रमेशकुमार अधिकारी

विकासले मानिस र ठाउँ दुवै बदल्नु पर्छ र राम्रोबाट अझ राम्रो अवस्थामा पुराउन सक्नुपर्छ भन्ने चेत म भित्र पहिलेदेखि नै थियो । २०५२ सालमा विकसित देश जापान भ्रमण गर्ने अवसर मिल्यो । यस भ्रमणमा कस्तो परिवर्तनले एउटा राष्ट्र विकसित हुन सक्छ भन्ने दृष्य छर्लङ्ग भयो । शहरका सुविधा त मेरो अनुमान भन्दा धेरै फरक थिएनन् । तर नदीनाला, खेतिवारी, तालतलैया, खाली जमिन तथा वनजंगलको संरक्षण र सजावट भने मेरो अनुमान भन्दा धेरै गुणा समुन्नत थिए ।

 

त्यसरी विकासित देश जापानको समृद्धिको सुन्दर दृष्य देखेका मेरा आँखा आफ्नो देशमा पनि त्यस्तै दृष्य देख्न कहिले पाईएला भनेर सधैँ लालयित छन् । तर सङ्सङै के पनि थाहा छ भने जसरी एउटा नवजात शिशुको उमेर बढ्दै जाँदा विछौनामा उत्तानो परेर मात्र सुत्ने अवस्थाबाट क्रमशः फर्किन थाल्छ, बस्न थाल्छ, बामे सर्छ, उभिन्छ, पाईला सार्छ, हिड्न थाल्छ र दर्गुछ त्यसरी नै विकास पनि क्रमशः हुँदै जाने हो । यही चेतनावोधले धैर्य गर्न सिकाई रहेको छ । यसरी धैर्य गर्दा पनि स्वीकार्नै पर्ने सत्य के हो भने जापान जस्तै नेपाल विकसित हुन त धेरै बर्षको यात्रा गर्नु पर्ने छ ।

 

जापानीहरु काममा असाध्यै अनुशासित र मेहनती हुन्छन् । राष्ट्रलाई समृद्ध बनाउने लक्ष्यका साथ अत्यन्तै सशक्त टिम बनाएर काम गर्छन् । जापानी समाजमा भ्रष्टाचार प्रति शून्य सहनशीलता छ । त्यस्तो चरित्र नेपाली समाजमा भै दिएको भए हामी पनि समृद्ध भै सक्थ्यौ । तर हाम्रो परिवेश, प्रणाली र प्रवृत्ति फरक छ । जुन कामलाई पनि विलम्ब गर्न लाजै नमान्ने हाम्रो बानीले गर्दा हाम्रो समय वर्वाद भैरहेको छ । विलम्वताको रोगले सरकार र समुदायका सबै अङ्ग ग्रसित छौँ ।

 

अहिले नेपालमा मानिस र ठाउँलाई राम्रोबाट अझ राम्रो बनाउने लक्ष्यका साथ विकासका कार्यक्रमहरु कार्यान्वयन भै रहेका छन् । यद्यपी ‘कन्टेन्ट र कभरेज’ का दृष्टिले कार्यक्रमको प्रकार र आकार सानो देखिन्छ । तथापि आउँदा दिनमा ‘कन्टेन्ट र कभरेज’ दुवै बढ्दै जालान् भन्ने विश्वासका साथ हाम्रो देशका नदीनाला, खेतवारी, तालतलैया, खाली जमिन र वनजंगलको अवस्था पनि सुन्दर रुपले सजिने छ र संरक्षित हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

 

विकासको एउटा राम्रो दृष्टान्त बन्न सक्ने गरी दाङमा भै रहेको नदी नियन्त्रण/संरक्षण कार्यक्रमलाई यस लेखको विषय वस्तु बनाएको छु । पाठकहरुलाई लाग्न सक्छ कि आखिर कुरा एउटा कार्यक्रमको रहेछ तर भूमिका किन यति धेरै बाँधेको होला ?  यसरी भूमिका बाध्नुको तात्पर्य के हो भने विकासमा समयको  विलम्बता अक्षम्य अपराध हो । त्यसैले जापानीहरु जस्तै नेपालीहरुले पनि समयको सम्मान गर्न जान्नु पर्दछ भन्ने चेतना जागृत गराउन जापानको सन्दर्भ जाडेको हुँ ।

 

अब मुल विषयबस्तुको चर्चा तर्फ लागौं । दाङ उपत्यकामा नदी, खोला तथा स–साना सोताहरुको संख्या उल्लेख्य छ । यहाँ तालतलैया पनि छन् । कृत्रिम पोखरी पनि प्रशस्त छन् । आफ्नो समयका विद्वान लेखक स्वर्गीय मेघराज न्यौपानेले लेख्नुभएको ‘दाङ–देउखुरीको भूगोल’ नामक पुस्तकमा दाङका नदी तथा खोलाहरुको वारेमा यथेष्ट वर्णन गरिएको छ । दाङका नदी तथा खोलाहरुको बहाव चरित्र हेर्दा बबई नदी पूर्व–पश्चिम भएर र अन्य सबै उत्तर दक्षिण भएर बगेका छन् । दाङका उत्तर दक्षिण बग्ने खोलाहरु लगाम विनाका घोडा जस्तै छाडा छन् । त्यसैले अधिकांश खोलाहरुको बगर ज्याँदै चाख्ला देखिन्छन् । हापुर खोला, गुहार खोला तथा पातुखोला नाम चलेका ठूला खोला हुन् । यी खोलाले बर्षातको समयमा उग्ररुप देखाउँछन् । आवादी जमिन कटान गरेर बर्षेनी धेरै नोक्सानी पु-याउँछन् । अन्य खोला तथा सोताहरु पनि बर्षातको समयमा वयष्क बन्छन् र विध्वंशकारी पराक्रम देखाउँछन् । तर हिउँदमा शिथिल हुन्छन र बर्षातको तुलनामा दशांस पनि पानी देख्न पाईदैन ।

 

बैगुन जे–जति भए पनि मानव वस्ती र अन्नवालीका प्राण शक्तिका श्रोतको रुपमा नदी, खोला तथा सोताहरु रहेका छन् । सबै नदी, खोला तथा सोताको पानी खेतबारीमा सिंचाई गर्न प्रयोग गरिन्छ । खोलामा बाँध बाँधेर कुलाबाट पानी लगेर सिंचाई गर्ने दाङकोअघि देखिको चलन हो । यो परम्परागत चलनमा बाँध बान्न बन पैदावारको प्रयोग हुने भएकाले वन माथिको निर्भरता अत्यधिक थियो । तर पछिल्ला दशकमा सिंचाई आयोजना कार्यान्वयन भएर पक्की बाँध तथा नहरको निर्माण गरेर सिंचाई प्रणालीमा सुधार भैरहेको अवस्था छ ।

 

पछिल्लो समयमा नदी तथा खोलाका ढुङ्गा तथा बालुवा अत्यधिक दोहन गरिएकाले नदी तथा खोलाको प्राकृतिक स्वरुप कुरुप भएको छ र पानीको मात्रा झन् घटेको छ । एकातर्फ वस्तीहरु शहरी स्वरुपमा सुन्दर देखिदै गएका र अर्कोतर्फ बस्तीकै बीचमा वा छेवैका नदी तथा खोलाहरु कुरुप बन्दै जाँदा यत्रतत्र शहरी सौन्दर्य तथा वातावरणीय सन्तुलन समेत खलबलिएको अवस्था छ । यिनै परिदृष्यका बीच पछिल्ला दशकमा जल उत्पन्न प्रकोप नियन्त्रण, नदी नियन्त्रण/संरक्षण, जलाधार संरक्षण, भू-संरक्षण जस्ता सरकारी कार्यक्रमका माध्यमबाट नदी तथा खोला नियन्त्रण तथा संरक्षणका काम हुँदै आएका छन् । तर यी कार्यक्रमहरु सिङ्गो नदी वा खोलालाई लक्षित गरेर कार्यान्वयन हुने नभै नदी वा खोलाले क्षती पु-याएको ठाउँमा मात्र कार्यान्वयन हुने गरेका छन् ।

तर यतिखेर भने प्रदेश सरकारले सिङ्गो खोलालाई कार्यक्रमले समेट्ने गरी नदी नियन्त्रण/संरक्षणको अभियान  चलाउन थालेको छ । यस क्रममा सेवार खोला र बहुला खोलाको नियन्त्रण/संरक्षणको काम अहिले धमाधम भैरहेको छ । जुन चर्चा गर्न लायक छ । यिनै दुई खोलाको सन्दर्भ उप्रान्तका अनुच्छेदमा प्रस्तुत गरेको छु ।

 

घोराहीको मुख्य बजारदेखि पश्चिम तर्फ रहेको सेवार खोला फराकिलो बगर भएको खोला हो । पहिले–पहिले यो खोलामा ढुङ्गा प्रशस्त देखिन्थे । तर पछिल्लो समयमा शहरीकरण बढ्दै जाँदा निर्माण सामग्रीको रुपमा ढुङ्गाको माग बढेका कारण त्यसको चाप खोलामा पर्न गयो र अहिले खोलामा ढुङ्गा देखिन छाडेका छन् । चाख्लो बगर, ढुङ्गा विहिन अवस्था एवं थोरै भागमा मात्र पानी बग्ने भएका कारण खोलाको स्वरुप भद्दा हुँदै गएको थियो ।

 

घोराही बजार आधुनिक शहरमा रुपान्तरण हुँदै गर्दा सेवार खोला भने पुरानै स्वरुपमा रही रहनु पटक्कै सुहाउने अवस्था थिएन । यही पृष्ठभुमिमा प्रदेश सरकारले सेवार खोला छनोट गरेर नदी नियन्त्रण÷संरक्षणको काम गरी रहेको छ ।

 

हाल भैरहेको तटबन्दको कार्यले खोलाको स्वरुप सुन्दर देखिन थालेको छ । खोलाका दायाँबायाँ किनारमा बनेका अग्ला ढिक सडकको रुपमा प्रयोग हुन सक्ने खालका छन् । ठूलो परिमाणमा जग्गा उकास भएको छ । उकास भएको जमिनमा वृक्षारोपण गरेर हराभरा बनाउन सकिने भएको छ । एवं रितले सेवार खोलालाई बबई नदीमा मिसिदासम्म पुरै तटबन्द गरी सक्दा सेवार खोलाको सुन्दरता दिव्य हुने छ । साथै खोलाको सौन्दर्यले घोराही शहर तथा आसपासका बस्तीहरुको शोभा बढ्ने र स्थानीय बासिन्दा सन्तुष्ट हुने निश्चित छ । यसले वातावरण सन्तुलन, शहरी स्वच्छता र सरसफाईमा समेत योगदान पु-याउने छ ।

 

यसैगरी तुलसीपुरदेखि पश्चिमको बहुला खोलामा पनि नदी नियन्त्रण/संरक्षणको काम अत्यन्त राम्रोसंग भैरहेको छ । खोलालाई निश्चित आयतनमा कायम गर्ने, वर्षातको समयमा उर्लने भेलको वेग नियन्त्रण गरेर क्षेती गर्नबाट जोगाउने र सो खोलामा परम्परादेखि चलनचल्तीमा रहेका सिंचाई कुलाहरुलाई उत्पादनशील बनाउन समेत हाल सञ्चालित कार्यक्रमले जोड दिएको छ । सो खोलामा अहिले भैरहेको तटबन्धको कामले खोलाको रुप सुन्दर बन्दै गएको छ । तटीय भू–भाग सुरक्षित भएको छ । खोलाको दुवै किनारमा गाडी गुड्न सक्ने गरी चाख्लो र बलियो ढिक बनाईएको छ । प्रशस्त जग्गा उकास भएको छ । वृक्षारोपण गरेर सिङ्गो खोलाको नागवेली स्वरुपलाई हराभरा बनाउन सकिने भएको छ । यसरी भै रहेका कामले के सङ्केत गरी रहेको छ भने बहुला खोला अब छिट्टै ‘वेहुला खोला’ मा रुपान्तरण हुँदै छ ।

 

यी दुई खोलाको नियन्त्रण/संरक्षणको कामले दाङ उपत्यकाका सबे खोला तथा नदीहरुलाई समेटेर अलग्गै  बहुवर्षिय परियोजना सञ्चालन गर्ने आवश्यकता महशुस गराएको छ । यसरी नदी नियन्त्रण/संरक्षणको काम हुँदा हजाराँै विगाह जग्गा उकास हुने निश्चित छ । सो उकास हुने जमीन हरियाली प्रबद्र्धनमा उपयोग गर्न सकिने देखिएको छ । यस निमित्त  प्रदेस सरकारले “दाङ उपत्यका नदी संरक्षण तथा सौन्दर्याीकरण परियोजना” संचालन गर्न उपयुक्त हुन्छ भन्ने लाग्दछ । स्थानीय सरकार, समुदाय तथा संचार माध्यमको सकारात्मक तथा सहयोगी भूमिकाले हाल कार्यान्वयन भैरहेका र भविष्यमा कार्यान्वयन हुने कार्यक्रम प्रभावकारी हुनेमा पक्कै पनि कसैको दुईमत नहोला ।  

प्रतिकृया

प्रतिकृया