तुलसीपुर,
१२-माघ /  तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गाठीखोलामा रहेको अस्थायी प्रहरी चौकीको भवन शिलन्यास गरिएको छ ।

यसअघि भाडामा बस्दै आएको अस्थायी प्रहरी चौकीको नयाँ भवन निर्माणको शिलन्यास प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ कोचारलाख बजेटमा प्रहरी चौकीको भवन निर्माणको काम शुरु भएको निर्माण समितिका अध्यक्ष रत्नबहादुर खड्काले बताए । उनका अनुसार अहिले प्रहरी चौकी भाडामा बस्ने भएकाले आफ्नै भवन निर्माण शुरु गरिएको हो ।


ADVERTISEMENT

 



त्यस क्षेत्रमा अपराधिक गतिबिधि बढिरहेको भन्दै स्थानीयको पहलमा २०७४ असार २३ गते अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो । तर आफ्नै भवन नहुँदा मासिक दुईहजार पाँच सय भाडा तिर्नुपर्ने बाध्यता थियो । अब आफ्नै भवन भएपछि सहज हुने भन्दै स्थानीयको सक्रियता र वडा कार्यालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण हुन लागेको निर्माण समितिका कोषाध्यक्ष पदम खड्काले बताए । उनका अनुसार राप्ती लोकमार्ग अन्तर्गत त्यस ठाउँमा अस्थायी प्रहरी चौकी स्थापना भएपछि अपराधिक गतिबिधिमा पनि कमी आएका छन् । कोषाध्यक्ष खड्काका अनुसार पाँच कोठे भवन निर्माण हुने छ, भने एउटा शौचालय निर्माण हुनेछ । त्यस क्षेत्रमा उपर्युक्त जग्गा नभएकाले खोलाको जग्गालाई सदुपयोग गर्न लागिएको समेत उनको भनाई छ ।

यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दगैरामा स्थानीयहरुले निर्माण गरेको भवन प्रहरीले सुरक्षाको दृष्टिले कम्जोर भएको भन्दै प्रयोगमा नल्याएपछि नयाँ स्थानमा प्रहरीको भवन निर्माण गर्न लागिएको हो । करिब दुई कठ्ठा जमिनमा उक्त भवन निर्माण हुन लागेको हो ।

निर्माण ब्यबसायी समितिका अध्यक्ष रत्नबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमकाबीच भवनको सिलन्यास गरिएको हो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केसीले भवन निर्माणको काम समयमै पुरा गर्न निर्देशन समेत दिए । त्यस अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, वडा नं. ४ का सदस्य जयबहादुर गिरी, वडा नं. ३ का सदस्य गोविन्दबहादुर अधिकारी, नेकपाका नेता कलिभान रोका, युवा नेता चेतमान सेजुवाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कोषाध्यक्ष पदमबहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महेन्द्र कुमार डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया