तुलसीपुर
१० मंसिर / यातायात ब्यबस्था कार्यालय दाङमा करिब साढे एकहजार अटो रिक्सा दर्ता भएका छन् । प्रदेश ५ अन्तर्गत यातायात ब्यबस्था विभागका अधिकृत तुलसीराम देवकोटाका अनुसार दाङमा एक हजार चारसय ५५ अटोरिक्सा दर्ता भएका छन् । दर्ता नभएर सञ्चालन भएका सवारीको सङ्ख्या अझै बढी भएको अनुमान गरिएको छ ।
उनका अनुसार यातायात व्यवस्था कार्यालय, बुटवलमा ४० इ–रिक्सा र १०५ थान इ– स्कुटर दर्ता भएका छन् । उनका अनुसार प्रदेश नं. ५ का स्थानीय तहमा नै सिफारिस लिएर इ–रिक्साको दर्ता शुरु गरेपछि विद्युतीय सवारी दर्ता गर्नेक्रम घट्दै गएको जानकारी दिए ।
सङ्घीय सरकारको नीतिबमोजिम नै ती विद्युतीय सवारी दर्ता भएको र प्रदेशमा त्यसको लागि छुट्टै संयन्त्र नभएको अधिकारीले उल्लेख गरे । प्रदेश सरकारले इ–रिक्साको व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । प्रदेश सरकारको छुट्टै नीति नभएको कारण पनि स्वतःस्फुर्तरुपमा विद्युतीय सवारी सञ्चालन भएको बताइएको छ ।