एमसीसी संसदबाट पारित भए पनि यसको पक्ष र विपक्षमा आ–आफ्नै तर्कहरु आईरहेका छन् । दलहरुमा एमसीसी पारितपछिसम्म पनि विवाद कायम राखेको छ । विषेशगरी नेकपा माओबादी केन्द्रमा व्याख्यात्मक टिप्पणीसहित केन्द्रीय नेतृत्व एमसीसी पारितको पक्षमा उभिएपछि विरोधी धारका नेताहरु भने अब सेफल्याण्डिङको खोजीमा छन् । आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संशोधन नगरी पारित नगर्ने निर्णय गरेको थियो । महाधिवेशनमा आईपुग्दा प्रचण्डले एमसीसी पारितको म्याद थप गर्न माग गर्दै अमेरिकालाई पत्राचार गरेको चर्चाले स्थान पाएपछि केन्द्रीय कमिटी बैठक एमसीसी संशोधन नगरी पारित नगर्ने निर्णयमा पुग्न बाध्य भयो ।

संसदीय दलको बैठकले त बरु सरकार छोड्ने तर एमसीसी पारित गर्न नदिने निर्णय गर्यो । मुख्यगरी माओवादी केन्द्रभित्र नेता नारायाणकाजी श्रेष्ठ र उहाँ निकट नेताहरु एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा पहिलेदेखि नै दरो अडानमा उभिरहेका थिए । प्रचण्डको चाहना एमसीसी पारित नगर्ने भन्दा पनि केही समय रोक्ने, चुनाव सम्पन्न गरेर अरु कसैको सरकार बने उनीहरुलाई पास गर्न दिने र माओवादीका तर्फबाट विपक्षमा मत दिने थियो । तर परिस्थीतले माओवादीसमेत सहभागी भएको गठबन्धन सरकार एमसीसीमा निर्णयमा पुग्नुपर्ने अवस्थामा आयो । अध्यक्ष प्रचण्डले नै यथास्थितिमा एमसीसी पारित नगर्ने आश्वासन दिँदै गर्दा पार्टीभित्रको एउटा खेमा एमसीसीविरुद्ध कट्टर बन्दै गएको थियो । एमसीसी पारित हुने अवस्था आउँदा भने विरोधी पंक्तिले अपमानित महसुस गरेको हो । जसका कारण यो पंक्तिलाई पार्टीभित्र सेफ ल्याण्डिङको समस्या देखिएको छ ।

एमसीसी पारितपछिको पहिलो केन्द्रीय बैठकअघि नै तीव्ररुपमा बढेको असन्तुष्टिले बैठकसमेत प्रभावित बनेको छ भने पार्टीको भविस्य के भन्ने अन्योलता कार्यकर्ता पंक्तिमा देखिएको छ ।तर एमसीसी पारित हुँदा यसअघि प्रचार गरिएजस्तो राष्ट्रघात नै हुने वा अमेरिकी प्रभाव बढ्ने कुरालाई केबल हत्कण्डामात्र बुझेको केन्द्रीय नेतृत्वले फरक मत राख्नेहरुको प्रवाह नगर्दा नेताहरुमा आत्मसम्मानको मुद्दा अलि बढी नै देखिएको छ । तर यतिबेला एमसीसी विरोधी नेताहरुमा लागेको आत्मसम्मानको घाउ प्रचण्डको आत्मआलोचनाको मल्हमले निको पार्न सक्ने कतिपयको विश्वास छ । टुक्रिदै गएको माओबादी पार्टीलाई एमसीसी पास गर्दा थप संकट आईलागेको छ । पार्टी भित्रै नेताहरुमा त्यसको असर देखिएको छ भने भोली चुनावमा यसले थप हानी गर्ने समेत देखिन्छ । कार्यकर्तालाई सडकमा ओरालेर नेताहरुले सत्ताका लागि एमसीसी पारित गर्दा कार्यकर्ताहरुको मन दुखेको छ ।

प्रतिकृया

प्रतिकृया