एजेन्सी ,
२२ – माघ / जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  डायमण्ड प्रिन्सेसु नाम गरेको जहाजमा रहेका तीन हजार सात सय यात्रुमध्ये तीन सय यात्रुको परीक्षण गरिसकिएको छ ।

परीक्षण गर्दै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।  गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध भाइरसका बिरामी परेपछि जाँच सुरु भएको थियो ।  जापानको राष्ट्रिय प्रसारण सङ्गठन एनएचकेले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ ।  चार जना ५० वर्ष, चार जना ६० वर्ष, एक जना ७० वर्ष र अर्का एक जना ८० वर्षका रहेका बताइएको छ ।  सङ्क्रमण देखिएका मध्ये दुई जना जापानी नागरिक रहेको बताइएको छ ।

तर सङ्क्रमण देखिएका मध्ये कोही पनि गम्भीर अवस्थामा नरहेको एनएचकेले जनाएको छ ।  जापानी स्वास्थ्य मन्त्री कसुनोबु कातोले बुधबार सञ्चारमाध्यमसँग भने, ‘सङ्क्रमण देखिएकाहरुलाई स्वास्थ्य संस्थामा पठाइएको छ ।’ कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया