दाङको बिकटका रुपमा नाका क्षेत्रलाई पनि लिईन्छ । जहाँ शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासले पछाडी परेको परेको छ । नाकाको विकासका लागि ‘नाका क्षेत्र विकास कार्यक्रम’ पनि सञ्चालन भयो, भने अन्य धेरै कार्यक्रमहरु सञ्चालन भए । तर ती कार्यक्रमले नाकालाई सम्बोधन गर्न सकेनन् । अझै पनि नाकावासी भारतको साहारामा बाँच्नु पर्ने अवस्था छ । नुनदेखि सुनसम्म भारतकै भरपर्नुपर्ने अवस्था नाकामा छ । अहिले नाकामा टेलिफोन टावरले काम गर्दैनन्, भारतीय फोन प्रयोग गर्नुपर्ने अवस्था छ । नाकामा प्रहरी चौकी पनि छैनन् । नाकावासी भारतको दमनमा पर्नुपर्ने अवस्था छ । नाका क्षेत्रमा सर्पको टोकाईबाटै वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । नजिकमा सर्पदंश उपचार केन्द्र नहुँनु, सडक सञ्जालको विकास नहुँुनु, सञ्चारको पहुँचमा नहुनुले नाकावासीले पीडा खेप्नु परेको छ । बिरामी पर्दा उपचारका लागि भारत पुग्ने पर्ने छ । दाङको नाका क्षेत्रलाई दाङको सदरमुकाम बिरानो लाग्छ ।

कुनै समय दाङको कोईलावास नाका साविक राप्तीको ब्यापारिक केन्द्र थियो । तर अहिले सुनशान छ । त्यहाँ सडक सञ्जालको विकास नहुनु, नाकाको विकासमा ध्यान नदिनुजस्ता कारणले नाका क्षेत्र पछिल्लो समय सुनसान बन्न पुगेको हो । अहिले त्यो नाका एउटा ढेब्लीमा सीमत बन्न पुगेको छ । यसले नाका क्षेत्रको विकासमा ठूलो धक्का पु¥याएको छ । नाका क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र पनि बन्न सक्छन् । त्यसका लागि सडक सञ्जालको विस्तार प्रमुख कुरा हो । अहिले दाङका २१ वटा नाकामा सडकको नयाँ ट्रयाक पनि खोलिएको छ । केही सडकहरुलाई पक्की बनाउने पनि तयारी थालिएको छ । हुलाकी राजमार्गले पनि नाका क्षेत्रलाई छोएको छ । यसले पनि नाकाको विकासमा केही टेवा पु¥याएको छ । यसरी पछिल्लो समय नाकाको विकासले गति लिनु पनि सुखद् पक्ष हो ।

केही दिन अघि मात्रै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले दाङको नाकाको एक विद्यालय उद्घाटन गर्न पुगे । जहाँ उनी कुनै ठाउँ मोटरसाईकल तथा कुनै ठाउँ हिड्दै पुगेका थिए । नाका पुग्न उनले निकै संघर्ष गर्नुप¥यो । यसले प्रदेशका मन्त्रीले नाकाको अबस्थालाई प्रत्येक्ष रुपमा नियाल्ने मौका मिल्यो । यसरी प्रदेशमा प्रभाव पार्ने राजनीतिक नेतृत्वले नाकाको अवस्थाका बारेमा बुझ्नु त्यहाँका जनताका लागि पनि खुसीको कुरा हो । जसरी मन्त्रीलाई त्यहाँ पुग्न कठीनाई भएको थियो, त्यसरी नै त्यहाँका जनताले दुःख, बिरामी पर्दा त्यो अवस्था व्यहोर्नु पर्ने अवस्था छ । त्यस क्षेत्रबाट केन्द्रीय, प्रदेश तथ स्थानीय तहका जनप्रतिनिधहरु निर्वाचित भएका छन् । त्यहाँका जनप्रतिनिधिहरुले पनि नाकाको विकासका लागि ध्यान दिएको पाईन्छ । यसरी नाकाको विकासमा सबैले ध्यान दिनु सकारात्मक पक्ष हो । तर यसलाई मात्रै उपलब्धी मान्नु पर्ने अवस्था भने छैन् । चिल्लो कारमा सवार हुने हामी एक दिन मात्रै नाका पुगेर हिडेर मात्रै त्यहाँको पीडा बुझ्न गाह्रो छ । दाङको नाकाको वास्तविक बिजोग बुझ्न महिनामा एकपटक प्रत्येक नाकामा पुग्यौं, भने मात्रै थाहा पाउन सकिन्छ । त्यसैले हामीले पहिले नाकाका पीडाको अध्ययन गरौं र नाकाको विकासमा दत्तचित्त भएर लागौं । नाकाबासीको पीडालाई सम्बोधन गरेमात्रै हाम्रो समृद्धिका नाराले सार्थकता पाउने छ ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया