काठमाडौं
६-चैत / कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।


                                                                                 ADVERTISEMENT

 


यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ । |यस महामारीले हाम्रासामु विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । पछिल्लो सहयोगको ९० प्रतिशत रकम कोभिड-१९का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुने विश्व बैंकले जनाएको छ ।

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पु¥याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने पनि विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि यो अतिरिक्त आर्थिक सहयोग दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो ।

बिहीबार नै विश्व बैंकको बोर्डले आईडामार्फत बंगलादेशका लागि ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागि ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्डको ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ ।  -कान्तिपुर

प्रतिकृया

प्रतिकृया