घोराही,
१७ साउन/ विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ दाङमा सम्मानित भएका छन् । विभिन्न १२ भाषामा एकै पटक संगीत भरेर संगीतमा विश्व कीर्तिमान कायम गर्न सफल दंगाली श्रष्टा संगीतकार श्रेष्ठलाई साहित्यिक संस्थाहरु राप्ती साहित्य परिषद दाङ शाखा र गजल अभियान दाङले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता, राप्ती साहित्य परिषदका सल्लाहकार अग्रज साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा आज कीर्तिमानी संगीतकार श्रेष्ठलाई सम्मान गरिएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुुर बगिया स्थायी घर भएका विश्व कीर्तिमानी संगीतकार श्रेष्ठले आफुले विश्व कीर्तिमान कायम गर्न गरिएको काम र अनुभव सुनाएका थिए । उनले असल व्यक्तिको साथ, सही संगत र मार्ग निर्देशनकै कारण यो ठाउँमा उभिन सफल भएको धारणा राखेका थिए । संगीत कर्ममा आफुले पाएको मान पदवीले थप जिम्मेवारी प्रदान गरेको बताउँदै उनले आगामी दिनमा अझ लगनशील भएर संगीत साधनामा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार उत्तमकृष्ण मजगैयाँले संगीतकार श्रेष्ठ बहुप्रतिभाको धनी व्यक्ति भएको बताउँदै यस्ता श्रष्टालाई सबैले हौसला, प्रेरणा र मार्ग निर्देश गर्नु पर्नेमा जोड दिए । संगीतकार श्रेष्ठ केवल संगीतकार मात्रै नभई साहित्य, संगीत र कलाको बहुसंगम भएको टिप्पणी गरे । उनले संगीतकार श्रेष्ठलाई नेपाली गीत संगीतलाई अमर अजर बनाई राख्न अनुरोध गर्दै त्यही संगीतकर्मले उनलाई अमर बनाउने शुभेच्छा प्रकट गरे ।

विशिष्ट अतिथि राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालले संगीतकार श्रेष्ठ दाङबासी वा नेपालीहरुको सम्मानित व्यक्तित्व मात्रै नभई विश्व जगतका लागि सम्मानित व्यक्तित्व भईसकेको बताए । दुई दशक बढी देखि काठमाडौंमा संगीत कर्म गर्दै आएका संगीतकार श्रेष्ठको एकल संगीतमा ३ दर्जन बढी नेपाली सुगम संगीतका एल्बम बजारमा आई सकेका छन भने सयौं गीतमा संगीत भरि सकेका छन ।

उनको संगीत रहको अधिकांश गीतहरु निकै चर्तित छन । साहित्यिक तथा सांगितीक क्षेत्रका श्रष्टाहरुको उल्लेख्य सहभागिता रहेको सम्मान कार्यक्रममा सबैको उनको उच्च सफलताको कामना गरेका थिए । गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण श्रष्टा, गीतकार प्रकाश केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया