आशिष केसी,तुलसीपुर
२५-भदौ / नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ ।

पछिल्लो समय विद्युत चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाई गरेको विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दीपकजंग चौधरीले बताए ।

उनका अनुसार चुहावट रोक्न टोली परिचालन गरिएको समेत बताए । ‘विद्युत चुहावट पनि प्रमुख समस्या हो’ उनले भने ‘यसलाई न्यूनिकरण गर्नतर्फ हामीले टोली पनि परिचालन गरेका छौं, धेरैलाई कारवाही पनि गरेका छौं ।’ गएको आर्थिक बर्षमा ४७ वटा चुहावट कारबाही गरिएको प्रमुख चौधरीले बताए । जसबाट ४ लाख ९२ हजार ४ सय १२ रुपैयाँ असुल गरिएको थियो ।


ADVERTISEMENT

   


प्रमुख चौधरीका अनुसार अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा ३०.८६ प्रतिशत चुहावट रहेको थियो । भने गएको आर्थिक बर्ष २०७५÷०७६ मा त्यसलाई २१.६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९.३० प्रतिशत कायम राख्न सफल भएको बताए ।

उनका अनुसार बजार क्षेत्रभन्दा गाउँमा बढि चुहावट हुने गरेको छ । गएको बर्ष सबैभन्दा बढि गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फुलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।

विद्युतको पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताए । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरि चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको उनको भनाई छ । स्थानीयको सूचनाका आधारमा त्यसरी कारवाही गर्न थालिएको हो । कारवाही गरिएकाहरुबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढि चुहावट हुने गरेको उनको भनाई छ ।

जतिबेला पानी तान्ने मोटरलगायत अन्य ईलेक्ट्रोनिक्स सामग्री बढि प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तिमा २ हजारदेखि बढि जरिवाना रहेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युतलाई राजश्वमा घाटा समेत लाग्ने गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ भन्दा ११.५६ प्रतिशत घाटा कम गर्न सफल भएको प्रमुख चौधरीले बताए ।

साथै उनका अनुसार अघिल्लो आर्थिक बर्षभन्दा यस बर्ष ग्राहको संख्यामा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा ३५ हजार ७ सय ५६ ग्राहक संख्या रहेकोमा गएको आर्थिक बर्षमा ग्रहाकको संख्या ३८ हजार ९ सय ९१ भएको छ ।

उनका अनुसार अघिल्लो आर्थिक बर्षमा ग्राहस्थ तर्फ ग्राहक संख्या ३४ हजार ९ सय १४ थिए भने गएको बर्ष ३८ हजार ९४ रहेका छन् । त्यस्तै व्यापारिक तर्फ एकसय ५५ बाट बढेर एकसय ६८, गैह्र व्यापारिक तर्फ एकसय ६४ बाट बढेर एकसय ७०, औधोगिक तर्फ तीनसय ४७ बाट बढेर ३ सय ७१, सिंचाई तर्फ ८० बाट बढेर ८६, खानेपानी तर्फ २८ बाट बढेर २९, मन्दिर तर्फ ३३ बाट बढेर ३४, सामुदायिक तर्फ २९ बाट बढेर ३४, अस्थाई तर्फ ४ बाट बढेर ३, सडकवत्ती तर्फ आर्थिक बर्ष २०७४÷०७५ मा १ थियो भने गत आर्थिक बर्ष २०७५÷७६ मा १ नै रह्यो र आन्तरिक खपत पनि १ नै रहेको छ ।

प्रतिकृया

प्रतिकृया