शिबराज पन्थी,गढवा
१९ मंसिर / 
१५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउन गढवा स्वास्थ्य चौकीमा जम्मा भएका अधिकांश स्वयंसेविकाहरुले सरकारी तवरबाट महिला स्वास्थ्य स्वयंसेविकालाई वास्ता नगरिएको बताएका छन् । जिवनभर निशुल्क रुपमा काम गरेका स्वयंसेविकाहरुले ६० बर्ष उमेर पुगेपछि आर्थिक प्रोत्साहन गरेर सम्मानका साथ विदाई गरिनुपर्ने माग पनि राखेका छन् । गढवा स्वास्थ्य चौकीको आयोजनामा बुधवार भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले प्रोत्साहन स्वरुप पारिश्रमीक दिनुपर्ने कुरामा जोड दिएका हुन ।

जेष्ठ स्वयंसेविका दमयन्ता आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले स्थानीय सरकारबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन हुने प्रतिवद्धता जनाउदै ढुक्क भएर सामाजिक कार्यमा खट्न आव्हान गरेका थिए। । कार्यक्रममा यसबर्ष उत्कृष्ट योगदान गरेको भन्दै तिलादेवी रजौरे,छायाँ सिंह ठकुरी र नारायणी डाँगी गरि ३ जनालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, रेडक्रसका देवीप्रसाद प्याकुरेल, होटल ब्यवसायि संघ गढवाका अध्यक्ष दयाराम थापा, अपांग सञ्जालका अध्यक्ष भरत पन्त र नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष रेखा थापा लगायतले बोलेका थिए । हस्पिटलमा नवनियुक्त भएर आएका एमविविएस डाक्टर भरत पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महिला स्वास्थ्य स्वयंसेविक सकुन्तला डिसीले गरेका थिए।

यसैगरी गंगापरस्पुर, गोबरडिहा र कोइलाबासका स्वास्थ्य चौकीहरुमा पनि राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको गढवा गाउँपालीकाको स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया