शंकर के सी,सल्यान
२८ चैत/ महिला बालवालिका तथा किशोरीमा हुने कुपोषण हटाइ मानव पूँजीको विकास गर्ने उद्देश्य सहित सल्यानमा निर्देशक समिती गठन गरिएको छ ।

जिल्लाका सबै स्थानिय तहमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती गठन कार्य चलिरहेको सुआहारा सल्यानले जनाएको छ । बहुक्षेत्रीय पोषण योजनालाइ कार्यान्वयन गर्न हरेक स्थानिय तह देखि वडास्तर सम्म पोषण योजना विस्तार गर्न समिती गठन गरिएको सुआहारा सल्यानका संयोजक हरी घिमिरेले बताए ।

जस अनुसार हाल सम्म शारदा नगरपालिका, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा निर्देशक समिती गठन भइसकेका छन् । विहिबार कपुरकोटमा गाउँपालिकाका प्रमुख भिम बहादुर सेनको अध्यक्षतामा समिती गठन गरिएको छ ।


ADVERTISEMENT

  



जसको उपाध्यक्षमा गाउँपालिकाका उपप्रमुख तिला बुढा मगर र सदस्यहरुमा वडा अध्यक्षहरु, विभिन्न विषयगत कार्यालयहरुका प्रमुख रहेका छन् । यस्तै महिला सदस्यमा ललीता गिरी, दलित महिला सदस्यमा कमला विक, उद्योग वाणिज्य संघको तर्फबाट कमल घर्ती, गैरसरकारी संस्थाको तर्फबाट घनश्याम शर्मा पनि सदस्यमा रहेका छन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिवको रुपमा रहेका छन् ।

यस समितीलाइ अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सुआहारा सल्यानका फिल्ड संयोजक तोरण बुढाथोकीले पोषणको अवस्था ठिक रहनका लागी स्याहार सुसार, शिक्षा, सरसफाइ, पोषणयुक्त खाद्यवस्तुको पहुँच र उपभोग एवम् महिला शशक्तिकरण जस्ता कुरा महत्वपूर्ण हुने बताएका थिए ।

यस्तै पालिका स्तरिय निर्देशक समितीका अध्यक्ष तथा गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले न्युन पोषणको समस्या हटाउने कार्यक्रमहरु वस्ती स्तरसम्म पुर्याउनेपर्नेमा जोड दिए । उनले भने, ‘अझै पनि गाउँघरबाट उत्पादन भएको हरियो तरकारि बेचेर सोयाबडि खाने, दुध बेचेर रक्सी किनेर खाने चलन छ, यसलाइ हटाउन र पोषणको बारे जनचेतना फैलाउन जरुरी छ ।’

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष समेत रहेका सेनले कर्णाली प्रदेशमा पुड्कोपनको अवस्था अति उच्च रहेको जनाउँदै कुपोषण हटाउन सबै पक्ष एकजुट बन्नुपर्ने बताए ।

कपुरकोट गाउँपालिकामा गठन भएको पोषण तथा खाद्य सुरक्षा निर्देशक समितीको बैठक प्रत्येक तीन महिनाको एक पटक बस्ने र आगामी बैशाख महिनाभित्र वडास्तरमा पनि यस प्रकारको समिती गठन गरिसक्ने निर्णय भएको छ ।

प्रतिकृया

प्रतिकृया