए ।

आफ्ना सबै साथीभाई साईकल चढ्ने र आफुलाई पनि साईकल चढ्ने ठुलो रहर भएको तर आर्थिक अभावका कारण वुवाले आफुलाई साईकल किनिदिन नसकेको भन्दै उनले विगतलाई सम्झिदै पछि एक जना भिनाजुले आफुले चढेर विगारेको साईकल मर्मत गरी चढ्ने र केहि समयपछि फिर्ता गर्ने शर्तमा साईकल दिदा खुसीको सीमा नै नरहेको विगत सम्झन्छन् । निकै भावुक शैलीमा उनले विगतका पाना पल्टाए ।

आफुले जीवनको वाल्यकाल र विद्यार्थी जीवनमा गरेको दुखलाई सम्झिदा आजपनि पिडा महसुस हुने भन्दै विगतलाई सम्झिए । उनले विताएको वाल्यकाल र विद्यार्थी जिवनलाई जिवनको अमूल्य भोगाई र महत्वपूर्ण सिकाईको रुपमा लिएको शरद बताउछन् । घरमा वुवा प्रावि तहको शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो उहाँको त्यो एक महिनाको तलवले घर खर्च चलाउनै हम्मे हम्मे पथ्र्यो । त्यसका बावजुद पनि आफुले मिहेनत गरी पढेकाले आज यहाँ सम्म आईपुगेको उनले बताए ।

उनले गाउँकै हरिपौरी माविमा कक्षा चारसम्म अध्ययन गरी महेन्द्र माविमा कक्षा पाँच अध्ययन गरे । यसैगरी उनले राप्ती विद्या मन्दिरमा कक्षा आठ सम्म अध्ययन गरे र एसएलसी उत्तीर्ण उनले अमर मावि उरहरीबाट गरे । सानै देखि पढाईमा भने अव्वल तर अनुशासनको मामिलामा हल्का पछाडि देखिने शरदले स्कुल तथा क्याम्पसमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।

‘सरहरुले अलि फटाहा केटोको रुपमा लिनुहुन्थ्यो तर म पढाईमा सधै कक्षामा अग्रस्थानमा हुने भएकाले त्यसलाई सामान्य रुपमा हेरिन्थ्यो’ उनले भने । अलि चन्चल स्वभावका शरदले विद्यालयका सवै शिक्षकहरुको नजरमा राम्रो विद्यार्थीको रुपमा पहिचान बनाएका थिए । उनले घरमा भएको चरम अभावका कारण एस.एल.सी उत्तिर्ण गर्ने वित्तिकै शिक्षण पेशामा हात हाल्नु परेको थियो ।

वि.सं २०५७ सालतिर उनले तुलसीपुरकै लिटिल हेभेन कलेजमा अध्यापन गराउन थाले । अध्यापन संगै उनले तुलसीपुरकै राप्ती विद्या मन्दिरमा प्लस टु अध्ययन गरे । त्यसपछि उनी घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा व्याचलर अध्ययन गर्न गए । व्याचलर पढ्दै गर्दा उनले बम्नैमा रहेको ज्ञानज्योति माविमा अध्यापन गराउन सुरु गरे ।

उनले यहि विचमै तुलसीपुरको आदर्श स्कुलमा पनि पढाए । त्यसपछि उनी डिग्री पढ्नका लागि काठमाडौ गए । काठमाडौमा पनि डिग्री पढ्दा उनले दुई वर्ष सम्म कष्टकर रुपमा दिन विताए । डिग्री सकेर तुलसीपुर आईसकेपछि उनी इन्नोभेटिभ ज्ञानज्यातिमा उक वर्ष प्रिन्सीपल पनि भए । उनी सानै हुदादेखि उनका वुवाले सधै शिक्षक वन्नुपर्ने त्यो पनि अंग्रेजी विषयको भन्ने गर्नुहुन्थ्यो । वुवा पनि शिक्षक भएकाले छोरालाई अंग्रेजी शिक्षकको रुपमा देख्न चाहेको ठुलो ईच्छा भएकाले आफुले अंग्रेजी विषयबाट डिग्री पढेर हाल अंग्रेजी विषयकै अध्यापनमा व्यस्त भएको उनी सुनाउछन् ।

उनले समाजशास्त्रबाट वि.ए तथा एक वर्षे वि.एड पनि उत्र्तिण गरेका छन् । उनी हाल तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजमा पूर्ण रुपमा व्यस्त छन् । उक्त कलेजमा उनी शैक्षिक संयोजकको रुपमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनले त्यहाँ अनिवार्य अंग्रेजी,ऐच्छिक अंग्रेजी, समाजशास्त्र, समकालीन समाजका साथै पत्रकारीता विषयको समेत अध्यापन गराउदै आएका छन् । कक्षा आठ, नौमा अध्ययन गर्दै गर्दा बजारमा आफ्नी फुपुसँग घरको बारीमा उब्जेको साग लिएर चोकचोकमा बसी साग वेचेका शरदले आज त्यो विगतलाई सम्झिएर,रातदिन मिहेनत गरेर एउटा उदाहरण बन्न सफल भएका छन् ।

पहिलाको त्यो अभाव,गरिवी, आर्थिक तनावलाई सम्झिदै विभिन्न व्यक्तिहरुको साथ,सहयोग र हौसलाका कारण आज यहाँसम्म आएको उनी बताउछन् । उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पात्र एवं अभिभावकको रुपमा ज्ञानज्योतिका प्राचार्य सुरेन्द्र जिसीलाई लिने गरेको बताउछन् । उहाँकै कारण उनी आज यो मान,सम्मान,ईज्जत र प्रतिष्ठामा आईपुगेको बताउछन् ।

आफुले व्याचलर पढ्दै गर्दा एउटा गरिव केटोलाई बम्नैमा रहेको विद्यालयमा शिक्षकको रुपमा आफुलाई राख्दा निकै गर्व महशुस भएको र आजसम्म पनि उहाँकै साथ,सहयोग र हौसलाका कारण शरद बन्न सफल भएको उनी बताउछन् ।

साथै उनले ज्ञानज्यातिका व्यवस्थापन संकायका एउटा संवाहक मनोज केसीलाई पनि सम्झिए । ज्ञानज्योतिका सहायक प्राचार्य समेत रहेका मनोजका कारण आफुले व्यवस्थापन संकायमा पनि पढाउने मौका पाएको र आफ्नो ज्ञान,क्षमता र सीपलाई सदुपयोग गरेको उनले बताए । उनले एकाउन्टका वादशाहका रुपमा समेत परिचित मनोजलाई आफ्नो जीवनको निकै महत्वपूर्ण पात्रको रुपमा लिए ।

प्राईभेट क्षेत्रलाई माथि उठाउन आफ्नो सदैव उल्लेख्य भूमिका रहेको भन्दै दाङ जिल्लामा पहिलो पटक सुरेन्द्र सर,मनोज सर र आफ्नो विशेष पहलमा र पत्रकारीता क्षेत्रका अव्वल हस्ती वसन्त विवश आचार्यको संरक्षणमा आफुहरुले पत्रकारीता जस्तो महत्वपूर्ण विषय भित्राएर त्यसको अध्यापन सुरु गराएको उनी बताउछन् ।
हाल जिल्लाका विभिन्न मिडियाहरुमा आफुले उत्पादन गरेको जनशक्तिले जमेर पत्रकारीता गरिरहेकोमा उनी गर्व गर्छन् ।

कलेजको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनमा उनको निकै भूमिका रहेको छ । उनले विहान देखि वेलुका सम्मनै कलेजमै समय दिईराखेका हुन्छन् भने कलेजलाई कसरी अझ सक्षम र प्रतिस्पर्धि बनाउने तिर आफ्नो ध्यान केन्द्रित हुने उनी बताउछन् । आज सम्म आफुलाई सबैले विश्वास गरेको र आफुले पनि सबैको मन जित्न सफल भएको उनी भन्छन् ।

शरद ऋतुमा पर्ने असोज कार्तिकको महिनालाई जसरी वर्षभरीकै राम्रा अनि सुन्दर दिनहरुको रुपमा लिईन्छ ठिक त्यसै गरी उनलाई पनि गाउघर,समाज,साथिभाई,विद्यार्थी,घरपरिवार सबैले एउटा मिलनसार,ईमान्दार र परीश्रमी व्यक्तिको रुपमा लिने गर्छन । व्याचलर पढ्दा पढ्दै प्रेममा परेका उनले २३ वर्षकै उमेरमा विहे गरे ।

घोराहिको सव्जी मन्डिमा पहिलोपटक भेट भएको विस्तारै उनी संग प्रेम भएपछि घरपरिवारवाट मागेर विवाह गरेको उनी बताउछन् । उनले व्याचलर पढ्दापढ्दै विहे गरेपनि त्यसवेला सबैले अव राम्रो संग पढ्न नसक्ने भनी आलोचना गर्ने गरेको र आफुले विहेले पढाईलाई केहि असर नगर्ने भन्दै पढेर समाजलाई पुष्टि गरेको बताउछन् ।

श्रीमती सुशिला आचार्यको साथ,आँट र हौसलाका कारण पनि आफुले राम्रोसंग पढेर केहि गरी देखाउन सकेको उनी बताउछन् । आफ्नो बुवाले सोचे जस्तै आफु अंग्रेजी विषयमा अव्वल सावित भएर देखाएको भन्दै वुवाका साथै सम्पूर्ण घरपरिवारको ओठमा खुसी ल्याएको उनले बताए । उनले गरेको पहिलाको दुखलाई सम्झिदा आजभोलिका दिनहरु निकै राम्रा र सुन्दर भएको उनी बताउछन् ।

हाल तुलसीपुर ६ स्थित बरुवागाऊमा आफ्नो वुवा, आमा, श्रीमती, एक छोरा र एक छोरी संग बस्दै आएका शरद साँच्चिकै शिक्षा क्षेत्रका एउटा अमूल्य पात्र हुन् । उनले सदैव शिक्षालाई गुणस्तरीय बनाउनमा आफुलाई केन्द्रित गरेको बताउछन् । सबैका प्रिय एवं मिलनसार पात्रको रुपमा देखिने शरद गौतम एक परीश्रमी व्यक्ति एवं थुपै विद्यार्थीहरुको ढुकढुकी समेत हुन् ।

झुपडीबाट पनि संसार जित्न सकिन्छ भन्ने सपना देख्ने र त्यो पुरा गर्ने बिल गेट्सले भनेका छन् ‘कडा परिश्रम गर्नु ठूलो कुरा होइन केका लागि गर्दै हुनुहुन्छ त्यो ठूलो कुरा हो ’ परिश्रमले जीवन सुन्दर वन्छ भन्ने आदर्श वोकेका शरदको जीवन साँच्चीकै सबैका लागि प्रेरक छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया