रमेश कुमार अधिकारी
दाङ उपत्यका दिव्यताको विविध रुपले सजिएको छ । यहाँ प्रकृति र संस्कृतिकोे बेजोड सङ्गम छ । प्रकृतिको कुरा गर्दा भूगोलको प्राकृतिक स्वरुप र साजसज्जा पर्दछन् । अर्थात जमिन, जल, जङ्गल, जैविक विविधता, जनावर आदिको समष्टीलाई प्रकृतिको रुपमा गणणा गरिन्छ । यी सबैमा दाङ सम्पन्न छ । यसै गरी संस्कृति मानव निर्मित सम्पदा हो । मानिसका दैनिक आदत, व्यवहार, संस्कार, संस्था र संरचनाहरु समयक्रमसँगै समुदाय स्तरमा रिति स्थिति र संस्कृतिको स्वरुपमा विकास हँुदै जान्छन् । संस्कृति समृद्ध हुँदै जाँदा सभ्यताको विकास हुन्छ । संस्कृतिका विविध साजसज्जाले पनि दाङ उपत्यका सुशोधित छ ।

दाङ उपत्यकाको दिव्यताका विविध रुपको सविस्तार चर्चा गर्दा सर्वप्रथम यसको अवस्थिति वारे उल्लेख गरौं । यो उपत्यका उत्तरतर्फ महाभारत पर्वतमालाले अर्धचन्द्राकार स्वरुपमा र दक्षिणतर्फ चुरे पर्वत श्रृङ्खलाले घेरिएको विशाल समथर भू–भागको रुपमा अवस्थित छ । यो उपत्यका एशियाकै ठूलो उपत्यकाको रुपमा गुगल ज्ञान संसारले विश्वलाई चिनाई रहेको छ ।

बनोटका हिसावले दाङ उपत्यका पूर्व–पश्चिम फैलिएको छ । पूर्व–पश्चिमको तुलनामा उत्तर दक्षिण अलि साँघुरो छ । यस उपत्यकाको पूर्व पश्चिमको लम्बाई ८० किलो मिटर छ । उत्तर–दक्षिण चौडाई अधिकतम ३० किलोमिटर सम्म छ । दाङ उपत्यकाको जम्मा क्षेत्रफल २४०० बर्ग किलोमिटर छ ।

उपत्यकाको भू–वनोट आकर्षक छ । महाभारत र चुरे पर्वत श्रृङ्खलाको पानीढल भू–भाग घना जङ्गल र बीचबीचमा ससाना बस्ती तथा खोलानालाले शोभायमान छ । उपत्यकाको समथर मैदानी भाग बसोबास, खेतीपाती तथा आधुनिक उद्यमशीलताका सबै आयामका लागि अत्यन्त सुगम छ । उपत्यकाको दक्षिण काखमा पूर्व पश्चिम भएर प्रवाहित भएकी बबई नदीमा उपत्यकाको उत्तरबाट दक्षिणतर्फ बगेका ठूला–साना खोलाहरु समाहित हुन्छन् । बबई नदी दक्षिण तर्फ पूर्व–पश्चिम भएर लम्पसार नभएको भए सायद उत्तरबाट दक्षिणतर्फ बगेका खोलाहरु सिधै चुरे पहाडलाई चिर्न पुग्थे र उपत्यका क्षत विच्छेद भएर कुरुप बन्थ्यो होला भन्ने लाग्छ ।

बबई नदीलाई भारतमा सरयु नदीको नामले पुकारिन्छ । भारतको ऐतिहासिक तथा धार्मिक शहर अयोध्या सोही सरयु नदीको तटमा अवस्थित भएका कारण सरयु नदीको पवित्रता र मर्यादा उच्च छ । सरयुको शिरको रुपमा बबई स्थापित भएबाट साँस्कृतिक रुपले बबईको महिमा उच्च छ । यसर्थ दाङ उपत्यको दिव्यता बढाउन बबई नदीलाइ बरदानको रुपमा लिन सकिन्छ । दाङ उपत्यकाको दक्षिण काखमा बबई नदीको तटमा पाण्डवेश्वर शिव मन्दिरको स्थापना महाभारत कालीन पाण्डवहरुले गरेको विश्वास गरिन्छ । हाल पाण्डवेश्वर धामको रुपमा आस्थाको धरोहर बनी रहेको यस धार्मिक क्षेत्रले दाङको दिव्यतालाई झलमल्ल बनाई रहेको छ ।

चौघरा स्थित सिद्धरत्न नाथ मन्दिर, मधेवा स्थित अम्बिकेश्वरी मन्दिर, बाह्रकुने दह स्थित वराह मन्दिर, तुलसीपुर स्थित त्रिसिद्धेश्वरी मन्दिरको मर्यादा र महिमाले दंगाली समाजको धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन प्रेरित गरिरहेका छन् । दाङ उपत्यकामा सबैभन्दा पहिले थारु समुदाय बसोबास गर्न थालेको विश्वास गरिन्छ । अहिलेसम्मका ऐतिहासिक अन्वेषण र तथ्यले यही पुष्टी गरेका छन् । यस उपत्यकामा थारु समुदायपछि बाह्मण समुदायको बसोबास हुन थालेको कुरा इतिहास बेत्ताहरुले औंलाएका छन् ।

यसरी ऐतिहासिक रुपमा थारु समुदाय दाङ उपत्यकाको प्रथम बासिन्दा हुन भने ब्राह्मण समुदाय दोश्रा हुन् । विक्रम सम्वत २०२० ÷२०२१ सालसम्म दाङ उपत्यकामा थारु समुदायको जनसंख्या सबैभन्दा धेरै थियो । सोही समयमा थारु समुदायका धेरै परिवार नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) तर्फ बसाई सर्दै गएकाले तत्पश्चातको समयमा थारु समुदायको जनसंख्यालाई अरु समुदायले उछिन्न थालेको हो । यद्यपि थारु समुदायको जनसंख्या अहिले पनि उल्लेखनीय छ । थारु समुदायको जीवनशैली, संस्कृति र सभ्यता मौलिक र जीवन्त छ । यस समुदायका मानिसको पेशा प्रतिको लगनशीलता र ईमान्दारिता उत्कृष्ट छ । जांगरिला र पौरखी पहिचान भएका थारु समुदायको मुख्य पेशा कृषि भएता पनि पछिल्ला दशकमा सवै भन्दा बढी पेशाको विविधीकरण भएको समुदायको रुपमा थारु समुदाय परिचित छ ।

पछिल्ला चालीस÷पचास बर्षमा दाङ उपत्यकामा बसाई सराई गरेर आउने मानिसहरुको संख्या उच्च रह्यो । उत्तर तर्फका सल्यान, प्यूठान, रोल्पा र रुकुमबाट अत्यधिक रुपमा बसाईसराई गरी आएका मानिसहरु उपत्यकाका विभिन्न ठाउँमा बसोबास गरिरहेका चन् । साथै अर्घाखाँची, गुल्मी र पाल्पा जिल्लाबाट बसाई सरी आएकाको संख्या पनि दिनानुदिन बढी रहेको छ । दाङ जिल्लाको जनसंख्या पौने छ लाखको अनुमान गर्दा सोको करिव सहत्तर प्रतिशत जनसंख्या दाङ उपत्यकामा बसोवास गरेको अनुमान गर्न सकिन्छ । अहिले यो उपत्यकामा बसोबास गर्नेहरुमा सवै प्रकारका जात जातिको मिश्रण छ ।

भाषा, भेषभुषा, खानपान, रितिस्थिति, संस्कार तथा सभ्यताका हिसावले दाङ उपत्यका सौन्दर्यमय छ । सहयोग, सहिष्णुता र सद्भाव जस्ता सामाजिक गुणहरुले दङाली समाज उत्कृष्ट छ । परम्परादेखि सालको पातको दुनापत्री गाँस्न, विभिन्न प्रकारका खाँदेका अचार बनाउन र थरी थरीका रोटी परिकार बनाउन दंगालीको सीप विशिष्ट छ । प्राकृतिक रुपले आकर्षक बनेको दाङ उपत्यकामा राजनीतिक÷प्रशासनिक हिसावले साविकमा जिल्ला सदरमुकामको रुपमा घोराही र अञ्चल सदरमुकामको रुपमा तुलसीपुर बजारको विकास भएको हो । अहिले जिल्ला सदर मुकामको हैसियत यथावत कायम रहे पनि अञ्चल सदरमुकामको हैसियत हराएको छ । किनकी राजनीतिक व्यवस्थामा आमूल परिवर्तन भएर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको छ । संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबाट मुलुकको शासन व्यवस्था चली रहेको छ ।

दाङ जिल्लामा जम्मा दश वटा पालिका रहेका छन् । ती मध्ये दुई उपमहानगर, एक नगर र सात गाउँपालिका छन् । दाङ उपत्यका भित्रको मात्र कुरा गर्दा राजनीतिक÷प्रशासनिक केन्द्रको परिचय बनाएका घोराही र तुलसीपुर दुवै शहर अलग–अलग उपमहानगरपालिकाको रुपमा रहेका छन् । यसैगरी दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पनि दाङ उपत्यकामा छन् ।

चर्मचक्षुबाट दाङको दिव्यता अवलोकन गर्न महाभारत र चुरे पर्वत श्रृंखलाका विभिन्न टाकुराहरु प्राकृतिक ‘भ्यूटावर’ का रुपमा अवस्थित छन् । पूर्वमा खारा लेक जस्को शिरलाई स्थानीयहरु मुडुले भनेर चिन्दछन्, मध्यभागमा छिलीकोट जहाँ मालिका–कालिका देवीको मन्दिर प्रतिष्ठित छ र पश्चिममा थर्कोट लेकका शिखर विन्दुबाट दाङ उपत्यकाको अवलोकन गर्दा अतुलनीय दिव्यताको अनुभूति हुन्छ । यी तीन शीर्ष बिन्दुका टाकुराका अतिरिक्त उपत्यकाको चारैतिर धेरै त्यस्ता टाकुरा छन् जहाबाट दाङको दिव्यताको भरपुर आश्वादन गर्न सकिन्छ । समथर भूभाग अर्थात पहाडका पाउँबाट बढीमा दुई घण्टाको पैदलयात्रामा ती टाकुरामा उक्लन सकिन्छ ।

पछिल्लो समय युवायुवतीमा ‘हाईकिङ’ को क्रेज बढी रहेको छ । यस निमित्त दाङ उपत्यकाको उत्तरी भूभाग जसलाई दाङकाटा भनिन्छ अत्यन्त अनकूल ठाउँ छ । उत्तर तर्फका हरेक टाकुराको पाउँमा बस्ती भएको र सो बस्तीसम्म यातायात सुविधा उपलब्ध भएकाले ती बस्तीबाट टाकुरासम्म पदयात्रामा जान रमाईलो वातावरण छ । यद्यपि दक्षिण तर्फ पनि दाङ उपत्यकाको सुन्दरता अवलोकन गर्न लायक टाकुराहरु धेरै छन् । तर तीनका पाउँसम्म पुग्न सडक यातायातको सुविधा उपलब्ध भै नसकेकाले अलि असुविधा महसुस हुन्छ । भविष्यका लागि भने हरेक टाकुरा पर्यटक रमाउने प्राकृतिक ‘भ्यूटावर’ हुनभन्दा अत्युक्ति नहोला ।

विशाल समथर भूबनोट, मानव हितकारी हावापानी, प्रचुर बनसम्पदा, बहुमूल्य खनिज संभावना, पर्याप्त मानव श्रोत, सङ्घीय राजधानीलगायत अन्य शहरहरुसंगको कनेक्टिभिटी जस्ता सम्पदा र सुविधाले सजिएको दाङ उपत्यका हरेक सम्भावनाका दृष्टिले अद्वितीय छ । पर्यटकका लागि पनि उत्तिकै आकर्षक गन्तव्य छ । पुरन्धारा छहरा र चमेरे गुफाले पर्यटकलाई आकृष्ट गरिरहेका छन् ।

यति सुन्दर र विशाल उपत्यकाको उपयोग, उत्पादन र उपलब्धिका हिसावले भरपुर लाभ लिन सकिने संभावना अझै धेरै छ । रणनीतिक अवस्थिति र अनकुल हावापानी भएका कारण बसोवास, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनको हव बन्ने संभावना त छदैछ सो भन्दा पनि उपत्यका सुहाउँदोे अवसरको रुपमा पाँच नम्बर प्रदेशको राजधानीको विषय सामुन्नेमा छ ।

प्रदेशको राजधानी तोक्ने काम सुदूर भविष्य समेतलाई विचार गरेर टुङ्गाउनु पर्ने विषय हो । यो विषय टुङ्गिन विलम्ब भै रहदा राजधानी शहरको निर्माण ढिलाई हुन पुगेको छ । निजी क्षेत्रले राजधानीलाई आधार बनाएर उद्योग, व्यवसाय र व्यापारलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारमा गर्ने लगानी पनि अनिश्चयको घेराबन्दीमा परेको छ । प्रदेश सभा प्रदेशको राजधानी बारेको अन्तिम निर्णय गर्ने आधिकारिक निकाय हो ।

प्रदेश सभा गठन भएको दुई बर्ष व्यतित भई सक्दा पनि निर्णय हुन नसक्नुलाई स्वभाविक प्रकृया मान्न सकिदैन । त्यसैले अविलम्ब यो विषय टुङ्गिनु पर्दछ । यस सन्दर्भमा प्रदेशको राजधानी बनाउन कुन ठाउँ उपयुक्त छ भन्ने प्रश्नको सन्तोषजनक जवाफ दाङ उपत्यका बाहेक अन्य कुन ठाउँले देला र ?

प्रतिकृया

प्रतिकृया