भागवत पौडेल, प्रधानाध्यापक
मा.वि.तुलसीपुर सेन्टर दाङ
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ संक्रामक रोगले हालसम्म २१५ देशका १ करोड ६४ लाख मानिसहरु संक्रमित भएका छन् भने ६ लाख ५२ हजार मानिसहरूको मृत्यु भइसकेको छ । यो रोगको संक्रमण दर अझै तीव्र छ । यो रोगको संक्रमणबाट विश्वका विकसित राष्ट्रहरु अझ बढी प्रभावित भएका छन् ।

रोगको संक्रमण नियन्त्रणका लागि भएको विश्वव्यापी बन्दा बन्दीले नेपाल लगायत विश्वका अधिकांश देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अवस्था एवं उत्पादन प्रणाली क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी, भोकमरी जस्ता भयावह मानवीय संकटको स्थिति पैदा हुन गइरहेको छ । यो लामो समयको बन्दा बन्दीका कारण शिक्षा क्षेत्र अझ नराम्रोसँग प्रभावित भएको छ ।

युनेस्कोको तथ्यांक अनुसार विश्वमा १ अर्ब ३० करोड र युनिशेफको तथ्यांङ्क अनुसार नेपालमा ८७ लाख बालबालिकाहरु पढाईबाट बञ्चित भएका छन् । नेपालमा २०७६ चैत्र ११ गते देखि विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् । हाल मिति २०७७ श्रावण ९ गते देखि बन्दाबन्दी हटाइए पनि नेपालका अधिकांश विद्यालयहरूमा महामारी व्यवस्थापनको केन्द्र (क्वारेन्टीन) बनाएका छन् ।

यसरी लामो समय विद्यालय बन्द हुँदा देशको समग्र शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । एउटा शैक्षिकसत्र गुम्ने खतरा बढेको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभुतपूर्व जोखिम सृजना भएको छ । विशेष गरी सीमान्तकृत बालबालिकाको शिक्षा स्वास्थ्य पोषणमा ठूलो असर पर्ने देखिएको छ ।

विद्यालय जानबाट बञ्चित बालबालिकाहरु दुब्र्यसनको शिकार हुने, उनीहरुमाथि हिंसा, बालश्रम, बाल विवाह जस्ता जोखिम अरु बढेको उनीहरुले हालसम्म सिकेको शैक्षिक उपलब्धि गुम्ने तथा विद्यालय नफर्कने, (Droup Out) जस्ता समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना देखिन्छ । यसैगरी अभिभावकहरुमा आफ्ना सन्तानको शिक्षा र सुरक्षा को बारेमा गम्भिर चिन्ता पैदा गरेको छ ।

यसैबीच काठमाडौं लगायत केहीँ सुविधा सम्पन्न निजी विद्यालयहरुले भर्चुवल कक्षाहरु सञ्चालन गरेका छन् तर त्यो विधिले सीमित विद्यार्थीहरु लाभान्भित भएका छन । अधिकांश सीमान्तकृत परिवार र ग्रामिण तथा सुविधाविहीन क्षेत्रमा रहेका विद्यार्थीहरु सिकाइवाट वञ्चित भएका छन् । त्यसले शिक्षामा झन् ठूलो विभेदको सिर्जना गरेको छ । शिक्षा सर्वाङ्गीन विकासको आधार हो ।

शिक्षा क्षतविक्षत भयो भने देशको समग्र विकासमा दीर्घकालीन रुपमा नकारात्मक असर पर्दछ । त्यसकारण शिक्षालाई प्रमुख प्राथमिकतामा राखिनु पर्दछ । यसरी लामो समयसम्म बन्द भएका विद्यालयहरु उक्त रोगको जोखिम कायमै रहेको अवस्थामा पुनःसञ्चालन सुरक्षित तरिकाले कहिले र कसरी गर्ने आजको प्रमुख प्राथमिकता बन्नु पर्दछ । यसको लागि विस्तृत पूर्वतयारी तथा जोखिम व्यवस्थापनको आवश्यकता पर्दछ ।

युनेस्को, युनिसेफ, विश्व स्वास्थ्य संगठन समेतले विद्यालय पुनःसञ्चालन सम्बन्धी विस्तृत मार्ग निर्देशनहरु जारी गरेका छन् भने नेपाल सरकारले वैकल्पिक प्रणालि द्वारा विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । ति जारी गरिएका मार्ग निर्देशन र निर्देशिकामा कसरी सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्ने, सुरक्षाका मापदण्डहरु के के हुन, अभिभावक, विद्यार्थी, शिक्षक, तीनै तहका सरकार र समाजका अन्य पक्षको दायित्व र भूमिका स्पष्ट पारेको छ ।

त्यसैगरी शिक्षणविधि, पाठ्यसामाग्री, समग्र बैकल्पीक शैक्षणिक व्यवस्थापनको योजना प्रस्तुत गरिएको छ । यसको साथै सरकारका तिनै तहबाट टेलिभिजन रेडियो एफ एमको माध्यमबाट शिक्षण सुरु गरिएको छ तर त्यसको पहुँचमा कति विद्यार्थीहरु छन् र सिकाइमा कति संलग्न छन्, त्यसको एकिन हुन सकेको छैन ।

अधिकांश विद्यार्थीहरु सिकाइ बाट बन्चित भएको सम्भावना देखिन्छ ।साथसाथै भर्चवल शिक्षण उपदेशात्मक,निर्देसात्मक,वर्णात्मक,र विद्यार्थिको निस्कृय सहभागीता हुने,श्रृजनात्मकता नहुने र कतिपय अभ्यास गर्नुपर्ने विषयहरु अभ्यास हुन नसक्ने चुनौति देखा परेका छन । त्यसैगरी सरकारले भाद्र १ गतेदेखि सामाजिक दुरी कायम गरी सुरक्षाका मापदण्ड अपनाई विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु गर्न मात्र निर्देशन गरेको छ ।

तर हालसम्म पनि अधिकांश विद्यालयहरुवाट क्वारेन्टिन हटाएको छैन जसले गर्दा ति विद्यालयहरुमा पाठ्यपुस्तक वितरण, भर्चुअल शिक्षण, शिक्षक, अभिभावकहरुको उपस्थिति लगाएतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन् भने क्वारेन्टिन राखेका विद्यालय संक्रमणको जोखिम पछिसम्म पनि हुन सक्छ भनी अभिभावक र विद्यार्थीहरुमा पर्न गएको मनोवैज्ञानिक त्रासका कारण ती विद्यालयमा विद्यार्थीहरु भर्ना कम हुने सम्भावना देखिन्छ । त्यसकारण सरकारले तत्काल विद्यालयहरुवाट क्वारेन्टिन हटाई निर्मलीकरण गरी विद्यालयलाई सुरक्षित बनाउनु अत्यावश्यक देखिन्छ ।

यसरी बालबालिकाहरूको शैक्षिक क्षति न्यूनीकरण गर्न, गुम्न गइरहेको शैक्षिक सत्रलाई जोगाउन, अस्तव्यस्त भएको शैक्षिक क्यालेन्डर पूनःव्यवस्थित गर्नको लागि सर्बप्रथम राज्यले शिक्षामा लगानीमा यो वर्ष व्यापक वृद्धि गर्नुपर्छ , जोखिम रहदा सम्म सरकारले जारी गरेको बैकल्पिक सिकाइ निर्देशिका बमोजिम आवश्यक पूर्वाधार, जनशक्ति, सन्दर्भ सामाग्री तथा बैकल्पिक सिकाइ सहयोगी सामाग्रीको व्यवस्था गरिनुपर्दछ त्यसपछि विद्यालयमा सुरक्षा मापदण्ड बनाई विद्यार्थी भर्ना एवं पाठ्यपुस्तक र सन्दर्भ तथा सिकाइ सहयोगी सामग्री वितरण गर्नुपर्छ ।

त्यसपछि विद्यालयहरुले सवै विद्यार्थीहरूको सघन सर्वेक्षण गरी कुन विधिबाट शिक्षण गर्दा विद्यार्थीहरुको पहुच सुनिश्चित हुन्छ ती सबै विधि हरु जस्तैः रेडियो, स्थानिय टेलिभिजन, अनलाइन शिक्षण, टोलटोलमा गइ सामुदायिक शिक्षण लगायतका सबै विधि अपनाई विद्यार्थीलाई सिकाईमा केन्द्रित गर्नुपर्ने देखिन्छ ।

त्यसै गरी विद्यार्थीहरुमा यो रोगको संक्रमण र जोगिने उपाय, स्वस्थ आनिवाणी तथा सरसफाई सम्वन्धि चेतना अभिवृद्धि गर्ने, जोखिम कम भइ सरकारले फेस टु फेस विद्यालय संचालन गर्न निर्देशन जारी गरेमा सवै विद्यार्थीहरु विद्यालयमा आउने वातावरण तयार गर्न व्यापक अभियान संचालन गर्ने । विद्यालयमा स्वास्थ्य तथा मनोसामाजिक परामर्स केन्द्रको व्यवस्था गर्ने । विद्यालयमा सुरक्षित वातावरण तयार गर्ने । विद्यालयमा पठनपाठनको समय बढाइ विहान र दिउस दुइ सिफ्रटमा विद्यालय संचालन गर्ने ।

विद्यार्थीलाई दिवा खाजा विद्यालयमा नै उपलब्ध गराउने । यस पश्चात हुने अधिकांश विदाहरु कटौती गरी पठनपाठनलाई निरन्तरता दिने । समय गुमेका कारण छुटेका शिक्षणका सत्रहरु पुनः प्राप्तीका लागि विशेष अभ्यासहरु, सिकाइका विधिको सुध्रिढिकरण, मिश्रीत शिक्षण विधिहरुको प्रयोग सघन रुपमा गर्नुपर्ने ह । त्यसैगरी शिक्षकहरुले पनि समय सापेक्ष आधुनिक प्रविधि संग आफुलाई अध्यावधिक गरी प्रभावकारी शिक्षण गर्नु पर्ने ।

त्यसैगरी यस शैक्षिक सत्रलाई आगामी शैक्षिक सत्रको १ महिना थप गरी समग्र शैक्षिक प्रणालीलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । नेपालको लागि यो एक अत्यन्त महत्वपुर्ण समय हो , किनभने समस्या, चुनौतीको साथसाथै सुरक्षा प्रभावकारीता एवं समानता सुनिश्चित गर्दे नयाँ विधि स्थापना गर्ने यो नयाँ अवसर पनि हो । यसको लागि सवै पक्षले आफुलाई तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ ।

प्रतिकृया

प्रतिकृया