आनन्द पौडेल


                                                                                 ADVERTISEMENT



व्यक्ति, सङ्गठन, समाज, राष्ट्र र विश्वमा आइपर्ने आकस्मिक, असामान्य र अनपेक्षित घटना वा अवस्था नै सङ्कट हो अर्थात् ईमरजेन्सी, यसले नियमित क्रियाकलापहरुलाई तहसनहस बनाउँछ । स्थापित मूल्य मान्यता भत्काउँछ र थप नयाँ कानुनको माग समेत गर्दछ । अहिलेको कोरोना सङ्कट मानव निर्मित हो वा प्राकृतिक हो एकिन गर्न बाँकी छ । यसले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारेको छ ।

नकारात्मक प्रभाव र सकारात्मक प्रभाव दुवै पारेको भए पनि नकारात्मक प्रभावको बढी चर्चा हुने गरेको छ । विश्वभरका दुई सयभन्दा बढी देशहरुमा फैलिएको यो कोरोना भाइरस रोगबाट दशौँ लाख मानिसहरुको मृत्यु भइसकेको छ । यसैले कोरोना भाइरस रोगलाई वैश्वीक महामारी मानिएको छ । संकट जहिले पनि कुनै एउटा घटना विशेष हुन्छ । निश्चित कालपछि यसको प्रभावको अन्त्य हुन्छ । यस्तै सङकट मध्येको कोरोना सङकट पनि एक हो ।

कोरोना भाइरस रोगका प्रभावहरु

हो, सङ्कटले नियमिततालाई भत्काउँछ । आकस्मिकता निम्त्याउँछ । ‘पर्ख र हेर’ को अवस्थामा राज्य वा सरकारले काम गर्नुपर्ने बाध्यता रहन्छ । नागरिकको जीवन कठिन भएको छ । मरिने वा बाँचिने के हो, संशय रहेको छ । उद्योगधन्दा बन्द हुने अवस्थामा पुगिसकेका छन् । अर्थतन्त्रमा हदैसम्मको गिरावट आउन सक्छ । यद्यपि, महाव्याधी मानिएको कोरोना सङ्कटबाट सकारात्मक प्रभाव पनि परेको छ । पारिवारिक जीवनमा आध्यात्मिक पक्षको जागरणमा वृद्धि भएको छ । बिर्सिदै गएका भजनहरु र परम्परागत बाजागाजाको सिकाइ बढ्दै छ । योगका क्रियाकलापमा बृद्धि भएको छ । परिवारमा शेरिङ एण्ड केयरिङ संस्कृतिको विकास हुँदै गएको छ ।

स्वास्थ्य चेतनामा पनि बृद्धि भएको छ । समाजका जिम्मेवार सदस्यहरुका बीच स्टे सेफ, स्टे होमका सुभेक्षाहरु आदान–प्रदानहरु भएका छन् । आफन्तजनको चासो बढनाले सु–सम्बन्धहरुमा पुनराबृत्ति बढेको छ । दुःखमा साथ भएको आभाष हुन थालेको छ । एकआपसमा परिवारहरु बीच, छिमेकीहरु बीच बाँडिचुडि खाने खुवाउने संस्कृतिको विकास भएको छ । राष्ट्रव्यापी रुपमा कोरोना सङ्कटको सामना गर्नको लागि नयाँ कानूनहरु बनेका छन् । कोषको प्रबन्ध गरी खर्च व्यवस्थापन भएको छ । नयाँ अस्पतालको स्थापना र पुराना अस्पतालहरुको सुविधामा बृद्धि भएको छ । ‘स्वास्थ्य नै धन’ हो भन्ने उक्ति चरितार्थ भएको छ ।

प्याण्डेमिक असरको कारण दुई पक्षीय, क्षेत्रिय वा वैश्वीक रुपमा सहकार्य र समन्वय भएका छन् । कोरोना सङ्कट निवारणका निमित्त महाशक्ति राष्ट्रहरुले खोप पत्ता लगाउने होडबाजी गरिराखेका छन् । मानव जीवन रक्षार्थ खोप पत्ता लागेमा मानव सभ्यता जगेर्ना हुन सक्ने आशा गरिएको छ । अनलाइन प्रशिक्षण, क्षेत्रिय वा वैश्वीक सम्मेलनहरु र शैक्षणिक क्रियाकलापहरु पनि दुरशिक्षाका माध्यमबाट सम्भव भएका छन् । मानव जीवन स्मार्ट हुने गन्तव्यतर्फ उन्मुख छ ।

सञ्चार जगतले कोभिड–१९ को सचेतीकरण गर्न उल्लेख्य भूमिका निर्वाह गरेका छन् । विशेष गरी स्थानीय स्तरमा रहेका सामुदायिक एफ एम हरु तथा अनलाइन संस्करणहरुले यो विषयमा पर्याप्त छलफल गर्ने, तत्काल सूचना उपलब्ध गराउने र स्थानीय तहका सरकारहरुलाई जिम्मेवार बनाउने काम गरेका छन् ।

यस कोरोना संकटबाट केही नकरात्मक प्रभावहरु परेका छन् । मानिसको स्वतन्त्र आउजाउ गर्ने सुविधामा कटौति भएको छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता समाजका पढेँ–लेखेका वा स्मार्ट फोन धारी व्यक्तिहरुमा सीमित भएको छ । लाखौं मानिसहरुको मृत्यु भएको । करौडौं मानिसहरु कोरोना संक्रमणको जोखिममा छन् । वैदेशिक रोजगारीमा गएका स्वदेश फर्केका छन । गाउँ र शहरमा वेरोजगारी बढेको छ । रेमिटान्स घटेको छ ।

आर्थिक वृद्धि २ प्रतिशतको हाराहारीमा सिमित हुने आँकलन गरिएको छ । चाडपर्व रमाइलोसँग मनाउन पाइएको छैन । श्रमिकहरुको चुलोचौका बल्न पाएको छैन । हिंसा, बलात्कार र अपराधका घटनामा वृद्धि भएका छन् । भौतिक दूरी कायम गर्नुपर्दा सौहादर्ता कम भएको अनुभव हुँदै गएको छ । विशेप गरी निजी क्षेत्र तहसनहस भएको छ । पूर्व प्राथमिकदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षणिक क्रियाकलापहरु अवरुद्ध भएका छन् र लाखौं विद्यार्थीहरुको भविश्यमा अन्यौलता छाएको छ ।

कोरोना संकट व्यवस्थापन

नेपाल सरकारले कोभिड–१९ को संक्रमण रोक्नका लागि बजेटमा प्राथमिकताका साथ कोष व्यवस्थापन गर्नुका साथै अर्थतन्त्रका अन्य पक्षमा समयोचित ध्यान दिइएको छ । प्रदेश र स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट मार्फत् उल्लेख्य खर्च गरेका छन् । नेपालको सोसियल भ्यालु सिस्टम सहयोगी र मानवीय प्रकारको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक दलहरु, नागरिक समाज, कर्मचारीहरु, व्यक्तिगत र संस्थागत दुबै च्यारेटी वेस अर्गनाईजेशनहरु कोभिड–१९ को कहरमा अग्रपंक्तिमा रहेर काम गरेका छन् ।

कोभिड–१९ को सामाना गर्नका लागि संस्थागत प्रयास र संगठनात्मक प्रयास भएका छन् । राहत, औषधी, आईसोलेसन र क्वारेन्टीनका लागि पर्याप्त खर्च भएको छ । तर पनि पर्याप्त सूचनाको आदान–प्रदानको अभाव, उचित समन्वय नहुने, निर्णय प्रक्रिया र जिम्मेवारी बोधको कमी, श्रोतको अभाव र समस्यालाई तत्काल सम्बोधन नगर्ने प्रवृत्ति केही बाँधक पक्षहरु रहेका छन् । यसो हुनुका कारणहरुमा सरकारको मात्र जिम्मेवारी मानिएको छ ।

ट्रेस, कन्ट्याक्ट र टेस्ट पक्ष कमजोर भएको, तीनै तहका सरकारहरुमा माथिको मुख ताक्ने प्रवृत्ति रहेकोछ । कोरोना परीक्षणका लागि औषधीजन्य उपकरणमा भ्रष्टाचार भएको आसंका व्यक्त भएका छन । स्वास्थ्य उपकरणहरुको अभाव, गरीब बर्गले स्वास्थ्य जाँचको अवसर नपाएका, सरकारका नीति कार्यक्रम लागू गर्नेक्रममा अग्र मोर्चामा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा नै कोरोना संक्रमण बढेको, अस्पतालको तयारी कमजोर हुँदा स्वास्थ्यकर्मीले जिम्मेवारी पूरा गर्न जटिलता उत्पन्न भएको, सीमित स्रोत साधन परिचालन गर्न वजेटको व्यवस्था भए पनि मितव्ययी र दिगो उपयोग नभएको अवस्था छ ।

कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि प्रमुखतः नेपाल सरकारको नेतृत्व कुशलता र प्रभावकारिता जरुरी छ । नीति कार्यान्वयनकर्ता प्रशासक, प्राविधिकहरुमा नैतिकता आवश्यक छ । मेडियासँगको सहकार्य वौद्धिक व्यक्तित्वहरु, राजनीतिक दलहरु, नागरिक समाज, अन्तराष्ट्रिय संस्थाहरुले पनि कोरोना संक्रमण रोकथाम गर्न विशेष पहल गर्नुपर्ने देखिन्छ ।

अब स्वास्थ्य सावधानीका साथ सार्वजनिक र नीजि दुवै क्षेत्र सन्चालन हुनुको विकल्प छैन । यसका लागि नीजि क्षेत्रले आर्जित उद्यमशीलता र सिर्जनशीलता मार्फत् योगदान पु¥याउन सक्दछन् । यस्तो अवस्थामा कालो बजारी र नाजायज स्वार्थ पूर्ति गर्नु नैतिकता विरुद्धको कार्य हो । स्थानीय तहका सरकारहरुलाई स्थानीय तहको व्यवस्थापन गर्न सम्पूर्ण जिम्मेवारी दिईनु पर्दछ । ती सरकारहरुले स्थानीय परिवेश र परिस्थिति हेरिकन निर्णय गर्न स्वतन्त्र र सार्वभौम हुन्छन् । खर्चमा प्रभावकारिता नभए पनि स्थानीय तहका सरकारहरुले उचित निर्णय लिइएको पाइएको छ । अन्त्यमा, फेरी पनि पर्फेक्सन फार क्राई भनिन्छ । कोरोना संक्रमण रोक्न प्रत्येक नागरिकको भूमिकाको खोजी वर्तमानको आवश्यकता हो ।

(लेखक–ईलाका प्रशासन कार्यालय, तुलसीपुरका कार्यालय प्रमुख हुन् ।)

प्रतिकृया

प्रतिकृया