तिर्थराज ज्ञवाली, देउखुरी
२८-असोज / राप्ती गाउँपालिका क्षेत्रमा पछिल्लो समय पशुहरुमा लम्पी स्किन संक्रमण देखा परेपछि पशु सेवा शाखाको आव्हानमा विशेषज्ञ टोलीद्धारा चेकजाँच गरिएको छ ।


                                                                                 ADVERTISEMENT



विभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परिरहेको अवस्थामा राप्ती गाउँपालिका क्षेत्रका देखा परेका बिरामी पशुहरुको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको टोलीले चेकजाँच गरेको पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए ।

राप्ती क्षेत्रमा ५ वटा पशुमा लम्पी स्किन संक्रमण देखा परेपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डा. कृष्णराज पौडेलको समन्वयमा डा. जितेन्द्र श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक मनराज सुनारको टोलिले बिरामी पशुको रगत, दिशा, पिसाब, छाला, घाँउको पिप संकलन गरी पुर्ण चेकजाँचको लागि लगेको पशुसेवा शाखा प्रमुख रिजालले बताए ।

लम्पी स्किन संक्रमण देखा परेका बिरामी पशुको रगत, दिशा, पिसाब, छाला, घाँउको पीपको नतिजा आगामी शुक्रवार सम्म आईपुग्ने र थप रोगबारे जानकारी तथा उपचार पत्ता लगाउन सकिने डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

डा. जितेन्द्र श्रेष्ठले पशु पालक कृषक, राप्ती गाउँपालिकाका पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक, तथा पशु स्वास्थ्य कार्यकर्तालाई लम्पी स्किन रोग र सो रोगबाट पशुलाई बचाउने उपायको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया

प्रतिकृया