जनताको चासो नै केन्द्रमा : मेयर चौधरी

घोराही,
२९-असार / घोराही उपमहानगरपालिकाले नगरबासीको चासो र सरोकारका विषयलाई केन्द्रमा राखेर अघि बढेको जनाएको छ । उपमहागरपालिकाको आयोजना र ग्रामिण महिला उत्थान केन्द्र दाङको प्राविधिक सहयोगमा शुक्रबार भएको सार्वजनिक सुनुवाईमा नगरबासीहरुको प्रश्नमा नगर प्रमुख नरुलाल चौधरीले जनताको हितलाई केन्द्रमा राखेर अघि बढेको स्पष्ट पारेका हुन ।

 

आवस्यकतामा र प्राथमिकताका आधारमा आगामी आर्थीक बर्षका लागि निति कार्यक्रम र बजेट पारित गरिएको समेत नगर प्रमुख चौधरीले जानकारी दिए । जनताको सहज सेवा प्राप्ती, आयस्तर बृद्धी, सहज आवागमन, गुणस्तरीय शिक्षण सिकाई, स्वास्थ्यमा सहज पहुँच र स्थानिय सरकारले प्रबाह गर्ने सेवा सुबिधामा सहजता ल्याउन अधिकतम पहल गरिरहेको बताए ।

दिर्घकालिन सोचका साथ नगरको चौतर्फि विकासका लागि रणनितिक गुरुयोजना बनाएर अघि बढ्ने भन्दै नगर प्रमुख चौधरीले त्यसैका लागि नगरको बस्तुस्थिती तयार पार्ने काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।

नगरको चौतर्फि विकासका लागि नगरबासीहरुको समेत अपनत्व हुने गरी काम अघि बढ्ने भन्दै उनले हरेक काममा सहयोगी बन्न र खबरदारी गर्न समेत आग्रह गरे । कार्यक्रममा बोल्दै नगरबासीहरुले सेवा प्रबाहमा अझै सहज सुधार हुन नसकेको गुनासो गरेका थिए ।

कार्यालयबाट प्रबाह गरिने सेवालाई छिटो छरितो बनाउदै प्राथमिकतामा आधारीत योजनाहरुलाई छनोट गर्न समेत सुझाब दिएका छन् । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, श्रीमन न्यौपाने, इश्वरी पाण्डेय लगाएतकाले नगरको चौतर्फी विकासमा सहकार्य गर्न तयार रहेको भन्दै गुरु योजना बनाएर अघि बढ्न सुझाब दिए ।

सार्वजनिक सुनुवाईका लागि ग्रामिण महिला उत्थान केन्द्रले सेवा ग्राहीहरु सँगको प्रतिक्रिया संकलन गरेर प्रस्तुत गरेको थियो । केन्द्रका नविन चौधरीले प्रस्तुत गरेको विबरणमा सेवाग्राहीले सेवा प्रबाहका विषयमा छिटो छरीतो ल्याउन सुझाब दिएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि पाण्डेले नगरबासीहरुको सुझाब र गुनासालाई आगामी दिनमा सुधार्ने र सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिकृया

प्रतिकृया