प्रिया स्मृती गजमेर,लमही
६-बैशाख/ लमहीको सनलाईट चोक, राष्ट्रिय वाणिज्य बैंक, गोलघर चोक, मालपोत रोड, बगैचा रोड लगायत लमहीका अधिकांश मुख्य चोकमा थामी नसक्नु भिडभाड हुन्छ । इ–रिक्सा, मोटरसाइकल, साइकल, कार, जीप जथाभावी पार्किङ्ग गरेर राख्दा दुर्घटनाको उच्च जोखिम बढेको छ ।

यी चोकमा हुने भिडभाडलाई व्यवस्थित गर्ने विषयमा लमही नगरपालिकाले कुनै तदारुकता नदेखाएको व्यवसायीहरुको गुनासो छ । चुनावमा भोट माग्न आउँदा लोभ लाग्दा नाराहरु लिएर आए, लमही नगरपालिकालाई स्वर्गै जस्तो बनाउछौं भने, तर चारवर्ष बित्यो उनीहरुको प्रतिबद्वता पुरा भएन्, स्थानीय नगरवासी सुन्दर चौधरीले भने ।
स्थानीय सरकार भएका नाताले यस नगरपालिकालाई राम्रो गराउने जिम्मा उनीहरुको हो तर त्यतातिर उनीहरुले ध्यान नदिएको व्यवसायी जगत खत्रीले बताए ।

हाम्रो लमही सरकार डीपीआर र भ्यु टावर बनाउनमै व्यस्त भयो, गढवा गाउँपालिकाले बजार फराकिलो बनाएर देखायो, लमहीले किन सकेन ? खत्रीले प्रश्न गरे । इ–रिक्सा संचालकहरु पनि आजित छन् । पार्किङ व्यवस्थापनका लागि निवेदन लगेर पटक पटक नगरपालिका प्रमुख कहाँ गयौं, हुन्छ मात्र भन्नु हुन्छ तर कार्यान्वयन हुन्न । हामीले पनि राज्यलाई कर तिरेर्रै व्यवसाय गरेका छौं, हाम्रो कुरा नगरपालिकाले बेवास्ता गर्यो’– इ–रिक्सा चालकहरुको गुनासो छ । धमिलाको बोट भनेर चिनिएको लमहीको मुख्य चोक, जहाँ दैनिकजसो सयौं इ–रिक्सा जम्मा हुने गर्दछन् । त्यहि चोकबाट मानिसहरु देउपुर रोड, सनलाइट स्कुल, पूर्वपश्चिम राजमार्ग र लमही नगरपालिका जाने गर्दछन् । एकाबिहानै देखि मान्छे र इ–रिक्साहरुको जमघटले भिडभाड शुरु हुन्छ ।

त्यहाँ देखिने भिडभाडलाई व्यवस्थित नगरे जुन सुकै बेला पनि दुर्घटना हुन सक्ने देखिन्छ । लमहीका धेरै जसो स्थानहरु अव्यवस्थित देखिन्छन । लमही नगरपालिका ५ निवासी भीम भुसाल पेशाले मोबाइल व्यवसायी हुन् । लमही–बैंक रोडमा उनको मोबाइल पसल छ । भुसालको पसल अगाडी दर्जनौ इ–रिक्सा अव्यवस्थित रुपले पार्किङ गरिएका हुन्छन् । यो देखेर उनी वाक्क भएको बताए ।

पसल अगाडी यसरी पार्किङ गरेर राख्दा हामीलाई डिस्टर्व त् हुन्छ नै दुर्घटनाको जोखिम पनि उतिक्कै छ । सडक किनारमै पार्किङ गरेर राख्नु इ–रिक्साहरुको बाध्यता भएको भुसाल बताए । हुनत भुसाल आफै पनि देउखुरी उद्योग वाणिज्य संघका सदस्य हुन् । इ–रिक्सा पार्किङका लागि कसैले पहल गरेको देखिएन’– उनले भने । नगरपालिका भित्र कुनै कार्यक्रम, सभा सम्मेलन गर्नु परे एउटा पनि खुल्ला मञ्च छैन् । अटो भिलेज र औद्योगिक ग्राम पनि नारामै सिमित भए । यी सबै मानिसका आवश्यकता भित्र परेका विषय हुन् ।

तर लमही नगरपालिकाले पांच वर्षको अवधिमा पनि पुरा गर्न सकेन् । यी कुराहरुलाई गम्भीरताका साथ लिएर कार्य अगाडी बढाएको भए अहिले लमही बजार यति धेरै कुरुप हुनु पर्ने थिएन । लमही बजार पछिल्लो समय यता जथाभावी पार्किङको कारण निकै अस्तव्यस्त बन्दै गएको छ । न सडक रेखाहरू छन्, न ट्राफिक संकेतहरू ।

ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइदैंन । सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन् । पैदल यात्रुहरू पनि सडकमा मनपरी रूपमा हिँडिरहेका देखिन्छन् । जहाँ मन लाग्यो त्यहींबाट बाटो काटिरहेका हुन्छन् । बजार क्षेत्रमा ट्राफिक ब्यवस्थापन सम्बन्धी नगरपालिकाले चासो दिनुपर्ने हो तर त्यसो गरेको पाइदैन् ।

लमही बजारको बीच बजारमा सवारी साधन तीव्र गतिमा कुदिरहेका हुन्छन् । ट्राफिक लाइट, होर्डिङ्ग बोर्ड, जेब्राक्रस जस्ता चिन्हहरू न त लमही बजार क्षेत्रमा देख्न पाइन्छ ।न त त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ । अस्थायी ट्राफिक पोष्ट लमहीका प्रमुख विष्णु प्रसाद न्यौपानेका अनुसार उसै त् हामीसंग जनशक्ति नै कम छ, त्यसैमाथि नगरपालिकाले कुनै कुरामा पनि समन्वय गर्दैन ।

बाटोको छेउछाउमा व्यापारीहरूले राखेको पसलको सामान र पूर्वपश्चिम महेन्द्र राजमार्गकै छेउछाउमा भएका ग्यारेज पसलहरूको कारण लमही बजार झनै कुरूप र असुरक्षित बनेको छ । ट्राफिक व्यवस्थापन नहुँदा लमही बजार अव्यवस्थित र कुरूप मात्रै बनेको छैन दुर्घटनाको जोखिम बढाएको व्यवसायी सुमन केसीको भनाई छ ।

आगन्तुकबाट मनपर्दी पार्किङ
लमही बजार क्षेत्रमा आगन्तुकहरुले पनि मनपर्दी पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको हो । बजार क्षेत्रमा रहेका विभिन्न गल्लीहरुमा रहेका संघ संस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा प्रयोग गरिने सवारी जथाभावी पार्किङले गर्दा बजार नै अस्तव्यस्त बन्दै गएको छ ।

गल्लीमा बैंक, हार्ववेयर, किराना पसल, फेन्सी पसल, मेडिकललगायतका पसलहरु रहेका छन् । बढ्दो शहरीकरणले बजार क्षेत्रमा जथाभावी पार्किङ हुँदा बजार अब्यवस्थित हुन पुगेको हो । लमही बजार क्षेत्रमा पछिल्लो समय च्याउ उम्रे जस्तै बैंक तथा वित्तीय संस्था खुल्ने क्रम चलिरहँदा पनि भिडभाड बाक्लिदै गएको छ ।

जसले गर्दा कार्यालय धाउने सेवाग्राहीले आफ्नो सवारी साधन सडकमै अलपत्र छोडेका हुन्छन् । बजार क्षेत्रमा मनपर्दी पार्किङका साथसाथै जथाभावी फोहोर फाल्नाले बजार दुर्गन्धित हुँदै गएको छ ।

प्रतिकृया

प्रतिकृया