सडक जस्तोसुकै भए पनि सवारी गुडिरहेकै छन् । कुनै निश्चित सडक खण्डको स्थितिबारे सबैलाई थाहा नभए पनि कम्तीमा स्थानीयस्तरमा जिम्मेवार निकाय र यातायात व्यवसायीलाई थाहा छ । अधिकांश ठूला दुर्घटना सार्वजनिक यातायातसम्बद्ध छन् । यसले मुलुकमा यातायात कति जोखिमपूर्ण छ भन्ने छर्लंग हुन्छ । लामो यात्राको क्रममा सबैले कहीँ न कहीँ सवारीसाधन दुर्घटनामा परेको देख्छन् नै । सवारी दुर्घटना किन हुन्छ, सबैलाई थाहा छ । कसरी न्यून गर्न सकिन्छ, त्यो पनि सबैलाई थाहा छ । मुलुकमा सरकार छ, सवारी नियन्त्रण र त्योसँग सरोकार राख्ने सरकारी निकायहरु छन् । अनि, संगठित यातायात व्यवसायी पनि छन् । यद्यपि, दुर्घटना असामान्य रूपमा सामान्य बन्दै गइरहेको छ ।

यो राज्य व्यवस्थाको कमजोरी हो या यातायात व्यवसायीको लापरबाही वा हामी नेपालीको नियति । सवारी गुड्ने सडकको स्तर र स्थिति कस्तो छ, सबैलाई थाहै छ । त्यही बाटो ओहोरदोहोर गरिरहने चालकलाई थाहा नहुने त कुरै भएन । सडकको स्थिति सामान्य छैन भने यातायात व्यवसायीले किन सवारी चलाउन रोकेर राज्यलाई दबाब दिन्नन् । सडकमा आफ्नो एकाधिपत्य जमाउन मात्र दबाब दिने रु सडकको अवस्था असहज रहिरह्यो भने अरू आउँदैनन् र आफूले मात्रै हालीमुहाली गर्न पाउने मनोविज्ञानबाट पनि ग्रसित होलान् । सडक विभागको उपस्थिति सडक सञ्जाल पुगेका सबै जिल्लाहरूमा छन् । सवारी चलाउन योग्य चालक चाहिन्छ । सवारीचालक अनुमति–पत्र (लाइसेन्स) दिने जिम्मेवार निकाय मुलुकमा क्रियाशील छ । विडम्बना के छ भने लाइसेन्स लिन एक ठाउँमा असफल हुनेहरू अरू सहरमा सजिलै सफल हुन्छन् । अरू मुलुकमा त व्यावसायिक र सामान्य सवारी चालकमा पनि फरक हुन्छ । अर्थात्, व्यावसायिक बन्न धेरै तालिम र अनुभव चाहिन्छ । नेपालमा त ‘स्टेरिङ’ सिधा गर्न जानेपछि भर्खरको अल्लारेले पनि दर्जनौं यात्रु बोकेर सवारी घुइक्याउँछन् । कस्ता सवारीसाधन चलाउन कुन स्तरका दक्ष चालक चाहिन्छ भन्ने मापदण्ड सरकार किन बनाउँदैन रु हुन त, हल्का र गह्रौं सवारीको छुट्टै लाइसेन्स हुन्छ । त्यसको लागि चाहिने मापदण्ड पर्याप्त छ रु यो त लाइसेन्सवालाको कुरा भोे ।

धेरैजसो दुर्गम र त्यसमा पनि पक्की बाटो नबनिसकेका ठाउँमा कतिपयले त विना लाइसेन्स भाडाका सवारी चलाइरहेका हुन्छन् । यातायात व्यवसायी स्वयंले पनि आफ्नो पचासौँ लाख रुपैयाँ लगानी भएको सवारीसाधनको सुरक्षाको लागि भरपर्दो चालकको व्यवस्था गर्नुपर्ने हो । कुनै एउटा सवारीसाधनले कति यात्रु वा सामान बोक्न सक्छ भन्ने क्षमता हुन्छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोक्न हुन्न भन्ने सामान्य नियम हुनुपर्ने हो । सायद नेपालमा त्यस्तो नियमै छैन । कुनैकुनै ठाउँमा प्रहरी चेकपोस्ट छ भने त्यहाँ पुग्नुभन्दा केही वर छतमा रहेका यात्रुलाई ओरालेर हिँडाउँछन् र चेकपोस्टको केही परबाट फेरि चढाउँछन् । यो चेकपोस्टमा बसेका प्रहरीलगायत सबैलाई थाहा छ । क्षमताभन्दा डेढ–दुईतिहाइले बढी यात्रु र सामान बोकेर सवारी गुडिरहेका हुन्छन् ।

प्रतिकृया

प्रतिकृया