रेणु सिंह
विश्व स्वास्थ्य संगठनले शिशु जन्मेको एक घण्टाभित्र पहिलो स्तनपान गराउने, बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र चुसाउने, बच्चा ६ महिना पूरा भइसकेपछि आमाको दूधसँगै थप खाना उपलब्ध गराउने र स्तनपान गराउँदा एक पटकमा एउटा स्तन मात्र चुसाउनुको साथै कम्तीमा पनि १५ मिनेटसम्म स्तनपान गराउन पर्ने उद्देश्यका साथ प्रत्येक वर्षको अगष्ट १ देखि ७ सम्ममा स्तनपान सप्ताह मनाउँदै आएको छ ।

पहिलो पटक स्तनपान गराउँदा निस्किने बाक्लो र पहेंलो रङको पदार्थ (बिगौती अथवा कलोष्ट्रोमयुक्त दूध) मा रोग प्रतिरोधात्मक तत्व पाइन्छ, जसले गर्दा नवशिशु मृत्युदर घटाउन मद्दत गर्छ । कोहीकोही आमाले भने पहिलो बिगौती दूध फालेर मात्र बच्चालाई स्तनपान गराएको समेत सुन्न तथा देख्न पाइन्छ । त्यसैले स्तनपानबारे जान्न, बुझ्न र छरछिमेकमा यसको महत्त्वबारे जानकारी दिन जरुरी देखिन्छ। स्तनपानले शारीरिक तथा मानसिक तवरमा बलियो बनाउन समेत सहयोग गर्छ। बच्चा ६ महिना पूरा भइसकुन्जेलसम्म आमाको दूध बाहेक अरु केही पनि दिनु हुँदैन।

मेरो आफ्नै भोगाइमा पनि यस्ता प्रश्नहरु उठेका छन् :
बच्चाको ओठ(मुख सुकेजस्तो लाग्यो, त्यसैले अलिकति पानी खुवाइदिए केही त हुँदैन होला है?
छोराको पास्नी ६ महिनामा ग¥यौं अनि छोरीको ५ महिनामा।
बच्चा धेरै रोयो त्यसैले एक बिर्को पानी खुवाएँ ।
मेरो बच्चाले हिजो अथवा बिहानदेखि पिसाब फेरेको छैन, के भयो होला?

यस्ता कुराहरु समुदाय तथा स्वास्थ्य संस्थामा पनि नभेटिएका हैनन्। त्यसैले पूर्ण स्तनपानका लागि सबैभन्दा सस्तो, सहज, सरल तथा सम्पूर्ण तत्वको मिसावट नै आमाको दूध हो। बच्चालाई चाहिने पानीको मात्रा पनि आमाको दूधमा पाइन्छ। त्यसैले ओठ(मुख सुकेको छ भनेर पानी हैन, बच्चालाई पुगुन्जेल स्तनपान गराउन जरुरी हुन्छ भने बच्चा ६ महिना पूरा भइसकेपछि आमाको दूधले मात्र नपुग्ने हुँदा थप खानाको आवश्यकता पर्ने गर्छ।

बच्चालाई २ वर्षसम्म थप खानासँगै स्तनपान गराउँदा धेरै उपयुक्त हुन्छ। कतिपय आमाहरु स्तनपान नगराउने पक्षमा देखेकी छु। दूध आउँदैन भनेर बजारमा चल्दै आएका सेरलेक्स तथा ल्याक्टोजन नामक पाउडर दूधको प्रयोग धेरै देखिन्छ। यदि आमा बिरामी हुनुहुन्छ, ज्वरो आएको छ, पसिना छुटेको छ र तनावमा हुनुहुन्छ भने पनि दूध प्रशस्त मात्रामा बन्दैन।

त्यसैले यसो हुनबाट जोगिनका लागि तरल पदार्थ धेरै दिने, २ घण्टाको फरक पारी स्तनपान गराइराख्ने, आमालाई तनावबाट छुटकारा दिलाउने, पौष्टिक आहार उपलब्ध गराउने गर्नुपर्छ। यदि आमाले औषधि प्रयोग गर्दै हुनुहुन्छ भने पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्तनपान गराउनुपर्ने हुन्छ।

देशले विकासको गति लिइरहँदा स्तनपानमा कमी आएको देखिन्छ। स्तनपानमा कमी आउनुको मुख्य कारणहरु जस्तैस् बच्चा कम तौलको जन्मिनु, आमाले आफ्नो फिगर मेन्टेन गर्न खोज्नु, बच्चा जन्मजात खुँडो हुनु अथवा बच्चाले स्तनपान गर्न नसक्नु, अफिसमा व्यस्तताको कारण आमाले बच्चालाई समय दिन नसक्नु, बच्चा जन्मिसकेपछि आमाको मृत्यु हुनु तथा आमा र बच्चा छुट्टिनुपर्ने अवस्थासँगै आमालाई सरुवा रोग लागेको इत्यादि हुन सक्छ।

बच्चा बिरामी हुँदा स्तनपान गराई राख्नुपर्छ, जसले गर्दा बच्चा चाँडो स्वस्थ हुन्छ। यदि बच्चालाई झाडापखाला लागेको छ भने स्तनपान गराउन रोक्नु हुँदैन किनभने पखाला लाग्दा बच्चालाई जलवियोजन हुने हुँदा ज्यान समेत जानसक्छ। त्यसैले औषधि प्रयोगभन्दा पनि हेरचाह नै धेरै उपयुक्त हुन्छ। पखाला लाग्दा छिटोछिटो स्तनपान गराउनुका साथै थप पानी पनि पिलाउनुपर्ने हुन्छ।

दिनरात गरेर कम्तीमा पनि १० पटकसम्म स्तनपान गराउनुपर्छ। कतिपय आमाको बच्चा सुतेको बेला उठाएर स्तनपान नगराउने तर रोएको बेला मात्र गराउने बानी हुनसक्छ। यस्तो पटक्कै गर्नुहुँदैन किनभने भर्खरै जन्मिएको शिशु कम्तीमा पनि २० देखि २२ घण्टासम्म सुत्ने गर्छ। बच्चा धेरै सुत्यो भनेर चिन्ता लिनुहुँदैन र २ घण्टाको फरकमा बिउँझाएर पनि स्तनपान गराउनुपर्छ।

यदि बच्चाले लामो समयसम्म पिसाब फेरेन भने गराउनु हुँदैन। बच्चालाई प्रशस्त मात्रामा स्तनपान गराउनुपर्छ किनकी उसको शरीरमा पानीको मात्रा कम भएर पिसाब नगरेको हुनसक्छ।

यदि बच्चा कम तौलको अथवा महिना नपुगी जन्मिएको छ, जसले गर्दा स्तनपान गर्न सकेको छैन भने चम्चामा राखेर पनि चुसाउन सकिन्छ। न्यानो कपडा लगाएर उसको शरीरको तापक्रमलाई मेन्टेन गर्नुका साथै शिशुलाई आमा अथवा बाबाको छातीमा राखेर न्यानो गर्नुपर्छ, जसलाई कँगारो किएर पनि भन्ने गरिन्छ।

कँगारो किएर गर्दा आमाले बच्चालाई स्तनपान गराउन सक्ने आसनमा राखिन्छ। स्तनपान गराउँदा आमाले बच्चालाई छुनुअघि राम्ररी हात धुनुका साथै स्तन सफा गर्नुपर्छ, जसले गर्दा बच्चा संक्रमणको शिकार हुनबाट जोगाउँछ। स्तनपान गराउँदा आमा र बच्चा दुवैको आसनमा ध्यान दिन जरूरी हुन्छ किनभने आसन नमिल्दा बच्चाले असहज महसूस गर्न सक्छ।

बच्चाको ओठ र तालु खुँडो परेको छ भने स्तनपान गराउनको लागि विशेष सहयोगको आवश्यकता पर्छ। दूध खुवाउँदा ओठ फाटेको ठाउँमा आफ्नो औला राखेर सहायता दिन सकिन्छ। तर तालु खुला छ भने स्तनपान गराउँदा बच्चालाई सिधा पारेर राख्नुपर्छ र बच्चाले स्तन च्यापिसकेपछि आमाले हातले स्तन निचोरेर सहयोग गर्नुपर्ने हुन्छ।

यदि बच्चालाई जन्डिस अथवा कमलपित्त भएको छ भने प्रशस्त मात्रामा स्तनपान गराउनुको साथै बिहानको घामको किरणमा नाङ्गै (मुख छोपिने गरी) राख्नुपर्छ। बच्चालाई विशेषगरी उज्यालो कोठामा राख्नु उपयुक्त हुन्छ। जुम्ल्याहा बच्चा भएको अवस्थामा एउटाले मात्र टन्न खाने र एउटालाई नपुग्ने हुनसक्छ। यस्तो अवस्थामा आमा आफैंले ध्यान दिन जरुरी हुन्छ। (यो अवस्था प्रायः एउटा बलियो र अर्को कमजोर जन्मिएको अवस्थामा हुनसक्छ)

स्तनपानका फाइदा
स्तनपान अपरिहार्य कुरा हो, जसले आमा र बच्चा दुवैको लागि महत्वपूर्ण भूमिका खेलेको छ। स्तनपानका फाइदा निम्न प्रकारका छन्स्
१. स्तनपानले बच्चालाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
२. बच्चालाई कुपोषण हुनबाट जोगाउँछ।
३. बच्चाको शारीरिक, मानसिक तथा भौतिक विकास गराउँछ।
४. बच्चालाई जन्डिस (कमलपित्त), मधुमेह, झाडापखाला, क्यान्सर, निमोनिया हुनबाट जोगाउँछ।
५. आमालाई बच्चा जन्मिँदै गर्दा अथवा बच्चा जन्मेको केही समयपछि हुने अत्यधिक रक्तश्रावबाट जोगाउँछ (जुन हर्मोनको सहायताले       पाठेघरको मुख खुम्च्याउन मद्धत गर्छ)।
६. आमा र बच्चा दुवैलाई आत्मीय सम्बन्ध कायम राख्नका साथै सुरक्षित महसुस गराउँछ।
७. आमाको स्तन गानिनबाट बचाउँछ।
८. आमाको मानसिक तनाव कम हुन सहयोग गर्छ।
९. पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ।
१०. आमाको दूध जहिले, जतिखेर पनि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ।
११. स्तनपान गराउन पैसा खर्च हुँदैन।
१२. पूर्ण स्तनपानको नियम पालना गर्नसके चाँडो गर्भवती हुनबाट रोक्छ।
       (सिंह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिएमएस दोस्रो वर्षमा अध्ययनरत छिन्।)

प्रतिकृया

प्रतिकृया