अञ्जना चौधरी, तुलसीपुर
१९ जेठ / दाङको तुलसीपुर १२ टरिगाउँमा आन्तरिक विमानस्थल छ । पटक–पटक खुल्दै र बन्द हुुँदै आएको उक्त विमानस्थल पछिल्लो दुईबर्षदेखि नियमित सञ्चालनमा थियो । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि तुलसीपुर विमानस्थल नियमति हुनुले जनप्रतिनिधिको कामको उचाई बढेको थियो ।

तर, अहिले यही विमानस्थलको विकल्प खोज्ने कार्य सुरु भएको भन्दै पश्चिम दाङवासीले आपत्ति जनाउने गरेका छन् । यस अघि दाङ घोराहीको नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने भनी दुईबर्ष अघि बजेट भाषणमा भनिएको थियो । त्यसको दुइबर्षपछि पुनः आन्तरिक विमानस्थल बनाउने भनी बजेट भाषणमा उल्लेख गरिएपछि दाङमा बिभिन्न खाले टिकाटिप्पनी हुने गरेका छन् ।

दाङको तुलसीपुरमा आन्तरिक विमानस्थल हुँदा हुँदै जिल्लामा विमानस्थलको विकल्प खोज्ने कार्य भएको भन्दै पश्चिम दाङका नागरिकहरु यो कार्यको आलोचना गर्दै आएका छन् । अहिले यसलाई भेगिय मुद्दा बनाईएको छ । घोराहीदेखि पूर्व तर्फका नागरिकहरु नारायणपुरमा आन्तरिक विमानस्थल निर्माण गर्ने कार्यको समर्थन गर्ने गरेका छन्, भने तुलसीपुरदेखि पश्चिम तर्फका नागरिकले तुलसीपुर विमानस्थललाई ओझेल पार्न खोजिएको भन्दै आपत्ति जनाउने गरेका छन् ।

नागरिक स्तरबाट भेगिएरुपमा आवाज उठाउने गरेको भएपनि स्थानीय सरकार प्रमुखहरुले भने दोहोरो चरित्र प्रदर्शन गर्दै आएका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले नै नारायणपुरमा आन्तरिक बिमानस्थल निर्माण कार्य स्वागत योग्य रहेको बताएका छन् ।

‘नारायणपुरमा आन्तरिक विमानस्थल बन्दैमा तुलसीपुरको टरिगाउँ एयरपोर्ट ओझेलमा पर्ने तथा उडान बन्द हुने कुरा हुदैन । यो पुरानो एरर्पोट हो ।’, उनले भने‘ अहिले पनि एयरर्पोट सुधारको काम भईरहेको छ र आगामी दिनहरुमा पनि हुन्छ ।’ सरकारले नारायणपुरमा ठूलो विमान बस्न सक्ने ठाउँ छनोट गरि काम अगाडी बढाउन लागेको उनको भनाई थियो ।

तुलसीपुरमा ठुलो विमान बस्नकालागि एयरपोर्ट ठूलो नभएकाले सरकाले दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने निर्णय गरेको भएपनि टरीगाउँ बिमानस्थलमा नियमित उडान भइराख्ने समेत उनले बताए । साथै टरिगाउँ एयरपोर्ट पाईलटहरुको प्राक्टिस गर्ने ठाउँको रुपमा विकास गर्ने कुरा भएको भन्दै त्यही अनुसार धावन मार्ग बनाउने र ईन्धन डिपो राख्ने योजना सरकारले अघि सारेको समेत उनको भनाई छ । यो बर्ष टरीगाउँ एयरपोर्टकोलागि वजेट परेन भनि गुणासो गर्न नहुँने भन्दै यो बर्ष नारायणपुरमा परेपनि अर्कोबर्ष तुलसीपुरकालागि बजेट आउने समेत उनको भनाई छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नारायणपुर आन्तरिक विमालस्थल निर्माण गर्ने कार्य स्वागत योग्य भएको भन्दै दाङमा ठूलो विमान बस्न सक्ने क्षमताको एयरपोर्ट आबश्यक भएको बताए । ‘पहिलेको तुलनामा तुलसीपुर एयरपोर्ट ठिकै थियो तर अहिले प्लेन ठुला आएका छन्, तुलसीपुर एयरपोर्टको स्तरबृद्धि गर्न पनि बजार नजिकै छ, सम्भव छैन्’, उनले भने ‘त्यसैले सरकारले अनुगमन गरेर नारायणपुरलाई सहि ठाउँको छनोट गरेको छ, यस विषयमा कसैले पनि राजनीति र विरोध गर्नु हुदैन ।’  यदि नारायणपुरमा विमानस्थल निर्माण नभएमा दाङवासीलाई विमान चढ्न नेपालगञ्ज वा भैरहवा जाने अबस्था अन्त्य नहुँने समेत उनले बताए । उनले पनि तुलसीपुरको एयरपोर्टलाई पाईलटहरुलाई प्राक्टिस गर्ने ठाउँको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताए ।

शान्तिनगर गाउँपालिकाका प्रमुख कमानसिंह डाँगीले नारायणपुरमा आन्तरिक विमानस्थल दाङबासीको आवश्यकताको नभएको बताए । ‘हाम्रालागि नारायणपुर विमानस्थल आबश्यक छैन’, उनले भने‘ त्यसको लागि तुलसीपुर विमानस्थल छदैछ । त्यस बाहेक प्रदेश स्तरीय अथवा अन्तराष्ट्रिय विमानस्थल चाहिएको छ र दाङकोलागि आवश्यकताको कुरा पनि हो ।’ सरकारले हचुवाको भरमा नारायणपुरमा आन्तरिक विमानस्थलको कुरा ल्याएको उनले बताए ।

त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नारायणपुर विमानस्थल निर्माण गर्ने कार्यको स्वागत गरेका छन् ।‘दाङमा स्तरिय विमानस्थलको खाँचो पनि हो । तर हाम्रो चाहाना भनेको लमही र भालुवाङको विचमा प्रसस्त जग्गा भएकाले लमही र भालुवाङको विचमा आन्तरिक एयरपोर्ट भएमा सबैलाई राम्रो हुने थियोभन्ने हो ’, उनले भने,‘ लमही र भालुवाङमा एयरपोर्ट भएमा दाङलगायत सल्यान ,रुकुम, रोल्पा , अर्घाखाची, कपिलवस्तुसम्मका जनताहरुलाई सहज हुने थियो ।’

नारायणपुरमा आन्तरिक विमानस्थल निर्माण गर्ने भनि बजेट छुट्याएको बिषयमा भने दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी र लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले यो बिषयमा आफ्नो प्रतिक्रिया दिन चाहेनन् । दुवै जनाले यस बिषयमा आफुलाई जानकारी नभएको र बोल्न नचाहेको तुलसीपुर अनलाईनलाई प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया

प्रतिकृया