सामाजिक कामबाट एकाएक राजनीतिमा कसरी आउनुभयो ?

बाहिरबाट हेर्दा एकाएक राजनीतिमा आएको जस्तो देखिए पनि मेरो पारिवारीक पृष्ठभूमी नै नेकपा एमाले हो । सानैदेखि मलाई कम्युनिष्ट पाटीप्रतिको आकर्षण थियो । सामाजिक काममा धेरै अग्रसर हुनुपरेको कारणले गर्दा पनि म राजनीतिमा प्रत्यक्षरुपमा जोडिन सकेको थिएन । तर पनि कुनैदिन प्रत्यक्षरुपमा राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने मेरो अभिष्ट लक्ष्य थियो । अहिले आएर समय अनुकुल भएका कारण म उपमेयरमा उम्मेदवार भएको छुँ । आजसम्म सामाजिक काममा मात्रै लागेकी थिए भने अब राजनीति मार्फत मैले समाजसेवा गर्नेछु । जे बाट भएपनि समाजसेवा मेरो लक्ष्य हो ।

सामाजिक काममा तपाईको संलग्नता कस्तो छ ?

विगत ३० वर्षदेखि म निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको छुँ । महिला अधिकार ,महिला साक्षरता, किशोरी शिक्षा लगायतका काममा मैले जनताको बिचमा रहेर काम गरे । अनाथ, असहाय,बालबालिकाहरुलाई सहारा दिएकी छुँ । दिदीघरमार्फत अहिले मैले अनाथ बालबालिकाहरुलाई पढाइरहेकी छुँ । अहिलेसम्म करिब १ हजार भन्दा बढी बालबालिकालाई मैले पढाइसकेकी छु ।

गठबन्धनलाई परास्त गरेर निर्वाचन जित्ने आधार के छ ?

मैले समाजलाई गरेको योगदान नै मैले निर्वाचन जित्ने मुल आधार हो । मैले समाजको वास्तविक धरातल बुझेको छुँ । गाउँदेखि लिएर संसारमा महत्वपूर्ण ठाउँमा गएर मैले शिक्षा हासिल गरेकी छुँ । समाजमा सबैलाई कसरी मिलाएर लैजान सकिन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । यसका साथै म महिला उम्मेदवार पनि हुँ । अन्य दलहरुले महिला उम्मेदवारलाई उपेक्षा गरेका छन् । थारु जातिको बाहुल्यता रहेको ठाउँमा मेरो उम्मेदवरी परेका कारण पनि यसपटकको निर्वाचन जित्ने मेरो अपेक्षा छ ।

निर्वाचनको तयारी कस्तो चलिरहेको छ ?

जनताको घरमा पुग्ने, मत माग्ने, एजेण्डा सुनाउने यस्तै चलिरहेको छ । पार्टीका कमिटी सभा, वैठक, भेला पनि चलिरहेका छन । विहानदेखि साँझैसम्म व्यवस्थितरुपले प्रचार प्रसार, मतदाता भेटघाट र दिनभरी भएका गतिविधिको विषयमा साँझ समीक्षा पनि हुँदै आएको छ । अब प्रचार गर्ने समय पनि सकिन लागेको छ । अब जनताले मत हाल्ने दिनको प्रतिक्षामा बस्नुपर्ने भएको छ ।

तपाईको उम्मेदवारी किन ?

वास्तवमा म जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको हुँ । खासगरी यस क्षेत्रका दिदी बहिनीहरुको नेतृत्व विकास, क्षमता विकासमा मैले लामो समय काम गरे । सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । सरकार राम्रो हुनका लागि नेतृत्व राम्रो हुनुपर्छ । त्यो हैसियत लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभवले समग्र नगरवासीको काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।

के के काम गर्ने योजना छ त ?

पहिलो कुरा सरकारी सेवा प्रवाहमा सुधार नै हो । साना जस्ता लाग्ने तर जनताको सेवामा तिनै साना साना सुधारका काम गर्न सकियो भने सेवा प्रवाहमा सहजता ल्याउन सकिने थुप्रै काम गर्न सकिन्छ । मलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवले नागरिक सेवामा ल्याउनु पर्ने परिवर्तनबारे जानकारी छ । अर्को कुरा किशोरी शिक्षा, सडक बालवालिकाको संरक्षण गर्न सकिन्छ । यही कुरा मैले व्यक्तिगतरुपमा गरिरहेको छु । २४ जना त्यस्ता वालवालिकाहरुलाई मैले संरक्षण गरिरहेकी छु । तर स्थानीय तहको नेतृत्व गर्ने अवसर मिल्यो भने सबै महिला, बालवालिका, नगरवासी दाजुभाई दिदी वहिनी, बर्ग, समुदायको संरक्षण, सेवामा लाग्नेछु । त्यसैगरी गुणस्तरीय शिक्षाका लागि काम गर्ने र हरेक बालवालिकाहरुलाई यो देशको सक्षम नागरिक बनाउने योजना छ । त्यस्तै सडक मानवमुक्त बनाउन घरवास नभएका असहाय, हिंसापीडितहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुको संरक्षण, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय सरकारको लगानीलाई ध्यान दिने र हरेक नागरिकहरुलाई सक्षम बनाएर यही देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना छ ।

अरु भन्दा फरक के गर्नुहुन्छ ?

पहिलो कुरा त म ठूलो जनसंख्या रहेको महिलाको प्रतिनिधि हुँ । त्यसो भएर जसरी आमाले परिवारमा समभाव राखेर मातृत्व प्रदान गर्नुहुन्छ त्यसैगरी मैले उपमहानगरवासीको विकासमा आग्रहपूर्वाग्रह नराखेर काम गर्नेछु । नेतृत्व प्रदान गर्नेछु । मलाई जापान, अमेरिका, डेनमार्कलगायत विकसित देशहरुको सुशासन, विकासको अनुभव छ । त्यो अनुभवलाई यो उपमहानगरको विकासका लागि आम नगरवासीको सुझावका आधारमा काम गर्ने र सुशासनयुक्त प्रणालीको विकास गर्ने काम मैले गर्नेछु ।

गठवन्धनको चुनौति छ नी ?

के को चुनौति ? मलाई त त्यस्तो लाग्दैन । गठवन्धनले महिला प्रतिनिधित्वलाई वेवास्ता गरेको देख्नुहुन्न तपाई ? म आम नगरवासीको साझा उम्मेदवार हुँ । एमालेले मलाई टिकट दिए पनि उपमेयरमा महिला उम्मेदवार म नै हुँ । आम नगरवासीको साझा उम्मेदवार भएकाले मलाई चूनौति होइन अझ सहज भएको छ । महिलाहरुको बाहुल्यता भएको यस क्षेत्रबाट मलाई धेरै मत आउने विश्वास पनि छ ।

न्यायिक निरुपण र योजना व्यवस्थापनको थप जिम्मेवारीलाई कसरी लिनुभएको छ ?

संविधानले दिएको जिम्मेवारी पूरा गर्ने आँटका साथ चुनावी मैदानमा छु । मलाई किन पनि सजिलो छ भने हिंसामा परेका महिला, बालवालिकालगायत आम नागरिकहरुको सेवामा यसअघि नै मैले झण्डै ३० वर्ष गुजारेको छु । यसर्थ मलाई न्याय निरुपणमा गाह्रो भन्ने छैन । मुख्य त नेतृत्व गर्ने कुरा हो । पीडितहरुको न्यायका लागि काम गर्न सक्षम छु । मैले यो जिम्मेवारीलाई समाज सेवाकैरुपमा लिएको छु । यसका साथै योजना व्यवस्थापनमा पनि मेरो भुमिका हुने भएको हुँदा जनतालाई प्रभाव पार्ने खालका कस्ता योजनाहरु कार्यान्वयन गर्नुपर्दछ भन्ने बारेमा मैले राम्रोसँग अध्ययन गरेर अगाडी बढाउनेछु यो सेवा गर्ने अवसर आम नगरवासीहरुले दिनुहुनेछ भन्ने आशा, विश्वास छ ।

प्रतिकृया

प्रतिकृया