रमेशकुमार अधिकारी
नेपाल भ्रमण बर्ष, २०२० सफल बनाउन तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे ‘घुम्न जाउँ तुलसीपुर’ को नाराका साथ कस्सिएर लाग्नु भएको छ । यो नाराले के दर्शाउछ भने गत जनवरीदेखि हरेक महिना पर्यटक आकर्षित गर्ने कार्यक्रमहरु तुलसीपुरमा आयोजना भैरहेका छन् । यो क्रम आगामी डिसेम्वर सम्म जारी रहने छ ।

पर्यटन स्वभावैले आर्थिक विकासको एक सशक्त आधारशीला हो । व्यक्तिको आर्थिक औकात वा सामथ्र्य बढ्दै जाँदा उसले आनन्द र खुशीका उपायहरुमा बढी खर्च गर्न थाल्दछ । त्यसको लाभ पर्यटन क्षेत्रले जति उठाउन सक्यो त्यति नै पर्यटन व्यवसाय फस्टाउँदै जान्छ । पर्यटन व्यवसाय फस्टाँदै जाँदा लगानी, उत्पादन, रोजगारी र आयआर्जनका अवसरहरु पनि विस्तार हुन थाल्दछन् ।

प्रकृति र संस्कृतिले हाम्रो देश वैभवशाली छ । त्यसमा पनि एशियाको ठूलो उपत्यकाको रुपमा दाङको चिनारी छ । दाङको प्राकृतिक बनोटले जो कोहीलाई पनि लोभ्याउछ । दाङमा मूर्त तथा अमूर्त सम्पदाहरुको अथाह भण्डार छ । त्यसैले दाङ हेर्ने रहर स्वदेशी-विदेशीजो कोहीमा पनि पैदा हुन सक्छ ।

ADVERTISEMENT


 


 


दाङमा मौजुद पर्यटकीय सम्पदाको भरपुर उपयोग गरेर पर्यटकहरुको मस्तिष्कमा तुलसीपुरलाई विम्वित गर्न ‘घुम्न जाउँ तुलसीपुर’ को नारा आकर्षक छ । यसलाई सार्थक बनाउन पर्यटनलाई चार आयामबाट बुझ्नु पर्दछ । ती चार आयाम भनेका सुन्दरता, सूचना, सुरक्षा र सुविधा हुन् । पर्यटनका चार आयामलाई चार चरणबाट सङ्सङै अघि बढाउनु पर्दछ । ती चार चरण भनेका अवेरनेस (जागरण)–रेडिनेस (तयारी)–विजिनेस (व्यवसाय)–ह्याप्पिनेस (खुशी) हुन् । उल्लेखित चार आयामलाई मध्यनजर गरेर चार चरणलाई गुणस्तरीय बनाउन सकेमा निसन्देह त्यसले पर्यटनलाई फलिफाप बनाउँछ । यसरी अवधारणात्मक कुरा गरी सके पछि अब म बसमा यात्रा गर्दाको अनुभवलाई यहा जोड्न चाहन्छु ।

गत पुस महिनाको आखिरी तिरको कुरा हो । म दाङ जान काठमाण्डौ–दाङको दिवा सेवाको डिलक्स बसमा चढे । कम्पनीको नाम ‘नमस्ते राप्ती’ भने पनि कसैको नमस्ते भाव पाउन सकिन । गाडी बसपार्कबाट अघि बढ्यो । कलङ्कीमा ट्राफिक प्रहरीले चेक गर्दा उक्त डिलक्स बसको ब्लु बुक र चालकको लाईसेन्स पनि साथमा नरहेको भन्ने बुझियो । केहि वेर स्टाफ र ट्राफिकको भनसुनको दृष्य देखियो । केही वेरमा दुवै पक्ष बसको पछाडी तर्फ गएको देखियो । एक छिनमा गाडी चल्यो । पछि बसका स्टाफले हजार रुपैयाँमा कुरा मिलाएर गाडी कलङ्कीबाट प्रस्थान गराएको कुरा मोबाइलबाट कसैलाई भनेको सुनियो ।

पर्यटक वा यात्रुहरु समयमा पँहुच, स्टाफको शिष्टता र सहयोग, बस भित्रको सरसफाई, स्वच्छ भोजन र आरामदाई सिट, सुरक्षित यात्रा एवम् उक्त यातायातमा कम्पनीले उपलब्ध गराउने भनेर विज्ञापन गरेका वाईफाई, वासरुम, एसि जस्ता सुविधाको उपभोग गर्न पाउने अपेक्षा राख्दन् । दृष्टान्तको रुपमा मैले यात्रा गरेको बसमाथी सरोकारका विषयलाई खासै ख्याल गरेको पाईएन । आवश्यक कागजात साथमा नराखेको कुराले असुरक्षित यात्राको भय रहिरह्यो । यो अनुभव कसैको टिकाटिप्पणी गर्ने आसयले यहाँ उल्लेख गरेको होईन । यस्ता हाम्रा पाईलापाईलामा रहेका झिना मसिनालाग्ने तर गम्भीर असर पार्ने विसङ्गतिलाई सुधारौ भन्ने मनसायले उल्लेख गरेको हुँ ।

त्यसैले पर्यटनका चार आयाम (सुन्दरता–सूचना–सुरक्षा–सुविधा)लाई समेटेर चार चरण (जागरण–तयारी–व्यवसाय–खुशी) लाई परस्पर सहयोगी हुने गरी पर्यटनका स्टेकहोल्डरहरुले आ-आफ्नो जिम्मेवारी बहन गर्नु पर्दछ । चार आयामलाई अलिविस्तृत रुपमा बुझ्नु पर्दछ । पहिलो आयाम सुन्दरता हो । पर्यटकले हरेक कुरामा सुन्दरताको अपेक्षा गर्दछन् । व्यक्तिका स्वभाव र शैलीमा सुन्दरता झल्किनु पर्दछ । गन्तव्य स्थलमा सुन्दर दृष्य देखिनु पर्दछ । नेपालका जुनसुकै ठाउँ प्राकृतिक रुपले सुन्दर छन् । मानव निर्मित संरचनालाई भने सुन्दर बनाउन जरुरी छ । मानिसको व्यवहारलाई सुन्दर बनाउन त झन धेरै बाँकी छ ।

दोश्रो आयाम सूचना हो । पर्यटकले घुम्न जाने ठाउँको बारेमा जोडिएका सबै प्रकारका सूचना प्राप्त गर्न चाहन्छन् । यस निमित्त पर्यटकिय गन्तव्यका बारेमा आधिकारिक सूचनाको संग्रह, प्रकाशन र प्रशारणको अद्यावधिक रुपमा भै रहनु पर्दछ । त्यस प्रकारको आधिकारिक सूचना सबैले दिन सक्नु पर्दछ । ‘घुम्न जाउँ तुलसीपुर’ को सन्दर्भमा सिङ्गै दाङका निकाय र नागरिक सूचना प्रवाहमा समाहित हुन पर्दछ ।

पर्यटकका लागि तेश्रो महत्वपूर्ण आयाम सुरक्षा हो । पर्यटकले गन्तव्यमा जाँदा आफ्नो जीउधन सुरक्षाको प्रत्याभूति चाहन्छन् । यो विषय भावना र भौतिकदुवै रुपमा सुनिश्चित गरिनु पर्दछ । सानो बदमासी कहिकतैबाट भयो र त्यसले पर्यटकलाई क्षेती पुरायो भने त्यसबाट फैलने नकारात्मक सन्देशले परिचय र प्रतिष्ठामा ठूलो क्षति पुराउँछ । त्यसैले प्रहरी लगायतका सुरक्षा संयन्त्र र स्थानीय समुदाय यस विषयमा अत्यन्त संवेदनशील भै सुरक्षा वन्दोवस्त भरोसा योग्य बनाई रहनु पर्दछ ।

चौथो महत्वपूर्ण कुरा सुविधा हो । हाम्रो अभियानको नाम नै ‘घुम्न जाउँ तुलसीपुर’ भएकाले टाढा–टाढाका पर्यटकलाई हामीहरुले आमन्त्रण गरि रहेका छौं । तुलसीपुर पुग्न कुन माध्यम उपयुक्त हुन्छ भनेर सूचना केलाउँछन् र यातायातको छनोट गर्छन् । दाङ चल्ने हवाई जहाजको क्षमताले गर्दा अधिकांश पर्यटक सार्वजनिक सेवामा रहेका बस अथवा भाडाका जीपको प्रयोग गर्ने अनुमान लगाउन सकिन्छ । यातायातको वर्तमान अवस्था बारे आफ्नो अनुभव उल्लेख गरेर यातायातलाई पर्यटक मैत्री बनाउन संवद्ध पक्ष लाग्नु पर्दछ भन्ने आसय व्यक्त गरी सकेको छु ।

सुविधाको कुरा गरी रहदा पर्यटकका लागि होटेल अर्को महत्वपूर्ण पक्ष हो । म नेपाल पर्यटन बोर्डमा प्रमुखको जिम्मेवारी सम्हालेका बखत निजी क्षेत्रका पर्यटन व्यवसायीको टोलीको नेतृत्व गर्दै सिङ्गापुर गएका बखत त्यहाँका अथोरिटीले नेपाल प्रकृतिले सजिएको सुन्दर देश भ्रमण गर्न त ईच्छा हुन्छ तर होटलका तन्ना र टवेल सफा हुँदैनन् भनेर हाम्रो कमजोरी आंैल्याएको कुराले मलाई ठूलो सिकाई भएको छ । त्यसैले होटेलका बेडरुम र खानामा बदल्नु पर्ने सरसफाई र स्वच्छतामा कहिल्यै पनि खेलवाड गर्न हुँदैन । यसरी पर्यटनको आयाम विशाल छ । यो अन्तर आवद्धित विषय हो । यो सबैको साझा जिम्मेवारीको विषय हो । पर्यटनको आलोकमा कोही पनि तटष्थ वा अछुतो हुन पाउँदैन र सक्दैन । बाटोमा हिडदै गर्दा पर्यटकले केही सोध्यो भने नम्र र सहयोगी भएर सही सूचना दिनेदेखि लिएर पर्यटकका सरोकार र रहरकातमाम विषयलाई सुन्दर र शिष्ट तरिकाले संवोधन गर्दै अतिथि देवो भवःको मर्यादाका साथ खुशी बनाउन असाध्यै सावधानीका साथ पर्यटन व्यवसाय चलाउनु पर्दछ ।

यस निमित्त सर्वप्रथम सबै दंगाली मेरो तुलसीपुर भन्ने भावनाले जोडिनु पर्दछ । एकात्मक भावनाको बाढी उर्लनु पर्दछ । तुलसीपुरको आभाले दाङको मुहार उज्यालो बन्छ भन्ने चेतनाले संपोषित हुनु पर्दछ । भावनाले उर्जाशील र उत्साहित भए पछि आफ्ना सोंच र कर्म सकारात्मक रुपले क्रियाशील हुन्छन् ।

घोराही र तुलसीपुर शरीर रुपी दाङका दुई आँखा हुन् । यी दुईको समदृष्टीले सुन्दर दृष्यको आश्वादन गर्न सकिन्छ । घोराही र तुलसीपुरको मनोवैज्ञानिक विभाजनको अवशेष रहदा सम्म समदृष्टी बन्न सक्दैन । समदृष्टी नवन्दा सम्म दाङको समृद्धि धिमा बन्न जान्छ । समदृष्टी नवनेका कारण विगतमा हाम्रा मेघा परियोजनाको पभाजनमा परेका छन् ।

पर्यटकीय आखाबाट हेर्दा अहिले दाङमा टुरिजम् फ्रेण्डलीअवेरनेस र रेडिनेसको अवस्था काम चलाउ मात्र छ । गुणस्तरीय छैन । तसर्थ “घुम्न जाउँ तुलसीपुर”को अभियानलाई ध्यानमा राखेर शहर देखि गाउँ–बस्तीसम्म पर्यटनका चरणलाई सघन र गुणात्मक बनाउन जरुरी छ । जागरण चरणलाई प्रभावकारी बनाउन संचार माध्यमबाट नित्य रुपमा संप्रेषण हुने सन्देशले अहम् भूमिका खेल्दछ । संचार माध्यमबाट संप्रेषण हुने सामग्रीले प्रत्येक व्यक्तिको मनमा ‘घुम्न जाउँ तुलसीपुर’ लाई आसन जमाउन सक्नु पर्दछ । यस निमित्त विज्ञापन र बजारीकरणका उपायलाई व्यापक बनाउन जरुरी हुन्छ । तयारी चरण मानवीय र भौतिक रुपले पुरा गर्नु पर्दछ । तयारी चरण राम्रो भएको अवस्थामा व्यवसाय चरण स्वतः राम्रो हुन्छ । व्यवसाय चरण राम्रो भए पछि स्वतःखुशीको चरणमा पुगिन्छ ।

यो लेखको शीर्षक ‘घुम्न जाउँ तुलसीपुर–कर्तव्य सम्झाउने अभियान’ भनेर राख्नुको तात्पर्य पनि पर्यटनका चार आयाम र चार चरणका लागि हाम्रा सोंच र कर्म समभावले निर्देशित बनुन् तथा निकाय र नागरिक बीच लय र तालमिल्न सकोस भनेर नै हो । जसरी सङ्गीतमा लय र ताल मिल्यो भने गित सङ्गीतको माधुर्यता प्रकट हुन्छ त्यसरीनै पर्यटनमा अन्तर निकायलय र तालमिल्यो भने अभियान फलिफाप हुन सक्छ । ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सफल बनाउन कस्ले के–कस्तो कर्तव्य निभाउनु पर्दछ भन्ने कुरामा सरोकारवाला स्पष्ट भएर आ–आफ्ना जिम्मेवारी सम्पादन गर्ने हो भने दाङको पर्यटन विकासका लागि ‘घुम्न जाउँ तुलसीपुर’ कोशेढुङ्गा सावित हुन सक्छ । त्यसैले दाङका सरकारी, निजी, समुदाय र सञ्चार क्षेत्रको सोंचमा समझदारी र सम्पादनमा सहकार्य हुनु पर्दछ । हार्डवर्क, टिमवर्क र नेटवर्क सुदृढ बन्नु पर्छ ।

जसले पनि, जहिले पनि, जहापनि र जसरी पनि सकारात्मक, शिष्ट र सहयोगी भएर सेवाभावका साथ आफ्नो जिम्मेवारी सम्पादन गर्ने हो भने अभियानले सार्थकता पाउने निश्चित छ । सार्वजनिक सेवामा रहेकाले त झन त्रुटी रहित भएर कर्म गर्न जरुरी छ । आशा गरौं ‘घुम्न जाउँ तुलसीपुर’ अभियानले हामी सबैलाई सकारात्मक सोंच र व्यक्तिगत स्वार्थ रहित भएर कर्तव्य पुरा गर्न बारम्बार सम्झाउने छ । हामीहरु तदनुरुप रुपान्तरित हुँदै ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई सफल बनाउन समर्थ हुनेछौं ।

प्रतिकृया

प्रतिकृया