समादरणीय प्रमुख ज्यू,
श्री शिक्षा महाशाखा,
तुलसीपुर उपमहानगरपालिका ,
तुलसीपुर, दाङ ।

                            नमस्कार । हुन त मैले हजुरलाई सम्बोधन गर्नु ठीक थियो या थिएन मलाई थाहा छैन, तर मेरो तजविजले जे देख्यो त्यही लेखे यसमा अन्यथा नलिईदिनुहोला ।

विश्वलाईनै कोरोना भाइरस(केभिड–१९) ले त्राही त्राही बनाईरहेको कारण विश्वभरिका मानिसहरुनै अहिले प्रायः घरभित्रै बस्न बाध्य भएकाछन् ।

तसर्थ यसको प्रत्यक्ष असर शिक्षालगायत, आर्थिक विकासका रहेका पूर्वाधारहरुमा परेको हामी सबैलाई सर्वविदितै छ । यस्तो विषम परस्थितमा पनि तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका विद्यालयहरुको शैक्षिक वर्ष २०७६ को वार्षिक परिक्षाको नतिजा यहि बैशाख १५ गते भित्र विभिन्न सामाजिक सञ्जालका माध्यमहरुबाटै भएपनि प्रकाशन गरिसक्नु पर्ने भन्ने निर्देशन बमोजिम तुलसीपुर क्षेत्रभित्रका ७० सामुदायिक र ६९ निजि विद्यालयहरुले आ–आफ्ना विद्यालयहरुको नतिजा प्रकाशन भईसकेको र हुँदैगरेको पनि मलाई आभास भएको छ ।

तसर्थ विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भैरहेको नतिजाहरुलाई मैले यसपटक अध्ययन गर्ने मौका पाए र मेरो मनमा अनायासै एउटा प्रश्न उब्ज्यो र त्यसको उत्तर पाउछुकी भन्ने आशामा यो पत्र हजुरलाई कोर्दै छु । म यहाँ निजि विद्यालयहरु भन्दापनि सामुदायिक विद्यालयहरुको वार्षिक नतिजाको बारेमा मेरो मनमा उब्जिएका प्रश्नहरुको बारेमा चर्चा गर्ने अनुमति चाहन्छु ।

मूल्याङकन पाठ्यक्रमको अभिन्न अङ्गको रुपमा लिईन्छ । साधारण अर्थमा मूल्याङकन भनेको शैक्षिक कार्यक्रम समाप्त भए पछि पाठ्यक्रमद्वारा निर्धारीत उद्देश्यहरु पुरा भए भएनन भनेर लेखाजोखा गर्ने प्रक्रिया हो । विद्यार्थीमा आशा गरीएअनुरुप ज्ञान, सिप, धारणाको विकास भए नभएको जान्ने आधार नै मूल्याङकन हो । शिक्षण सिकाईको अन्त्यमा वा शैक्षिक वर्षको अन्त्यमा गरिने मूल्याङकन निर्णयात्मक मूल्याङकन हो जुन मूल्याङकनले निष्कर्ष वा निर्णय लिन सिकाउछ भन्ने मेरो बुझाई हो ।

आदरणीय प्रमुख ज्यू , म यहा मेरो प्रसङगलाई थोरै मोडन चाहे यसमा म माफि पनि चाहान्छु । तुलसीपुरमा रहेका सामुदायिक विद्यालयहरुमा हुदै आएको कुरा ः कक्षा १ – ३ का पाठ्यक्रमको ढाँचा अनुसार सामाजिक अध्ययन तथा सिर्जनात्मक कलाको पाठ्यभार ६ रहेकोमा कुनै कुनै विद्यालयहरुमा यसलाई तोडेर शिक्षक समेत अलग अलग र परिक्षा समेत फरक फरक दिनमा गराईएको, त्यस्तै गरि विज्ञान स्वास्थ्य र शारिरीक शिक्षालाई समेत त्यसै गरेको ।

कक्षा ४ – ५ को सामाजिक अध्ययनको पाठ्यभार ५ र सिर्जनात्मक कलाको पाठ्यभार ३ रहेकोमा यसलाई पनि माथि उल्लेखित कक्षा १–३ को जस्तै गरेको, र अझ यो भन्दा पनि डरलाग्दो अवस्था दैनिक कार्यतालिका रहेको छ । आदरणीय प्रमुख ज्यु हजुरले कति विद्यालयका दैनिक समयतालिका अध्ययन गर्ने अवशर पाउनु भएको छ ? के त्यसलाई विभिन्न विद्यालयहरुको तुलनात्मक रुपमा विष्लेशण गर्नुभएको छ ? यदि छैन भने कृपया आउदो शैक्षिक वर्षमा यसलाई पनि अध्ययन र विष्लेशण गर्नुहुन मेरो सुझाव रहेको छ ।

अव म प्रसङगमै आएको छु । नेपाल सरकार शिक्षा मन्त्रालयले नवौं योजना देखि प्राथमिक तहका कक्षा १–३ सम्मका लागि परीक्षणको रुपमा निरन्तर विद्यार्थी मूल्याङकन पद्धति सुरु गरेको थियो । यसैगरि राष्ट्रिय पाठ्यक्रम प्रारुप – २०६३ ले निरन्तर विद्यार्थी मूल्याङकनलाई शिक्षण सिकाईको अभिन्न अंगको रुपमा स्थापीत गरी कक्षा ७ सम्म क्रमशः उदार कक्षोन्नती लागु गर्ने निती लिएको थियो ।

त्यसै गरी विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) ले पनि निरन्तर मूल्याङकन गर्ने निति लिएको देखिन्छ । यस्तै सबैका लागि शिक्षा कार्यक्रमले समेत शिक्षाको गुणस्तर बढाउनका लागि वार्षिक कक्षा परीक्षाको साटो सुधारात्मक मूल्याङ्कन पद्धतिबाट विद्यालय परीक्षा प्रणालिमा सुधार गर्ने रणनीति लिएको छ । यि त भए निरन्तर मूल्याङकन पद्धतिका नितिगत कुराहरु ।

अब म थोरै लेटर ग्रेडिङ को बारेमा पनि चर्चा गर्ने अनुमनि चाहान्छु कृपया झर्को नमानिदिनुहोला । नेपालमा माध्यमिक तहको अन्त्यमा लिईने प्राविधिक एस.एल.सी. परिक्षामा शैक्षिक वर्ष २०७१ देखि अक्षराङकन पद्धति लागु गरियो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको मिति २०७२/८/२४ को निर्णय अनुसार विद्यालय शिक्षामा अक्षराङकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ अनुसार नेपालमा शैक्षिक वर्ष २०७२ सालदेखिको एस.एल.सी. परीक्षामा समेत अक्षराङकन पद्धति ( Letter Grading ) लागु भएको कुरा हामी सबै सरोकारवालाहरुको जानकारीमा रहेकै होला ।

सरकारले ल्याएको राष्ट्रिय शिक्षा निति – २०७५ ले पनि ग्रेडिङ प्रणालीलाई नै अवलम्वन गरेको देखिन्छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप – २०७६ ले पनि “अन्तराष्ट्रिय अभ्यास र राष्ट्रिय अनुभव समेतका आधारमा अक्षराङकन पद्धति अनुरुप विद्यार्थिको सिकाई उपलब्धी प्रमाणिकरण गरिने छ ।” भनिएको तथ्य पनि म यहालाई अवगत गराउन चाहान्छु । यिनै पृष्ठभूमिका आधारमा हामी पनि निरन्तर परिक्षा पद्धति र अक्षराङकन पद्धति भन्दा बाहीर जान नहुने र नमिल्ने मेरो ठहर हो ।

आदरणीय प्रमुख ज्यू , के हजुरले भर्खरै प्रकाशित सामुदायिक विद्यालयका नतिजामा यस्तो रहेको पाउनु भयो ? मेरो मुख्य प्रश्न यहाँ नेर हो । कि हामी कतै माथि उल्लेखित निति नियमहरु बनाउने विज्ञ व्यक्तिहरुभन्दा बढी जान्ने त भएनौ ? कि ति निती नियमहरुलाई नमान्ने भयौ ? परिणामत यस्तो विविधता रहेको नतिजा मैले देखे सायद हजुरले पनि त हेर्नुभएको होला ?

म अब थोरै मैले अध्ययन गरे अनुसार हाम्रो नतिजा पद्धतिको बारेमा विश्लेषण गर्ने प्रयास गर्नेछु कृपया बढी जान्ने भयो नभनिदिनुहोला । आधारभुत शिक्षाको कक्षा १–३ मा पूर्ण रुपमा निरन्तर विद्यार्थी मूल्याङकन पद्धति, कक्षा ४–५ मा ५० प्रतिशत भारको निरन्तर र ५० प्रतिशत भारको आवधिक परीक्षाका आधारमा र कक्षा ६–७ को ६० प्रतिशत भारको आवधिक र ४० प्रतिशत भारका निरन्तर मूल्याङकन का माध्यमले विद्यार्थीको ( जसमा २५ प्रतिशत प्रयोगात्मक ) उपलब्धीको लेखाजोखा गर्नुपर्ने प्रावधान राखिएको पाएको छु ।

आधारभुत तहमा निर्णयात्मक पद्धतीमा भन्दा बढी निर्माणात्मक÷ सुधारात्मक मूल्याङकन पद्धतिका आधारमा विद्यार्थीको सिकाईलाई सुनिश्चित गर्नुपर्नेछ । विद्यालयले विद्यार्थी मूल्याङकन प्रक्रियालाई व्यवस्थित गर्न विद्यार्थीको व्यक्तिगत प्रगति विवरण सञ्चय गरी साख्नु पर्दछ ।

विभिन्न सिकाइका मापनहरु जस्तो कक्षाकार्य, सिकाई क्रियाकलापमा सहभागिता, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजीरी अनुशासन, व्यवहार परिवर्तनको अवलोकन आदिका माध्ययमले अद्यावधिक गराई प्रत्येक विद्यार्थीको व्यक्तिगत प्रगति विवरण सञ्चित अभिलेख फाईलमा राख्ने व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

आदरणीय प्रमुख ज्यु, यसरी सरसर्ती हेर्दा तुलसीपुरमा रहेका ७० वटा सामुदायिक विद्यालयहरुको नतिजा के माथि उल्लेखित पद्धतिको आधारमा भएको यहाँले महसुस गर्नुभएको छ ? यदि होईन भने यसको असर ती साना अबोध वालवालिकामा पर्छकी पर्दैन होला ? यसको जिम्मेवार को ? विद्यालयमा पढाउने शिक्षक ? विद्यालय हाक्ने प्र.अ. ? या समग्र तुलसीपुर भरीका विद्यालयहरुको अनुगमन गर्ने शिक्षा महाशाखा ? हामी यति सजिलो कार्य त अफ्ठेरो मानेर पूर्ण रुपमा गरेका छैनौ, अनि अनलाईन कक्षा, बैकल्पिक कक्षा सुरु गर्ने जमर्को गर्दैछौ ? यस्तो परिवेशमा सम्भव होला र ? हजुरले आगामी शैक्षिकवर्षको लागि केही योजनाहरु तयार पार्नु भएको छ कि ?

अन्त्यमा, मेरो बुझाईमा यसको समाधानको बाटो भनेको एउटै विकल्प हो विद्यालयहरुमा एक खालको सफ्टवेयरको लागु गर्ने र जसको माध्यमबाट सबै विद्यालयहरुमा मूल्याङकन पद्धतिमा एकरुपता आउने स्पष्ट छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । आशा छ आउदो परीक्षाका नतिजा हरुमा अहिलेको जस्तो विविधता आउनेछैन । म बाट कुनै लेखाइ वा शब्दमा तलमाथि भई कोही कसैलाई आघात पुग्न गए क्षमा प्राथी छु, र विश्वव्यापि महामारी को रुपमा आएको कोरोना भाइरस बाट सुरक्षित रहनुहोला भन्दै अहिलेलाई विदा चाहान्छु, धन्यवाद ।

उही हजुरको भलो चाहने शिक्षक
एक राज भण्डारी
श्री माध्यमिक विद्यालय दोघरे,
तुलसीपुर ९ दोघरे दाङ ।

प्रतिकृया

प्रतिकृया