बाँके
२८ जेठ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख बराबर घुस माग गरेको आरोप लागेको छ ।

साल, सिसौलगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।


ADVERTISEMENT

   


आयोगले अध्यक्ष र कोषाध्यक्षलाई बिगोबमोजिमको जरिवाना र कैद सजायकोसमेत माग गरेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । यस्तै आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलाशमा कार्यरत बालमनोविज्ञ शान्तिदेवी अधिकारीले बालमनोविज्ञान प्रतिवेदन सरलरुपमा तयार पारिदिइ छिटो पेशी गराइदिन्छु भनी सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उहाँलाई घुस रकमसहित सिद्धार्थनगर–८ स्थित नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रको गाडी ग्यारेजबाट घुस रकमसहित पक्राउ गरेको हो ।

प्रतिकृया

प्रतिकृया