काठमान्डौ,
२५-भदौ / मलाई डेंगुको शंका लागिरहेको थियो । ज्वरोका साथसाथै आँखाको गेडी अति दुख्ने, टाउको दुख्ने, शरीर अति दुख्ने, घाँटी दुख्ने, जोर्नी दुख्ने गरेकोले डाक्टरलाई डेंगुको रगत जाँच गर्न अनुरोध गरेको थिएँ, तर काठमाडौँमा डेंगु नै छैन, त्यसैले जाँच आवश्यक छैन भनेर एन्टिबायोटिक र फ्लेक्सोन दिएर पठाउनुभयो ।

तर यहाँ जाँच गरेको डेंगु पोजिटिभ देखियो,’ एक महिला आफ्ना छोराको समस्याबारे मसँग भन्दै थिइन्। यति भन्दैगर्दा उनी आत्तिएको प्रष्टै देखिन्थ्यो । हिजोदेखि बिरामीको शरीरमा स(साना बिबिराहरु पनि देखिन थाल्यो । ती महिला भक्तपुरकी बासिन्दा थिइन् । उनका छोरा काठमाडौँ बाहिर नगएकोले डेंगु स्थानीय स्तरमा प्रसारण भइरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । यो नै भक्तपुरमा देखिएको पहिलो डेंगु केस थियो ।

हाल देखिएको डेंगुको महामारी पूर्वबाट सुरु भई यसको तरंग काठमाडौँ हुँदै भक्तपुरसम्म पुगेको देखिन्छ । ललितपुर जिल्लाले पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ । यो डेंगु केसको महत्त्वपूर्ण कुरा भनेको स्वस्थाकर्मीहरु डेंगु काठमाडौँमा देखा परिसकेको अवस्थामा पनि अनभिज्ञ हुनु हो । जसले गर्दा स्वभाविक रुपमा गर्मी महिना भएकोले टाइफाइड वा अरुनै संक्रमणको शंका गरी उपचार गर्दै आहिरहेका छन, जसमा फ्लेक्सोनको (दुखाइ कम गर्ने औषधि) अत्यधिक मात्रामा प्रयोग हुने गरेको छ ।


ADVERTISEMENT

   


माथि उल्लेखित घटना त प्रतिनिधि पात्र मात्र हुन्, तर धेरै डेंगु संक्रमित व्यक्तिहरु मेरो सम्पर्कसम्म आइपुग्दा ब्रुसेट वा फ्लेक्सोन जस्ता अति दुखाइ कम गर्ने औषधिहरु व्यापक मात्रामा प्रयोग गर्दै आइरहेको पाएको छु । डेंगु अरु धेरै संक्रमण रोगहरुको तुलनामा घातक मानिँदैन। यदि सतर्कता अपनाए र समयमै उपचार पाए यसको मृत्युदर एक प्रतिशत भन्दा पनि कम हुन्छ । तर हामीले कतिपय कुराहरुमा सतर्कता नअपनाउँदा भने जटिलतातिर लग्ने गरेको पाइन्छ । यसको विशेष एन्टिभाइरल औषधि हालसम्म नभएकोले लक्षण वा यसबाट उत्पन्न हुने जटिलताहरुको आधारमा उपचार गर्दै जानुपर्छ ।

जटिलतातिर लग्ने कारणहरु मध्येमा जथाभावी वा रोगको पहिचान गर्न नसक्दा जथाभावी औषधिहरुको प्रयोग गर्नु पनि हो । विश्व स्वस्थ्य संगठनले एस्पिरिन, ब्रुसेट, फ्लेक्सोन जस्ता दुखाइ कम गर्ने औषधिहरुको प्रयोग नगर्न चेतावनी नै जारी गरेका छन् । छिमकी देश भारतले दिल्लीमा यस्ता औषधिहरुको जथाभावी प्रयोगमा डेंगु महामारी अवधिभर निषेध गर्ने नियम लागू गरिसकेको छ ।

यस्ता औषधिहरुको प्रयोगले यी संक्रमितहरुमा रक्तश्राप झन् तीब्र हुने गर्दछ र जटिलतातिर गए बिरामी सकमा(बिहोस) गई मृत्यु समेत हुन सक्छ । यस्तो समस्या विशेष गरेर अल्सर वा ग्यासट्राइटिस भएकाहरुलाई झन् बढी खतरा हुनसक्छ। रगत बान्ता गर्नु, दिसा कालो हुनु वा शरीरका विभिन्न अंगहरुबाट रक्तश्राप हुने गर्दछ ।

हाल नेपालमा मनसुन सिजन छ र यसै समयमा अरु विभिन्न संक्रमणहरु पनि फैलँदो क्रममा छन् । अधिकतम संक्रमितहरुमा सुरुवातमा कडा टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने भएकोले सोझै नजिकैको औषधि पसलमा जाने गर्छन् र त्यहाँ उनीहरुले कम्तीमा दुखाई कम हुने औषधिको अपेक्षा गरेको पाइन्छ । फार्मेसीहरुले पनि त्यस्ता औषधिहरु तुरुन्त दिने गर्छन् । यसले गर्दा बिरामी यदि डेंगु संक्रमित भएको रहेछ भने रक्तश्राप झन् तीब्र भएर जान्छ ।

तसर्थ, यसरी जथाभावी दुखाइ कम गर्ने औषधिहरु कम्तीमा पनि डेंगु महामारी भएको समयमा बिक्रेताले डाक्टरको प्रेसक्रिप्सन बिना दिनु हुँदैन । डेंगु संक्रमित फैलिँदै गएको अवस्था भए सोको बारेमा सम्बधित निकायले पनि समयमै चिकित्सकहरुलाई जानकारी गराउनु पर्दछ । जसले गर्दा एस्पिरिन, ब्रुसेट, फ्लेक्सोन जस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग हुने छैन र माथि उल्लेखित घटना दोहोरिने छैन ।

माथि उल्लेख गरे झैँ धेरै डेंगु संक्रमितलाई चेतावनीमूलक लक्षणहरु नदेखिएसम्म भर्ना नै गरिहाल्नु भने पर्दैन, तर त्यस्ता लक्षण कसलाई देखिन्छ, कसलाई देखिँदैन भनेर पूर्वानुमान गर्न सहज भने छैन । एक पटक पहिले त्यो व्यक्तिलाई डेंगु संक्रमित भइसकेको र अर्को कुनै चार सेरोटाइपमध्ये फरक सेरोटाइपले दोश्रो पटक संक्रमण गरेमा त्यो व्यक्तिमा डेंगुले झन् कडा रुप लिनसक्छ ।

अर्को शब्दमा भन्नुपर्दा, हामीले हरेक प्रकोप वा महामारीमा डेंगुको कुन सेरोटाइप जिम्बेवार थियो भनेर थाहा पाउन सके चिकित्सकले रोगको कडापन वा जटिलता बारे पहिले नै पूर्वानुमान गर्नसक्ने थिए र सुरुदेखि नै ती संक्रमितलाई विशेष निगरानीमा राख्ने थिए । जसले गर्दा सुरुमा नै जटिलतालाई रोक्न सकिने छ ।

यसर्थ, नेपाल सरकारले हरेक प्रकोप या महामारीको लागि डेंगुको चारमध्ये कुन सेरोटाइप जिम्मेवार छ भनेर सार्वजनिक जानकारी गराउने परिपाटी लागू गरे चिकित्सक र संक्रमित दुवैको लागि जटिलताबाट बच्नेरबचाउन सजिलो हुने थियो । केही समय अगाडि प्रकाशित मेरो अनुसन्धानले डेंगु विशेष गरेर युवा उमेरकाहरुमा कडा भएको देखाएको थियो, जुन मेरो लागि पनि अचम्मित तर चाखलाग्दो नतिजा थियो । ती संक्रमित युवा उमेरकाहरुमा डेंगुको जटिलता देखिएकोले अस्पताल भर्ना हुनु परेको थिएन ।

नेपालमा गरेका अनुसन्धानहरुमा संक्रमितमध्ये झन्डै १० प्रतिशतमा डेंगुले जटिलता गराउने गरेका पाइएको छ । यो अवस्थामा उपचार नै नपाए बिरामी “डेंगु सक सिन्ड्रोम“ मा जानसक्छ र मृत्यु समेत हुनसक्छ । त्यसैले युवाहरु आफैं पनि डेंगु संक्रमित भए सजगता अपनाउनुपर्छ । चिकित्सकले पनि युवा उमेरका जोकोही संक्रमितको उपचार गरिरहेको भए विशेष स्वास्थ्य निगरानी बढाउनु पर्दछ ।

अरु संक्रमणहरुमा खासगरी केटाकेटी तथा जेष्ठ नागरिकमा बढी जटिलता आउने गरेको पाइन्छ । नेपालमा हाल देखिएको डेंगु महामारीलाई अलि नियालेर हेर्ने हो भने पनि केटाकेटी तथा जेष्ठ नागरिक बढी संक्रमित भई जटिलताको कारणले भर्ना भएको देखिँदैन वा सुनिँदैन । यो नै डेंगु र अरु संक्रमणहरु बीचमा देखिने विशेष भिन्नता भन्न सकिन्छ । अन्तमा, यसको विशेष एन्टी भाइरल औषधि नभएको र डेंगु विरुद्धको खोप पनि विकास नभइसकेको अवस्थामा जटिलताबाट बच्नु नै हाम्रो लागि मुख्य चुनौती देखिन्छ ।

हाल नेपालको इतिहासमा नै आधा नेपाल डेंगुले ढाकिसकेको र यति धेरै संख्यामा संक्रमितहरु देखिएको अवस्था छ । यति लामो समयदेखि निरन्तर डेंगु फैलँदो क्रममा रहेको र यो रफ्तार अहिले पनि कायम नै रहेकोले माथि उल्लेखित चुनौतीहरुलाई मनन् गरी र उल्लेखित उपाय अबलम्वन गर्न सके सम्भावित मृत्युदरलाई सीमित अवस्थामा राख्न ठूलो मद्दत मिल्ने छ ।
स्रोत : स्वास्थ्य खबरपत्रिका

प्रतिकृया

प्रतिकृया