राजकुमार ओली, सल्यान
२१-जेठ / आइतबार बेलुका आएको हावाहुरीका कारण सल्यानको दार्मा गाउँपालिकामा ठुलो धनराशीको क्षति भएको छ ।

हावाहुरीले स्थास्थ्य चौकी, विद्यालय लगायत स्थानीयका घरका छानाहरु उडाउँदा छ लाख बढीको क्षति भएको दार्मा गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा ओलीले जानकारी दिए ।

हावाहुरीका कारण ढाकाडाम स्वास्थ्य चौकी दार्मा ५ त्रिवेणीको २ ओटा भवनको सम्पूर्ण छानो उडाएको छ । क्षतिका कारण स्वास्थ्यचौकीको सेवा प्रभावित भएको बताइएको छ ।
सेवाग्राहीलाई कम्पाउण्डबाट सेवा उपलब्ध गराइरहेको स्वास्थ्यचौकी प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए ।
त्यसैगरी दार्मा ५ मा रहेको श्री विश्वेश्वर आधारभूत विद्यालयको भवन, दार्मा ६ को श्री लक्ष्मी आधारभूत विद्यालय ज्यामिरेचौरको भवन, दार्मा २ भुसखोलाको श्री जनकल्यान प्राथमिक विद्यालयको भवनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ । विद्यालयमा भएको क्षतिका कारण विद्यार्थीहरुको पढाइ समेत प्रभावित भएको छ ।

हावाहुरीका कारण सबैभन्दा बढी क्षति ढाकाडाम स्वास्थ्यचौकीमा भएको छ । स्वास्थ्यचौकीका दुईओटा भवनमा क्षति हुँदा झण्डै १ लाख ७९ हजारको क्षति भएको बताइएको छ । त्यसैगरी ३ वटा विद्यालयमा १ लाख ६२ हजार ४ सयको क्षति भएको छ । श्री लक्ष्मी आ.वि. दार्मा ६ मा ६७ हजार, श्री विश्वेश्वर आवि दार्मा ५ मा ३१ हजार ४ सय, श्री जनकल्यान प्रावि दार्मा २ मा ६४ हजारको क्षति भएको छ ।


त्यसैगरी गाउँपालिकाका विभिन्न व्यक्तिहरुको घरमा समेत क्षति पुगेको छ । क्षति हुनेहरुमा दार्मा गाउँपालिका २ बस्ने सीता खत्रीको घरमा ७१ हजार रुपैयाँ, प्रदीप पाण्डेको घरमा ३३ हजार रुपैयाँ, गणेश पाण्डेको घरमा ९ हजार रुपैयाँ, बमबहादुर केसीको घरमा ३२ हजार रुपैयाँ, रिमा केसीको घरमा ९ हजार पाँच सय रुपैयाँ, शिवलाल कामीको घरमा २२ हजार पाँच सय रुपैयाँ, गोर्खे कामीको घरमा १७ हजार पाँच सय रुपैयाँको क्षति भएको इप्रका फारुलाचौरका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी वडा नं. ५ का इन्द्रा केसीको घरमा ४० हजार रुपैयाँ, खिरमा खड्काको घरमा २८ हजार रुपैयाँ, डिलबहादुर खड्काको घरमा ३४ हजार रुपैयाँको क्षति भएको इन्स्पेक्टर सिंहले जनाउनुभयो । घटनास्थल गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुन, इप्रका फारुलाचौरबाट गएको प्रहरी, जनप्रतिनिधि सहितको टोलीले क्षतिको पूर्ण विवरण सङ्कलन गरेको थियो ।

हावाहुरीका कारण क्षति भएका नागरिकलाई तत्काल आवासको सहजताका लागि गाउँपालिकाले त्रिपाल वितरण गरेको छ । आवश्यक थप सहयोगका लागि गाउँपालिकाले पहल गर्ने उपाध्यक्ष शर्मा ओलीले बताए।

प्रतिकृया

प्रतिकृया