शिव पुन, दाङ
१५-माघ/ राज पायल रोका मगरको स्वर रहेको गीत ‘खुशी हुनू तिमी’ सार्वजनिक भएको छ । झग्गु भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देव मगर, रचना रोका र तेज ओलीको मुख्य भुमिका रहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले म्युजिक भिडियो बनाउदा प्राविधिक केही कठिनाई भएतापनि भिडियो सुटिङका पलहरु रमाइला र यादगार रहेको बताए । साथै भण्डारीले दाङमा चलचित्र वा भिडियो छायांकनका लागि प्रयाप्त लोकेशन रहेको दावी समेत गरे ।
म्युजिक भिडियो मार्फत निर्देशकले समाजमा देखिने वा गरिने प्रेमी र प्रेमीका बीचका सबै माया प्रेम वास्तविक नहुन पनि सक्छन् अर्थात् मायामा पनि थुप्रै स्वार्थ लुकेका हुन्छन् भन्ने सन्देश दिन खोजेका छन् । दाङ जिल्लाका विभिन्न रमणीय ठाउँलाई निर्देशक झग्गु भण्डारीले निकै आकर्षक ढङ्गले प्रस्तुत गरेका छन् ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपाने (डिआरएन), चलचित्र निर्देशक तथा साहित्यकार डिल्ली बस्नेत ‘संगीत’ र म्युजिक भिडियो निर्देशक अमृतमान ओलीले सिमित श्रोत र साधनको बाबजुद पनि म्युजिक भिडियो राम्रो र आकर्षक बनेको भन्दै भिडियोका निर्देशक, कलाकारसहित सिङ्गो टिमको प्रसंशा गरेका थिए ।
विष्णु अधिकारीको संगीत रहेकोे गीतमा लक्ष्मण भन्तना ‘शिशिर’को शब्द रहेको छ । विप्लव अधिकारीले सम्पादन गरेको भिडियोलाई राजपायल रोका मगर युट्युव च्यानल मार्फत रिलिज गरिएको छ । चलचित्र पत्रकार संघ दाङका सह-सचिव निरला गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।