प्रिया स्मृती गजमेर, देउखुरी
१३-असार /  लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी चुडामणी कुमाल दुवै आँखा कम देख्छन । उनि उमेरले साठी पार गरि सकेका छन् । बुढेसकालको साहारा भनेको अहिले आफ्नो श्रीमती बाहेक आफन्त कोहि पनि छैन । न उनिसंग प्रशस्त सम्पति नै छ । साहुको घरमा काम गरेर आज सम्म जिबिका चलाउदै आएका कुमालको अबस्था अहिले पनि उस्तै छ । सन्तानको नाममा भएका दुई भाई छोराहरुको पनि मृत्यु भैसकेको छ ।

आँखा कम देख्छन र श्रीमतीको साहारामा भित्र बाहिर गर्ने गर्दछन । आयश्रोतको नाममा उनीहरुको केहि पनि छैन । दिनमा दुई चार भारि दाउरा बेचे भने साँझ बिहानको जोहो जुट्ने गर्छ । हुनत कुमाल दम्पतिले सामाजिक सुरक्षा भत्ता पनि पाउने गरेका छन् तर त्यो सुरक्षा भत्ताको पैसाले मात्र के गर्ने के नगर्ने कुमालले गुनासो गरे । त्यस्तै नगरपालिकाले प्रदान गरेको रकमले आफ्नो लागि पोषिलो खाने कुराको बन्दोबस्त गर्ने तरुलियाकी जुगनी माझीले भनिन । घरमा खाने छाक बसेको बेलैमा राज्यले यसरी नगद पैसा दिदा खुशीले सिमा नाघेको उनले बताईन । उनले भनिन, यस्तो बेला पैसा ल्याएर दिने हाम्रा भगवान हुनुहुन्छ, सधै भलो होस् ।

लमही नगरपालिकाले आर्थिक बर्ष २०७६ / ७७ मा नगर भित्रका ६० जना अति विपन्न जेष्ठ नागरिकलाई सम्मान गर्ने भनेर चार लाख पचास हजार बजेट बिनियोजन गरेको महिला, बालबालिका तथा समाजकल्याण उप-शाखाका शान्ता शर्माले जानकारी दिइन् । महिला, बालबालिका तथा समाजकल्याण उप–शाखा मार्फत अति विपन्न असहाय जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ । कार्यक्रम अन्तरगत लमही नगरपालिका वडा नं. ९ वडाका ६ जना जेष्ठ नागरिकलाई शुक्रवार सम्मान गरिएको हो ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको बिशेष उपस्थितीमा प्रति जेष्ठ नागरिक सात हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेर आर्थिक सहयोग गरिएको हो । लमही नगरपालिका वडा नं. ९ मा वडा अध्यक्ष भेषबहादुर केसी (रमेश) अध्यक्षतामा भएको कार्यक्रममा चुडामणी कुमाल, पवित्रा कुमाल, शान्ता प्रसाल कुमाल, चन्द्रबहादुर कामी, सिताराम पुन र जोखनी माझीलाई नगद ७ हजार पाँच सयका दरले प्रदान गरिएको छ ।

लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप–प्रमुख देबका बेल्वासे, महिला, बालबालिका तथा समाजकल्याण उप–शाखाका शान्ता शर्मा, नगर स्तर संजालका अध्यक्ष जागश्वर घिमिरे वडा संजालको अध्यक्ष तेजमणी ज्ञवाली, शोभा पण्डित लगायतको उपस्थिती रहेको थियो । यस अघी लमही नगरपालिका वडा नं. १, २, ४, ५ र ६ का ३१ जनालाई नगद सहयोग गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया