काठमाण्डौ
२२ असार / हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै केही वैज्ञानिकहरुले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरसम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट पनि मानिस सङ्क्रमित हुन सक्ने भन्दै केही वैज्ञानिकले डब्ल्यूएचओलाई कोभिड–१९ सम्बन्धी निर्देशिका संशोधित गर्न माग गरेको विवरण न्युयोर्क टाइम्समा प्रकाशित छ ।

खबरका अनुसार शोधकर्ताहरुले डब्ल्यूएचओलाई एक खुला पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् । त्यो पत्रलाई आउँदो हप्ता कुनै साइन्स जर्नलमा प्रकाशित गर्ने योजना छ । यसमा ३२ देशका दुई सय ३९ वैज्ञानिकले यो दाबीसँग जोडिएका प्रमाण दिने न्युयोर्क टाइम्समा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने छिटाबाट अर्काे व्यक्तिमा सर्छ । पाँच माइक्रोनभन्दा साना छिटा बनेको अवस्थामा हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न मद्दत पुग्न सक्ने उसले जनाएको छ ।

वैज्ञानिकहरुले भने हाच्छिउँ गर्दा निस्किने छिटा हावामा टाढासम्म फैलिन सक्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्ने दाबी गरेको न्युयोर्क टाइम्स भनिएको छ । यद्यपि विश्व स्वास्थ्य सङ्गठनले भने वैज्ञानिकहरुले दिएको प्रमाणले त्यो दाबी पुष्टि नहुने बताएको छ ।

स्रोत : उज्यालो अनलाइन

प्रतिकृया

प्रतिकृया