प्रिया स्मृती गजमेर, लमही
२९-चैत/ लमही बजारको बगैंचा रोड हरेक दिन बिहानै ४ देखि ७ बजे सम्म भरिभराउ हुने गर्दछ । एकाबिहानै सागसब्जी लिन पुग्ने मानिस र तरकारी बेच्ने किसानहरुको बाक्लो उपस्थितिले त्यहाँ भिड हुने गरेको हो । त्यस्तो भिडले बजारको स्वरुप नै कुरुप पार्ने काम गर्नुका साथै दुर्घटनाको उच्च जोखिम पनि निम्त्याउने गर्दछ ।

तरकारी बिक्री गर्न आएका किसानका कारण स्थानीय व्यवसायी पनि आजित भएका छन् । पसल अगाडी फोहोर हुने, भिडभाड हुने जस्ता समस्या आएको उनीहरुको गुनासो छ । देउखुरीका हरेक ठाउँबाट तरकारी बेच्न त्यहाँ पुगेका किसानहरु सडक छेउमा लस्करै बसेका हुन्छन् । सडक बाटो नै अवरोध हुने गरी मानिसको भिडभाड हुने गर्छ । देउखुरी तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रमा किसानले वर्षेनी लाखौँ रुपैयाँको तरकारी उत्पादन गरी बिक्री गर्ने गर्दछन् ।

किसानले तरकारी उत्पादनबाट पनि राज्यलाई आर्थिक पाटोमा सघाइरहेका छन् भन्ने कुरा लमही सरकारले बुझ्न सकेको छैन् । यहाँका किसानले विघौँ विगाहमा गरेको तरकारी खेतीले अझै राम्रो संग बजार पाउन सकेको छैन् । खासगरी लमही नगरपालिका भित्र अलिक बढी तरकारी खेती गर्ने किसानहरु छन् ।

 

 

“स्थानीय सरकारले बजार व्यवस्थापनमा चासो दिएन् । हामीले दुख मेहनत गरेर तरकारी उत्पादन गर्छौं, त्यो तरकारी सजिलै उपभोक्ताको घर घरमा पुग्न सक्ने अवस्था छैन् । सबै किसानसंग तरकारी ढुवानी गर्ने साधन छैन् । मोटरसाइकल र साइकल प्रयोग गरेर हामीले लमही सम्म ल्याउछौं”- लमही नगरपालिका ८ सतबरियाका शंकर चौधरीले भने ।

केही महिना अघिसम्म तरकारी बेच्ने किसानहरु पूर्वपश्चिम राजमार्ग छेउमा बस्ने गर्दथे । त्यहाँ दुर्घटनाको उच्च जोखिम भएको गुनासो बढ्न थालेपछि लमही नगरपालिकाले लमही अस्पताल जाने बाटो नजिक कृषि उपज केन्द्र भित्र गएर तरकारी बिक्री गर्न अनुमति दिएको थियो । त्यस ठाउँमा पायक नपर्नेे र किसानको दैनिकी जीवनसंग खेलवाड गरेको भन्दै किसानहरुले स्थानीय सरकारको चर्को आलोचना समेत गरेका थिए ।

व्यवस्थापन गरेको ठाउँमा किसान बस्न मानेनन् : नगरप्रमुख केसी
किसानहरु कृषी उपज केन्द्रमा नगएर फेरी सडक किनारमा आएर बस्न थालेपछि नगरपालिकालाई टाउको दुखाईको विषय बनेको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । ‘हामीले सुरक्षाका लागि गाडी मोटर देखि टाढा र सुरक्षित स्थानमा व्यवस्थापन गरेका हौँ त्यहाँ किसान जान मानेनन् । हामीले निश्चित ठाउँ तोकेपनि उनीहरु सडक किनार बस्न छोडेनन् । अहिले फेरी बगैंचा रोडमा बसेका छन्, उनले भने ।’

उनीहरुकै लागि हामीले पटक पटक अनुरोध गर्यौं तर पनि किसानले अटेर गरेर जहाँ मन लाग्छ त्यहि बस्दा लमही बजारको सुन्दरतामै ह्रास आएको नगरप्रमुख केसीको भनाई छ । केहि दिनसम्म किसानहरु लमहीको सार्वजनिक बगैंचामा पनि बसेका थिए, त्यहाँ काम शुरु भएका कारण त्यहाँबाट उनीहरु हटेका थिए ।

सडकमा बस्न बाध्य छौं : किसान
ठाउँको राम्रो व्यवस्थापन नहुँदा बिरालाले पाठो सारे झैँ कैले कता कैले कता गएर तरकारी बेच्नु परेको लमही नगरपालिका ४ का किसान सुकदेव चौधरीले बताए । उनी भन्छन् “सरकारले कृषिमा अनुदान दिएर मात्र के गर्ने बिक्रीका लागि ठाउँको व्यवस्थापन नभएपछि” । बिहानै ४ बजे घरबाट साइकलमा तरकारी लिएर बजार आइन्छ, बेच्दा बेच्दै उज्यालो भैहाल्छ, हाम्रो तरकारी बेचेर सकिएको हुँदैन उता पसल वाला आएर लखेट्न थाल्छन त्यो बेला हामी कहाँ गएर तरकारी बेच्ने ?

नगरपालिकाले मान्छे नै नजाने ठाउँमा गएर तरकारी बेच्न भन्छ । त्यता मान्छे जानै मन गर्दैनन्, हामीलाई घाटा हुने भो, जति दुख मेहनत गरेका छौं त्यति पनि न उठ्ने भएका कारण हामी त्यस ठाउँमा जान नमानेका हौँ” अर्का किसान खुशीराम चौधरीले भने ।

धेरै तरकारी खेती गर्ने र ढुवानीको साधन भएका किसानहरु टाढा टाढा गैहाल्छन् हामी आठ दश कट्ठामा खेती गर्नेहरु टाढा जान सकिदैन, लमही मै आएर हो बेच्ने त्यही बेच्नका लागि पनि सबैबाट हेपिएर बेच्नु पर्ने बाध्यता रहेको खुशीराम चौधरीको दुखेसो छ ।

प्रतिकृया

प्रतिकृया