आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको तयारी व्यापकरुपले भैरहेको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि सबै जिम्मेवार हुन पनि आवश्यक छ । निर्वाचन प्रजातन्त्रको आधारभूत तत्व हो । चुनाव राजनीतिक सत्ता परिवर्तनको शान्तिपूर्ण प्रक्रिया पनि हो । आवधिक निर्वाचन प्रणाली प्रजातान्त्रिक शासन प्रणालीको सुन्दर पक्ष हो । निर्वाचन स्वतन्त्र, निष्पक्ष भएन भने सरकारले वैधता नपाउने मात्र होइन, जनताको निर्वाचनप्रति पनि विश्वास रहँदैन । निर्वाचन सत्ता प्राप्तिको खेल भएकाले स्वतन्त्र, निष्पक्ष र भयरहित हुन नसकेको गुनासो प्रायः सबैजसो सुन्ने गरिन्छ । सरकार आफ्नो दलप्रति लालची भयो भने कर्मचारीतन्त्र र प्रहरी प्रशासन परिचालन गरेर मत परिणाम बदल्ने कुचेष्ठामा लाग्न सक्छ ।

सरकार तटस्थ हुन नसक्नु उम्मेदवार र मतदाताको सुरक्षा गर्न नसक्नु तथा पर्याप्त बजेट उपलव्ध गराउन नसक्नु सरकारसँग सम्वन्धित समस्या हुन् । निर्वाचनमा जनताको चासो, सक्रियता, सहभागिता र मतदान भएन भने निर्वाचनको कुनै अर्थ रहँदैन । जनता जागरुक नभएसम्म निर्वाचन उपलव्धिमूलक हुन सक्दैन । जनतामा निर्वाचनप्रति रुची हुन सकेन भने जित्न पर्नेले हार्ने र हार्नेले जित्ने हुन्छ र सरकारमा गतिलो व्यक्ति वा पार्टी पुग्दैन । त्यसैले मतदातालाई मतदानका लागि जागरुक बनाउन मतको मूल्य तथा भोटमा राजनीतिक सत्ता परिवर्तन गर्ने अन्तरनीहित शक्तिका बारेमा ज्ञान तथा आफूले मन नपराएको व्यक्ति वा राजनीतिक दललाई पदमुक्त गर्ने क्षमता राख्दछ भन्ने नागरिक शिक्षा दिनुपर्छ । जनताको उदासीनतालाई उत्प्रेरणामा बदल्नुपर्दछ । यसमा मतदाता शिक्षाका लागि राजनीतिक दल, निर्वाचन आयोग तथा समाजसेवीहरुको ठूलो भूमिका रहन्छ । यस्तै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीति दलको अहम भूमिका रहन्छ । राजनीतिक दलहरुको प्रतिस्पर्धा सभ्य र अनुशासित नभएसम्म निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सक्दैन ।

निर्वाचन खर्चलाई कम गर्न तथा निर्वाचनमा प्रतिस्पर्धा बढाउन निर्वाचनका लागि राज्यकोषवाट राजनीतिक दलहरुलाई पैसा दिने व्यवस्था गर्नुपर्छ भन्ने तर्कहरु आएका छन् । अर्को कुरा आचार संहिता निर्वाचनको अनुशासनको मापदण्ड हो । सरकारदेखि राजनीतिक दलसम्मलाई आचार संहिताले बाँधेको हुन्छ । आयोगले राजनीतिक दलको सहभागितामा निर्वाचन आचार संहिता बनाएर कार्यान्वयनमा ल्याएको हुन्छ । आचार संहिता अनुगमनका मापदण्ड मापनयोग्य हुन्छन् । आचार संहिताको पालना भएन भने निर्वाचनमा धाँधली हुने प्रशस्त आधारहरु सिर्जना हुन्छन् । आचार संहिताको कार्यान्वयनका लागि निर्वाचन आयोगले सशक्त अनुगमन गर्नुपर्दछ । आचारसंहिताको पालना नगर्नेमाथि कठोर निर्णय लिन सक्नुपर्दछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयारहित बनाउन निर्वाचन आयोगको महत्वपूर्ण योगदान रहन्छ । निर्वाचन आयोग निर्वाचन सम्पादन गर्न तटस्थ हुनुपर्दछ । यसकारण सरकार तथा राजनीतिक दलहरु सँधै स्वतन्त्र निष्पक्ष र स्वच्छ निर्वाचनका लागि समर्पित हुनुपर्छ ।

प्रतिकृया

प्रतिकृया