प्रिया स्मृती गजमेर,लमही
९ पुस/ गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवाकी सृजना चौधरी २४ वर्षकी भइन् । सामान्य परिवारकी सृजनाले घरायसी काममै समय बिताउदै आएकी थिइन् । उनलाई कतैबाट सीप र तालिम सिक्ने अवशर आए हुन्थ्यो भन्ने लाग्ने गथ्र्यो ।

वेरोजगारी भएर समय बिताइ रहेकी सृजनालाई अहिले ढुंगा खोज्दा देउता भेटिए जस्तै भएको छ ।त्यस्तै फराहाना खातुन पनि गृहणी हुन । थोरै घर खेतको काम गरेर दिनभरी खाली भएर बसिन्थ्यो, अब सीप सिकेर आफ्नै व्यवसाय खोल्ने योजनामा भएको उनले सुनाईन । सृजना र फराहना जस्तै वडा नम्बर गढवा गाउँपालिका वडा नं. ४ को विभिन्न गाउँमा बेरोजगार महिलाहरु थुप्रै छन् ।

अवसर पाउन थालेपछि दाङको ति महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन । महिलाहरु सधैं चुलो चौकामै सिमित हुन थालेपछि स्थानीय सरकारले उनिहरुको लागि विभिन्न सीपमुलक कार्यक्रम गर्दै आएको छ । जसका कारण ती महिलाहरुले तालिम लिएर आफ्नो सीप प्रदर्शन गर्न सकेका हुन । घरमै बसेर निःशुल्क तालिम लिन पाउँदा स्थानीय महिलाहरु पनि खुशी छन् । गढवा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले वडाका महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने बताए ।

बितेका वर्षमा पनि वडा कार्यालय मार्फत थुप्रै सीपमूलक तालिमको आयोजना गरि बेरोजगार महिलाहरुलाई सीप प्रदान गराई ब्यवसायमा जोडेको बताए । हरेक वर्ष जस्तै यो चालू आर्थिक वर्षमा पनि गढवा गाउँपालिका वडा नम्बर ४ को प्रसेनीमा ३ महिने कटाई सिलाई तालिम सुरु भएको वडाध्यक्षले जानकारी दिए । गढवा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानको सभापतित्व तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बुधवारदेखि तीन महिने कटाई सिलाई तालिमको शुरुवात भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यादवले जनताले चुनेका जनप्रतिनिधीहरुले आयोजना गरेका कार्यक्रमहरु सफल पार्ने जनताको कर्तव्य भएको बताउदै जनप्रतिनिधीको रुपमा आफुहरुले पाएको जिम्मेवारी पूरा गरेको बताए ।

त्यस्तै गरि गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीले महिला तथा बालबालिकाको समृद्धि तथा विकासको लागि वडा नं ४ ले नियमित रुपमा बजेट राखेर सम्बोधन गरेको बताउदै चौधरीले कटाई सिलाई तालिम सिकेर ब्यबहारमा लागू गर्नु पर्ने बताईन् । गढवा गाउँपालिका भित्र वडा नं ४ ले लगातार ४ वर्षदेखि जनताको सेवा गर्दै महिला तथा बालबालिकाको क्षेत्रमा महिलाको सीप विकास गर्दै ४ वर्षको दौरानमा १ सय ५० बढी महिलालाई आत्मनिर्भर बनाएको सिपयुक्त बनाएको वडाध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले बताए ।

वडा कार्यालयको ८ लाख बजेटबाट तालिम सुरु गरिएको छ । तालिममा २० जना महिला सहभागीलाई सिलाइ मेसिन सहित तालिम सिकाउने योजना रहेपनि ३५ जना सहभागी गराएर गुनासो रहित तरिकाले कटाई सिलाई तालिम सम्पन्न गर्ने योजना रहेको वडाध्यक्ष मुसलमानको भनाई छ । कार्यक्रममा गढवा गाउँपलिका वडा नं. ४ का सचिव पदमबहादुर थापा, सदस्यहरु कलाधर पोख्रेल, धनिराम यादव, त्रिपनि परियार, जनता समाजबादी पार्टीका गढवा गाउँपालिका अध्यक्ष महबुब अलि मुसलमान, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक अशोककुमार यादव, राधिका चौधरी, समिता चौधरी समाजसेवी राम धिरज यादव, कर्मचारी माया नेपाली गढवा गाउँपालिकाका प्रेस संयोजक शिवराज पन्थी लगायतको सहभागिता थियो ।

तालिमको प्रशिक्षकमा गोते परियार र शिवा चौधरी रहेका छन् । वडा सदस्य कौशिल्या चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया