घोराही,
२९ साउन/ यो वर्ष नेपालमा हाल सम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात ५१ हजार ७ सय ३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ ।

समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरस कोभिड–१९ ले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो ।

समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा तीन प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताउनुभयो ।

मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ ।

बन्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ता केसीको भनाइ छ ।मौसम र समयले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । देशमा ६६ लाख मेट्रिक टन धान उत्पादन भए देश धानमा आत्मनिर्भर हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिकृया

प्रतिकृया